मर्कूस 13
13
मन्दिरको विनाश र जगतको अन्त्यका चिन्हहरू
1येशू मन्दिर छोडेर जाँदै गर्नुहुँदा, उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “हेर्नुहोस्, गुरुज्यू! कति विशाल पत्थरहरू! कति भव्य भवनहरू!”
2येशूले जवाफ दिनुभयो, “के तिमी यी सबै विशाल भवनहरू देख्दैछौ? यहाँको एउटा ढुङ्गा पनि अर्कोमाथि छोडिनेछैन, तर प्रत्येक ढुङ्गा तल फ्याँकिनेछ।”
3येशू जैतुन डाँडामा मन्दिरतिर फर्किएर बसिरहनुहुँदा पत्रुस, याकोब, यूहन्ना अनि अन्द्रियासले उहाँलाई सुटुक्क सोधे, 4“हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन्? अनि यी कुराहरू पूरा हुनको निम्ति चिन्ह के हुनेछ?”
5येशूले तिनीहरूलाई भन्नुभयो: “होसियार बस, ताकि कसैले तिमीहरूलाई धोका नदेओस्। 6धेरैजना मेरो नाउँमा ‘म उही हुँ,’ भन्ने दाबी गर्दै आउनेछन्, अनि धेरैलाई धोका दिनेछन्। 7जब तिमीहरूले लडाइँ र लडाइँहरूका हल्लाहरू सुन्नेछौ, तब नडराओ। यस्ता कुराहरू हुनैपर्छ, तर अन्त्य आउन त बाँकी नै छ। 8जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा भुँइचालाहरू जानेछन्; अनि अनिकालहरू हुनेछन्। यी त प्रसववेदनाको सुरुआतजस्तै मात्र हुन्।
9“तिमीहरू आफ्नो विषयमा होसियार रहो। तिमीहरू स्थानीय सभाहरूमा सुम्पिनेछौ, र सभाघरहरूमा कोर्रा लगाइनेछौ। मेरो कारणले गर्दा तिमीहरू साक्षीको रूपमा राज्यपालहरू अनि राजाहरूको सामुन्ने उभिनेछौ। 10अनि अन्त्य आउनुभन्दा पहिला सबै राष्ट्रहरूमा सुसमाचार प्रचार गरिनुपर्छ। 11जब तिमीहरू पक्रिएर मुद्दामा पर्नेछौ, तब के बोल्नुपर्छ भनी पहिल्यैबाट चिन्ता नलेऊ। तिमीहरूलाई त्यसै बेला जे दिइनेछ त्यही भन; किनकि त्यो समयमा बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा बोलिरहनुभएको हुनेछ।
12“भाइले भाइलाई, बुबाले आफ्नो छोराछोरीलाई मृत्युको निम्ति धोका दिनेछन्। छोराछोरीहरू आफ्ना आमाबुबाको विरुद्धमा उठ्नेछन्, अनि तिनीहरूलाई मार्न लाउनेछन्। 13तिमीहरूलाई सबै मानिसहरूले मेरो निम्ति घृणा गर्नेछन्; तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यो नै बचाइनेछ।
14“जब तिमीहरूले ‘विनाशकारी घृणित कुरा’#13:14 दानि 9:27; 11:31; 12:11 जुन ठाउँमा नहुनुपर्ने त्यहाँ देख्छौ—पढ्नेले बुझोस्—तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्। 15घरको कौसीमा हुनेहरू कोही पनि तल नझरोस्, न ता केही थोक लिनलाई घरभित्र पसोस्। 16खेतमा हुने कोही पनि आफ्नो लुगा लिन फर्केर नजाओस्। 17ती दिनहरूमा गर्भवती स्त्रीहरू र दूध खुवाउने आमाहरूका लागि कति डरलाग्दा हुनेछन्। 18यो हिउँदमा नहोस् भनी प्रार्थना गर, 19किनकि ती दिनहरू यति कष्टदायक हुनेछन्; परमेश्वरले संसार सृष्टि गर्नुभएदेखि अहिलेसम्म न कहिल्यै भएको थियो, न ता फेरि कहिल्यै हुनेछ।
20“यदि प्रभुले ती दिनहरू नघटाइदिनुभएको भए, कोही पनि बाँच्ने थिएन। तर चुनिएकाहरूका निम्ति उहाँले ती घटाइदिनुभएको छ। 21त्यस बेला यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्ट यहाँ छन्’ अथवा, ‘हेर तिनी त्यहाँ छन्’ भन्छ भने विश्वास नगर। 22किनकि झूटा ख्रीष्टहरू अनि झूटा अगमवक्ताहरू देखा पर्नेछन्, र सम्भव भए चुनिएकाहरूलाई पनि बहकाउनलाई अलौकिक चिन्हहरू र आश्चर्यपूर्ण कामहरू गर्नेछन्। 23यसकारण तिमीहरू होसियार बस; मैले तिमीहरूलाई पहिलेबाट नै सबै कुरा भनिदिएको छु।
24“तर ती दिनहरूमा, विपत्तिको तुरुन्तै पछि,
“ ‘सूर्य अँध्यारो हुनेछ,
अनि चन्द्रमाले आफ्नो ज्योति दिनेछैन,
25आकाशबाट ताराहरू खस्नेछन्,
अनि आकाशका शक्तिहरू डगमगाउनेछन्।’#13:25 यशै 13:10; 34:4
26“त्यस बेला मानिसहरूले मानिसका पुत्रलाई महाशक्ति र महिमासित बादलमा आइरहेका देख्नेछन्। 27अनि उसले आफ्ना दूतहरूलाई आफ्ना चुनिएकाहरूलाई चारै दिशाबाट बटुल्नलाई पठाउनेछ, अर्थात् पृथ्वीको एक कुनादेखि आकाशको अर्को कुनासम्म।
28“अब अञ्जीरको रूखबाट यो पाठ सिक: जब यसका हाँगाहरूमा कलिला पातहरू पलाउन थाल्छन्, तिमीहरू ग्रीष्म ऋतु नजिकै आइपुगेछ भनी थाहा पाउँछौ। 29त्यसरी नै, जब तिमीहरूले यी कुराहरू भइरहेका देख्छौ, तिमीहरूले यो नजिकै, ढोकैमा छ भनी जान। 30म तिमीहरूलाई साँचो भन्दछु, यी सबै घटनाहरू पूरा नभएसम्म यो पुस्ता निश्चय नै नष्ट भएर जानेछैन। 31आकाश र पृथ्वी नष्ट भएर जानेछन्, तर मेरा वचनहरू कहिल्यै पनि नष्ट हुनेछैनन्।
सचेत रहने आज्ञा
32“त्यस दिन र समयको विषयमा कसैले जान्दैन, न स्वर्गका दूतहरूले, न ता पुत्रले, तर पिताले मात्र। 33होसियार बस! सचेत बस! त्यो समय कहिले आउनेछ, त्यो तिमीहरू जान्दैनौ। 34यो त बाहिर गएको त्यो मानिसजस्तो हो: जसले आफ्नो घर छोड्नअघि आफ्ना सेवकहरूलाई जिम्मेवारी दिँदै, प्रत्येकलाई आ-आफ्ना काम सुम्पेर, एकजनालाई चाहिँ ढोकामा कुरेर बस्ने जिम्मा दिए।
35“यसकारण जागा रहो; किनकि घरका मालिक साँझमा, कि मध्यरातमा, कि भाले बास्दा, कि बिहानै अथवा कुन समयमा आउलान्, त्यो तिमीहरू जान्दैनौ। 36तिनी अचानक आए भने, तिनले तिमीहरूलाई सुतिरहेका नभेट्टाऊन्। 37म तिमीहरूलाई जे भन्दछु, त्यो हरेकलाई भन्दछु: ‘जागा रहो!’ ”
अहिले सेलेक्ट गरिएको:
मर्कूस 13: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.