जब उहाँहरू खाइरहनुभएको थियो, तब येशूले रोटी लिएर धन्यवाद दिनुभयो, भाँच्नुभयो र यसो भन्दै चेलाहरूलाई दिनुभयो, “लेओ, यो मेरो शरीर हो।”
त्यसपछि उहाँले कचौरा लिनुभयो, र धन्यवाद दिनुभएपछि तिनीहरूलाई दिनुभयो; अनि तिनीहरू सबैले त्यसबाट पिए।
तब उहाँले तिनीहरूलाई भन्नुभयो, “यो करारको मेरो रगत हो, जो धेरैका लागि बहाइन्छ। म साँच्चै तिमीहरूलाई भन्दछु, म फेरि दाखको फलबाट त्यो दिनसम्म पिउनेछैनँ, जहिलेसम्म परमेश्वरको राज्यमा त्यो नयाँ गरी पिउँदिनँ।”
एउटा भजन गाइसक्नुभएपछि उहाँहरू त्यहाँबाट निस्केर जैतुन डाँडातिर जानुभयो।
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू सबैले मलाई त्याग्नेछौ, किनकि यसरी लेखिएको छ:
“ ‘म गोठालालाई हिर्काउनेछु,
र भेडाहरू तितरबितर हुनेछन्।’
तर म जीवित भएर उठेपछि तिमीहरूभन्दा अगि गालीलमा जानेछु।”
पत्रुसले घोषणा गरे, “सबैले त्यागे तापनि मचाहिँ त्याग्नेछैनँ।”
येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्चै भन्दछु, आजै राति दुई पल्ट भाले बास्नुअगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।”
तर पत्रुसले जोडकासाथ भने, “यदि म तपाईंसित मर्नुपरे तापनि म तपाईंलाई कहिल्यै इन्कार गर्नेछैनँ।” अनि अरू सबैले त्यसै भने।
त्यसपछि उहाँहरू गेतसमनी भनिने एउटा ठाउँमा जानुभयो, र येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “मैले प्रार्थना नगरुन्जेल तिमीहरू यहीँ बस।” उहाँले पत्रुस, याकोब र यूहन्नालाई आफूसित लानुभयो, र उहाँ असाध्यै खिन्न र विचलित हुनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो प्राण शोकले मरेतुल्य भएको छ। तिमीहरू यहीँ बस, र जागा रहो।”
अलि पर गएर उहाँले भुइँमा घोप्टो परेर, यदि सम्भव भए त्यो घडी उहाँबाट टलिजाओस् भनेर प्रार्थना गर्नुभयो। उहाँले भन्नुभयो, “हे अब्बा, पिता, तपाईंका निम्ति सबै थोक सम्भव छन्। मबाट यो कचौरा हटाइदिनुहोस्; तापनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाअनुसार होस्।”