येशू मन्दिर छोडेर जाँदै गर्नुहुँदा उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “गुरुज्यू, हेर्नुहोस्, कति विशाल पत्थरहरू! कति भव्य भवनहरू!” येशूले जवाफ दिनुभयो, “के तिमी यी सबै विशाल भवनहरू देख्दैछौ? यहाँ एउटा ढुङ्गा पनि अर्को ढुङ्गामाथि छोडिनेछैन, तर प्रत्येक ढुङ्गा तल फ्याँकिनेछ।” येशू जैतुन डाँडामा मन्दिरतिर फर्किएर बसिरहनुहुँदा पत्रुस, याकोब, यूहन्ना र अन्द्रियासले उहाँलाई सुटुक्क सोधे, “हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन्? अनि यी कुराहरू पूरा हुनको निम्ति चिन्ह के हुनेछ?” येशूले तिनीहरूलाई भन्नुभयो: “होसियार बस, ताकि कसैले तिमीहरूलाई धोका नदेओस्। धेरै जना मेरो नाममा ‘म उही हुँ,’ भन्ने दाबी गर्दै आउनेछन्, र धेरैलाई धोका दिनेछन्। जब तिमीहरूले लडाइँ र लडाइँहरूका हल्लाहरू सुन्नेछौ, तब नडराओ। यस्ता कुराहरू हुनैपर्छ, तर अन्त्य आउन बाँकी नै छ। जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा भुइँचालाहरू जानेछन्; अनि अनिकालहरू हुनेछन्। यी त प्रसववेदनाका सुरुवात मात्र हुन्। “तिमीहरू आफ्नो विषयमा होसियार रहो। तिमीहरूलाई स्थानीय सभाहरूमा सुम्पिनेछ, र सभाघरहरूमा लगेर कोर्रा लगाइनेछ। मेरो कारणले गर्दा तिमीहरूलाई साक्षीको रूपमा राज्यपालहरू र राजाहरूको सामु उभाइनेछ। अनि अन्त्य आउनुभन्दा पहिला सबै राष्ट्रहरूमा सुसमाचार प्रचार गरिनुपर्छ। जब तिमीहरू पक्रिएर मुद्दामा पर्नेछौ, तब के बोल्नुपर्छ भनी पहिल्यैबाट चिन्ता नलेओ। तिमीहरूलाई त्यसै बेला जे दिइनेछ, त्यही भन; किनकि त्यस समयमा बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा बोलिरहनुभएको हुनेछ। “भाइले आफ्ना भाइलाई, बुबाले आफ्ना छोराछोरीलाई मृत्युका निम्ति धोका दिनेछन्। छोराछोरीहरू आफ्ना आमाबुबाका विरुद्धमा उठ्नेछन्, र तिनीहरूलाई मार्न लाउनेछन्। तिमीहरूलाई सबै मानिसहरूले मेरा निम्ति घृणा गर्नेछन्; तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसको उद्धार गरिनेछ।
मर्कूस 13 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 13:1-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू