YouVersion लोगो
खोज आइकन

मर्कूस 14:1-25

मर्कूस 14:1-25 NCV

अब निस्तार चाड र अखमिरी रोटीको चाड आउन दुई दिन मात्र थियो। मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले येशूलाई धूर्ततापूर्वक पक्रेर मार्ने मौका खोजिरहेका थिए। तिनीहरूले भने, “तर चाडको समयमा होइन, नत्रता मानिसहरूले हुलदङ्गा मच्‍चाउन सक्छन्।” उहाँ बेथानीमा सिमोन कुष्‍ठरोगीको घरमा खानका निम्ति बस्‍नुभएको थियो, त्यही बेला एउटी स्त्री सिङ्गमरमरको एउटा भाँडोमा अति मूल्यवान् जटामसीको अत्तर लिएर आइन्। तिनले त्यो भाँडो फोरिन् र त्यो अत्तर उहाँको शिरमा खन्याइदिइन्। त्यहाँ उपस्थित हुनेहरूमध्ये कसै-कसैले रिस गरेर आपसमा भने, “यो अत्तर किन खेर फालेको? यसलाई त एक वर्षको ज्यालाभन्दा बढी रकममा बेचेर त्यो पैसा गरिबहरूलाई दिन सकिन्थ्यो।” अनि तिनीहरूले त्यस स्त्रीलाई हकारे। येशूले भन्‍नुभयो, “उसलाई छोडिदेओ। तिमीहरू उसलाई किन सताउँछौ? उसले मेरा लागि एउटा असल काम गरेकी छे। गरिबहरू त सधैँ तिमीहरूसित हुनेछन्, र तिमीहरूले तिनीहरूलाई जहिले पनि सहायता गर्न सक्छौ। तर म त तिमीहरूसँग सधैँभरि हुँदिनँ। यसले जे गर्न सक्थी, त्यो गरेकी छे। यसले त मेरो शरीरमा अत्तर खन्याएर दफनको तयारी अगिबाटै गरेकी छे। म तिमीहरूलाई साँच्‍चै भन्दछु, संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ, यस स्त्रीले जे कुरा गरेकी छ, त्यो कुरा पनि उसको सम्झनाका निम्ति बताइनेछ।” तब बाह्र जनामध्ये एक जना यहूदा इस्करियोत मुख्य पुजारीहरूकहाँ येशूलाई तिनीहरूका हातमा पक्राइदिनलाई गयो। यसकारण तिनीहरू यो सुनेर खुशी भए र त्यसलाई पैसा दिने वचन दिए। यसरी त्यसले उहाँलाई तिनीहरूका हातमा पक्राइदिनलाई मौका खोज्न लाग्यो। अखमिरी रोटीको चाडको पहिलो दिन, जब चलनअनुसार निस्तार चाडको थुमा बलिदान गर्नुपर्नेथियो, तब येशूका चेलाहरूले उहाँलाई यसरी सोधे, “हामी कहाँ गएर तपाईंका निम्ति निस्तार चाडको भोज तयार पारौँ भन्‍ने तपाईं चाहनुहुन्छ?” यसकारण उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई यसो भनेर यरूशलेम पठाउनुभयो, “सहरभित्र जाओ, र गाग्रोमा पानी बोकिरहेको एक जना मानिसले तिमीहरूलाई भेट्नेछ। उसको पछि-पछि जाओ। ऊ जुन घरमा पस्छ, त्यस घरका मालिकलाई भन, ‘गुरुज्यू सोध्नुहुन्छ: मेरो पाहुनाकोठा कहाँ छ, जहाँ म मेरा चेलाहरूसँग निस्तार चाडको भोज खाऊँ?’ उसले तिमीहरूलाई माथिल्‍लो तलामा एउटा ठूलो कोठा देखाउनेछ, जुनचाहिँ सजाएर तयार पारिएको हुनेछ। त्यहाँ नै हाम्रा लागि तयार गर।” ती चेलाहरू सहरभित्र गए र येशूले तिनीहरूलाई भन्‍नुभएझैँ भेट्टाए, र निस्तार चाडको भोज तयार गरे। जब साँझ पर्‍यो, येशू बाह्रै जनासित आइपुग्नुभयो। जब उहाँहरूले टेबुल वरिपरि बसेर खाँदैहुनुहुन्थ्यो, उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूमध्ये मसित खाने एक जनाले मलाई धोका दिनेछ।” तिनीहरू दुःखित भए, र हरेकले पालैसित उहाँलाई भने, “त्यो निश्‍चय म त होइनँ?” उहाँले भन्‍नुभयो, “त्यो बाह्र जनामध्ये एक हो, जसले रोटी थालमा मसित चोप्दछ। मानिसको पुत्र त उसको विषयमा लेखिएअनुसार जानु नै पर्छ, तर धिक्‍कार त्यस मानिसलाई, जसले मानिसको पुत्रलाई धोका दिनेछ! त्यो मानिस नजन्मिएकै भए त्यसको लागि असल हुनेथियो।” जब उहाँहरू खाइरहनुभएको थियो, तब येशूले रोटी लिएर धन्यवाद दिनुभयो, भाँच्नुभयो र यसो भन्दै चेलाहरूलाई दिनुभयो, “लेओ, यो मेरो शरीर हो।” त्यसपछि उहाँले कचौरा लिनुभयो, र धन्यवाद दिनुभएपछि तिनीहरूलाई दिनुभयो; अनि तिनीहरू सबैले त्यसबाट पिए। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो करारको मेरो रगत हो, जो धेरैका लागि बहाइन्छ। म साँच्‍चै तिमीहरूलाई भन्दछु, म फेरि दाखको फलबाट त्यो दिनसम्म पिउनेछैनँ, जहिलेसम्म परमेश्‍वरको राज्यमा त्यो नयाँ गरी पिउँदिनँ।”

मर्कूस 14 पढ्नुहोस्