अनि खाइरहनुहुँदा येशूले रोटी लिनुभयो, आशीर्वाद दिनुभयो र भाँच्नुभयो र तिनीहरूलाई दिँदै भन्नुभयो, “लेओ, यो मेरो शरीर हो।”
अनि कचौरा लिएर धन्यवाद दिनुभएपछि उहाँले तिनीहरूलाई दिनुभयो, र तिनीहरू सबैले त्यसबाट पिए। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति बगाइन्छ। साँच्चै, म तिमीहरूलाई भन्दछु, म दाखको रसबाट त्यस दिनसम्म पिउनेछैनँ, जहिलेसम्म परमेश्वरको राज्यमा त्यो नयाँ गरी पिउँदिनँ।”
अनि एउटा भजन गाएर उहाँहरू निस्केर जैतून डाँड़ातिर जानुभयो।
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू सबै पछि हटिजानेछौ, किनकि यस्तो लेखिएको छ, ‘म गोठालालाई प्रहार गर्नेछु, र भेड़ाहरू तितरबितर हुनेछन्।’ तर म जीवित भई उठेपछि म तिमीहरूभन्दा पहिले गालीलमा जानेछु।”
पत्रुसले उहाँलाई भने, “सबै जना पछि हटे तापनि मचाहिँ हट्नेछैनँ।”
तब येशूले तिनलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, आजकै राती भाले दुई पल्ट बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।”
तर तिनले झन् जोड दिएर भने, “तपाईंसँग म मर्नैपरे तापनि म तपाईंलाई इन्कार गर्नेछैनँ।” अनि तिनीहरू सबैले त्यसै भने।
त्यसपछि उहाँहरू गेतसमनी नाउँ भएको ठाउँमा जानुभयो, र उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “मैले प्रार्थना गरुञ्जेल तिमीहरू यहीँ बस।” तब उहाँले पत्रुस, याकूब र यूहन्नालाई साथमा लैजानुभयो, र उहाँ अत्यन्तै विचलित र ज्यादै खिन्न हुन लाग्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो आत्मा मृत्युसम्मै शोकले व्याकुल भएको छ। तिमीहरू यहीँ बस, र जागा रहो।”
अनि अलि पर गएर उहाँ भूइँमा घोप्टिनुभयो, र हुन सक्छ भने त्यो घड़ी उहाँबाट टलोस् भनी प्रार्थना गर्नुभयो। अनि उहाँले भन्नुभयो, “अब्बा, पिता, तपाईंको निम्ति सबै कुरा सम्भव छ। यो कचौरा मबाट हटाइदिनुहोस्। तर पनि मैले इच्छा गरेजस्तो होइन, तपाईंले इच्छा गर्नुभएजस्तो होस्।”