YouVersion लोगो
खोज आइकन

मर्कूस 15:16-33

मर्कूस 15:16-33 NCV

सिपाहीहरूले येशूलाई महल भित्र (अर्थात्, प्रेटोरियम) लगे, र सिपाहीहरूका सबै पल्टनलाई बोलाए। तिनीहरूले उहाँलाई एउटा बैजनी रङ्गको वस्त्र लगाइदिए, र काँडाहरू बटारेर एउटा मुकुट बनाएर उहाँलाई लगाइदिए। अनि तिनीहरूले उहाँलाई “यहूदीहरूका राजाको जय!” भन्दै कराए। तिनीहरूले घरी-घरी उहाँको शिरमा निगालोले हिर्काउँदै उहाँलाई थुके। तिनीहरूले उहाँको उपहास गर्दै उहाँको सामु घुँडा टेकेर झुके। अनि उहाँको अपमान गरिसकेपछि तिनीहरूले त्यो बैजनी रङ्गको वस्त्र फुकालिदिए, र उहाँको आफ्नै वस्त्र लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्न लगे। अलेक्जेन्डर र रूफसका बुबा, साइरिनीवासी सिमोन, जो गाउँबाट आइरहेका थिए, तिनीहरूले उनलाई क्रूस बोक्न कर लगाए। तिनीहरूले येशूलाई गलगथा अर्थात् खप्परे भनिने ठाउँमा ल्याए। तब तिनीहरूले उहाँलाई नशालु पदार्थ मूर्र मिसाइएको दाखमद्य दिए, तर उहाँले त्यो पिउन मान्‍नुभएन। अनि तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। तिनीहरूले कसले के पाउँदोरहेछ भनेर उहाँका वस्त्रहरूका लागि चिट्ठा हालेर ती भाग गरे। तिनीहरूले उहाँलाई क्रूसमा टाँग्दा बिहानको नौ बजेको थियो। उहाँको विरुद्धको दोषपत्रमा यसरी लेखिएको थियो: यहूदीहरूको राजा। तिनीहरूले उहाँसित दुई डाँकुहरूलाई पनि क्रूसमा टाँगे—एउटा उहाँको दाहिनेपट्टि र अर्कोचाहिँ उहाँको देब्रेपट्टि। अनि धर्मशास्त्रको वचन यसरी पूरा भयो, “उहाँ अपराधीहरूसँग गनिनुभयो।” त्यस ठाउँबाट हिँड्नेहरूले आफ्ना टाउको हल्‍लाउँदै उहाँलाई अपमान गरेर यसो भने, “वाह! ए मन्दिर भत्काउने र त्यसलाई तीन दिनमा बनाउने! क्रूसबाट तल ओर्लेर आइज, र आफूलाई बचा!” यस्तै किसिमले मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले आपसमा उहाँको अपमान गरे। तिनीहरूले भने, “यसले अरूलाई त बचायो, तर आफैँलाई बचाउन सक्दैन। यो ख्रीष्‍ट, इस्राएलका राजा, अब क्रूसबाट तल ओर्लिआओस्, र यो देखेर हामी विश्‍वास गरौँ।” उहाँसित क्रूसमा टाँगिएकाहरूले पनि उहाँलाई घोर अपमान गरे। बाह्र बजेदेखि दिउँसो तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो।

मर्कूस 15 पढ्नुहोस्