मर्कूस 3:22-35
मर्कूस 3:22-35 पवित्र बाइबल (NERV)
अनि यरूशलेमबाट आएका व्यवस्थाका शास्त्रीहरूले भने, “बालजिबुल (शैतान) उहाँभित्र रहेको छ! उसले दुष्ट-आत्माहरूको मालिकद्वारा अधिकार पाएर मानिसहरूमा भएको दुष्ट-आत्माहरू भगाउँदछ।” यसकारण येशूले सबैलाई एकत्र गर्नु भयो अनि मानिसहरूलाई शिक्षा दिनलाई नीति कथाहरूको दृष्टान्त भन्नु भयो। येशूले भन्नुभयो, “शैतानले शैतानलाई मानिसहरूबाट कसरी निकाल्न सक्छ? यदि कुनै राज्य विभक्त भएर आफ्नै विरूद्ध झगड़ा गरे, त्यो धेरै दिन चल्न सक्तैन। अनि एक परिवार विभक्त भएर, अनि फुट भएका अंश एक अर्कासित लडिरहे त्यो परिवारको रूपमा खडा रहन सक्तैन। जब शैतान, शैतानसँगै र आफ्नै मानिसहरूसँगै झगडा़ गर्छ त्यो धेरै दिन टिक्न सक्तैन। यो अवस्थामा शैतानको अन्त हुनेछ। “यदि कुनै मानिस एकजना बलवान मानिसको घरमा उसका चीजबीज चोर्न भनी पस्न चाहान्छ भने उसले पहिले त्यो बलवान मानिसलाई डोरीले बाँध्नु पर्छ, तब मात्र त्यसले त्यो बलवान मानिसको घरबाट चीजहरू लुट्न सक्दछ। “म तिमीहरूलाई साँच्चो भन्दछु, मानिसहरूले गरेका सबै पापहरू अनि निन्दाहरू क्षमा हुनेछ। तर पवित्र आत्माका विरुद्ध कसैले गरेका खराब कुराहरू कहिल्यै क्षमा हुनेछैन। किनभने उ सधैँ त्यो पापको दोषी बन्नु पर्नेछ।” येशूले यसो भन्नुभयो किनभने शास्त्रीहरूले येशूभित्र दुष्टात्मा रहेको छ भनेका थिए। तब येशूका आमा र भाइहरू आए, उनीहरू बाहिरै खड़ा भएर एकजनालाई येशूलाई बोलउन पठाए। धेरै मानिसहरू येशूको वरिपरि बसेका थिए। तिनीहरूले येशूलाई भने, “तापईका आमा र भाइहरू बाहिर तपाईंलाई पर्खी रहेकाछन्।” येशूले उत्तर दिनु भयो, “को चाँहि मेरा आमा हुन्? को चाँहि मेरा भाइहरू हुन्?” तब येशूले आफ्ना वरिपरि गोलो भएर बसेका मानिसहरूलाई हेर्नुभयो। उहाँले भन्नुभयो, “यी मानिसहरू नै मेरा आमा र भाइहरू हुन। मेरा साँच्चा भाइ बहिनीहरू र आमा तिनीहरूनै हुन् जसले परमेश्वरले चाहे अनुसार कर्म गर्दछन्।”
मर्कूस 3:22-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यरूशलेमबाट आएका व्यवस्थाका शास्त्रीहरूले भने, “त्यसमा बालजिबुल भूत छ, र भूतहरूको मालिकद्वारा नै त्यसले भूतहरू निकाल्दछ।” तर उहाँले तिनीहरूलाई आफूकहाँ बोलाएर दृष्टान्तहरूमा भन्नुभयो, “शैतानले शैतानलाई कसरी निकाल्न सक्छ? कुनै राज्यको आपसमा फूट भयो भने त्यो राज्य टिक्न सक्दैन। कुनै घरको पनि आपसमा फूट भयो भने त्यो घर टिक्न सक्नेछैन। यदि शैतानले शैतानकै विरुद्धमा खड़ा भएर फाटो ल्याएको छ भने त्यो टिक्न सक्दैन, तर त्यसको अन्त्य आइसकेको हुन्छ। कसैले बलियो मानिसको घरमा पसेर उसको धनमाल लुट्न सक्दैन जबसम्म त्यसले त्यो बलियो मानिसलाई पहिला बाँध्दैन। तब पो त्यसले उसको घर लुट्न सक्छ। साँच्चै, म तिमीहरूलाई भन्दछु, मानिसहरूका सबै पाप र ईश्वर-निन्दा क्षमा गरिनेछन्, तर पवित्र आत्माको विरुद्धमा निन्दा गर्नेलाई कदापि क्षमा हुनेछैन, तर त्यो अनन्त पापकर्मको दोषी ठहर्छ।’ उहाँले यो वचन भन्नुभयो, किनकि “उसमा अशुद्ध आत्मा छ” भनी तिनीहरूले भनेका थिए। तब उहाँकी आमा र उहाँका भाइहरू त्यहाँ आए, र बाहिरै खड़ा भएर उहाँलाई डाकिपठाए। भीड उहाँको वरिपरि बसिरहेको थियो र तिनीहरूले उहाँलाई भने, “हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू तपाईंलाई बाहिर खोज्दैछन्।” उहाँले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “मेरी आमा र मेरा भाइहरू को हुन्?” अनि आफ्नो वरिपरि चारैतिर हेरेर उहाँले भन्नुभयो, “हेर, यी नै हुन् मेरी आमा र मेरा भाइहरू। किनकि जसले परमेश्वरको इच्छा पालन गर्छ त्यो नै मेरो भाइ र मेरी बहिनी र मेरी आमा हुन्।”
मर्कूस 3:22-35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यरूशलेमबाट आएका व्यवस्थाका शिक्षकहरूले भने, “यिनमा बालजिबुल छ! भूतहरूको शासकको सहायताले यिनले भूतहरू धपाउँछन्।” यसकारण येशूले तिनीहरूलाई बोलाएर दृष्टान्तहरूमा भन्नुभयो, “शैतानले शैतानलाई कसरी धपाउन सक्छ? यदि कुनै राज्य आफ्नै विरुद्धमा विभाजित भयो भने त्यो राज्य टिक्न सक्दैन। कुनै घर आफ्नै विरुद्धमा विभाजित भयो भने त्यो घर टिक्न सक्दैन। यदि शैतानले शैतानलाई विरोध गर्छ र विभाजित हुन्छ भने त्यो टिक्न सक्दैन; त्यसको अन्त्य आइसकेको छ। वास्तवमा बलियो मानिसको घरमा पस्नुभन्दा पहिले उसलाई नबाँधि कसैले पनि उसको घरको धनमाल लुट्न सक्दैन। त्यसलाई बाँधेपछि मात्र त्यसले उसको घर लुट्न सक्छ। म तिमीहरूलाई साँच्चै भन्दछु, मानिसहरूका सबै पापहरू साथै हरेक निन्दाहरू तिनीहरूका लागि क्षमा हुनेछन्, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्छ, उसलाई कहिल्यै क्षमा हुनेछैन; ऊ अनन्तसम्म पापको दोषी हुन्छ।” उहाँले यसो भन्नुभएको कारणचाहिँ तिनीहरूले उहाँलाई “यिनीसित अशुद्ध आत्मा छ” भनेका थिए। तब येशूकी आमा र भाइहरू आइपुगे। तिनीहरू बाहिर उभिएर उहाँलाई बोलाइदिनु भनेर कसैलाई भित्र पठाए। उहाँको चारैतिर भीड बसिरहेको थियो; अनि तिनीहरूले उहाँलाई भने, “तपाईंकी आमा र भाइहरूले तपाईंलाई बाहिर खोजिरहेका छन्।” उहाँले भन्नुभयो, “मेरी आमा र मेरा भाइहरू को हुन्?” तब उहाँले आफ्ना चारैतिर बसेकाहरूलाई हेरेर भन्नुभयो, “मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन्! जसले परमेश्वरको इच्छा पालन गर्दछन्, ती नै मेरा भाइ र बहिनी र आमा हुन्।”
मर्कूस 3:22-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यरूशलेमबाट आएका केही धर्म-गुरुहरूले चाहिँ “यसलाई बालजिबुल भन्ने भूत चढेको छ, यही भूतको राजाको शक्तिले यसले भूतहरू धपाउँछ” भन्न लागे। त्यसैले येशूले ती धर्म-गुरुहरूलाई बोलाएर यस कुराको बारेमा दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो, “शैतान आफैंले आफैंलाई कसरी खेद्न सक्ला र? कुनै देशमा फुट छ भने त्यो आफैं नाश हुन्छ। फेरि कुनै घरमा फाटो परेर आपसमा झगडा पर्यो भने त्यो घर पनि टिक्न सक्दैन। त्यसै गरी शैतानको राज्यमा पनि फाटो आयो भने त्यो टिक्दैन र टुक्रिएर आफैं नाश हुन्छ। कसैले हतियार भिरेको बलियो मानिसको घर फोरेर लुट्न खोज्छ भने के त्यसलाई पहिले बाँध्नुपर्दैन र? त्यसपछि मात्र उसले त्यो बलियो मानिसको घर लुट्न सक्छ। “साँच्चै म तिमीहरूलाई भन्छु, मानिसले गर्ने सबै पाप र परमेश्वरलाई निन्दा गर्ने पापसमेत क्षमा हुन सक्छ। तर पवित्र आत्मालाई निन्दा गर्ने पापचाहिँ कहिल्यै पनि क्षमा हुनेछैन। त्यो मानिस कहिल्यै पनि नमेटिने पापको दोषी हुन्छ।” तिनीहरूले उहाँलाई भूतात्मा चढेको छ भनेका हुनाले येशूले यो कुरा भन्नुभएको हो। त्यसै बेला येशूका आमा र भाइहरू आइपुगे। तिनीहरूले बाहिरै पर्खेर येशूलाई बोलाउन लगाए। येशूका वरिपरि मानिसको भीड थियो। अनि कसैले उहाँलाई भन्यो, “गुरुज्यू, तपाईंका आमा र भाइहरूले बाहिर तपाईंलाई बोलाउँदै छन्।” येशूले भन्नुभयो, “मेरी आमा र मेरा भाइहरू को हुन्?” अनि उहाँले आफ्ना वरिपरि घेरा लागेर बसेका मानिसहरूलाई हेरेर भन्नुभयो, “मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन् किनभने परमेश्वरको आज्ञापालन गर्नेहरू नै मेरा भाइ, बहिनी र आमा हुन्।”