येशू जब बाटोमा जाँदैहुनुहुन्थ्यो, तब एक जना मानिस दगुर्दै आएर उहाँको सामु घुँडा टेक्यो र सोध्यो, “हे असल गुरु, मैले अनन्त जीवन प्राप्त गर्नलाई के गर्नुपर्छ?”
येशूले जवाफ दिनुभयो, “तिमी मलाई किन असल भन्दछौ? परमेश्वरबाहेक अरू कोही पनि असल छैन। तिमीलाई आज्ञाहरू त थाहै छ: ‘तैँले हत्या नगर्नू, तैँले व्यभिचार नगर्नू, तैँले नचोर्नू, तैँले झूटो साक्षी नदिनू, तैँले नठग्नू, आफ्ना आमा र बुबाको आदर गर्नू।’ ”
त्यसले भन्यो, “गुरु, यी सबै त मैले मेरो बालककालदेखि नै गर्दैआएको छु।”
येशूले त्यसलाई हेरेर प्रेम गरी भन्नुभयो, “तिमीमा एउटै कुराको अभाव छ; जाऊ, तिमीसित भएका आफ्ना सबै कुरा बेचेर गरिबहरूलाई देऊ। अनि तिमीलाई स्वर्गमा धनसम्पत्ति प्राप्त हुनेछ। त्यसपछि आऊ, मेरो पछि लाग।”
यो सुनेर त्यो जवान मानिसको अनुहार उदास भयो। त्यो दुःखित भएर गइहाल्यो; किनकि ऊसँग धेरै सम्पत्ति थियो।
येशूले चारैतिर हेरेर आफ्ना चेलाहरूलाई भन्नुभयो, “धनीहरूलाई परमेश्वरको राज्यमा प्रवेश गर्न कति कठिन छ!”
उहाँका वचनहरूमा चेलाहरू छक्क परे, तर येशूले फेरि भन्नुभयो, “हे बालकहरू हो! परमेश्वरको राज्यमा प्रवेश गर्न कति कठिन छ! कुनै धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा, बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।”
चेलाहरू झन् बढी छक्क परेर आपसमा भने, “त्यसो भए कसले उद्धार पाउन सक्छ त?”
येशूले तिनीहरूतिर हेरेर भन्नुभयो, “मानिसका लागि यो असम्भव छ, तर परमेश्वरका लागि छैन; परमेश्वरका लागि सबै कुरा सम्भव छ।”
पत्रुसले उहाँलाई भन्न थाले, “हामीले तपाईंलाई पछ्याउनलाई सबै कुरा त्यागेका छौँ।”
येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, आफ्नो घर अथवा दाजुभाइहरू वा दिदीबहिनीहरू अथवा आमा वा बुबा अथवा बालबच्चा अथवा जग्गाजमिन मेरा र सुसमाचारका निम्ति त्याग्नेहरू, जो कोहीले पनि, सतावटका साथै यही युगमा तीभन्दा सय गुणा बढ्ता घरहरू, दाजुभाइहरू, दिदीबहिनीहरू, आमाहरू, बालबच्चाहरू र जग्गाजमिन, र यसकासाथै आउने युगमा अनन्त जीवन पनि प्राप्त गर्नेछ।