मर्कूस 10:17-30
मर्कूस 10:17-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशू बाटोमा जाँदैहुनुहुँदा, एक जना मानिस दौड़ेर आई उहाँको अगि घुँड़ा टेक्यो, र उहाँलाई सोध्यो, “हे असल गुरु, अनन्त जीवन प्राप्त गर्नलाई मैले के गर्नुपर्छ?” येशूले त्यसलाई भन्नुभयो, “तिमी किन मलाई असल भन्छौ? एकमात्र परमेश्वरबाहेक अरू कोही असल छैन। तिमी आज्ञाहरू त जान्दछौ, अर्थात् हत्या नगर्नू, व्यभिचार नगर्नू, नर्चोनू, झूटा गवाही नदिनू, नठग्नू, आफ्ना बुबा र आमालाई आदर गर्नू।” अनि त्यसले उहाँलाई भन्यो, “गुरुज्यू, यी सबै त मैले मेरो युवावस्थादेखि नै पालन गरेको छु।” येशूले त्यसलाई हेर्नुभयो, र त्यसलाई माया गरेर भन्नुभयो, “तिमीलाई अझ एउटा कुराको अभाव छ। जाऊ, र तिम्रा जे-जति छन् बिक्री गर र गरीबहरूलाई देऊ, र तिमीलाई स्वर्गमा सम्पत्ति मिल्नेछ। अनि आएर मेरो पछि लाग।” तर यस कुराले त्यसको अनुहार उदासिलो भयो, र त्यो दुःखित भएर गइहाल्यो, किनभने त्यससित धेरै धन-सम्पत्ति थियो। अनि वरिपरि हेरेर येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, धनीहरूलाई परमेश्वरको राज्यमा पस्नु कति कठिन छ।” उहाँले भन्नुभएको यस कुरामा चेलाहरूले अचम्म माने। तर येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “बालक हो, धनसम्पत्तिमाथि भरोसा राख्नेहरूलाई परमेश्वरको राज्यभित्र पस्नु कति कठिन छ। धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा त बरु सियोको नाथ्रीबाट ऊँटलाई छिर्न सजिलो हुन्छ।” तिनीहरू ज्यादै अचम्मित भए र उहाँलाई भने, “त्यसो भए को बाँच्न सक्छ?” येशूले तिनीहरूलाई हेरेर भन्नुभयो, “मानिसहरूका निम्ति त यो असम्भव छ, तर परमेश्वरको लागि छैन, किनकि परमेश्वरको निम्ति सबै कुरा सम्भव हुन्छ।” पत्रुसले उहाँलाई भने, “हेर्नुहोस्, हामीले सबै छोड़्यौं, र तपाईंको पछि लागेका छौं।” येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, जसले मेरो निम्ति र सुसमाचारको खातिर घर वा दाजुभाइ वा दिदी-बहिनी वा आमा-बुबा वा छोरा-छोरीहरू वा जग्गाजमिन छोड्छ, त्यसले सतावटको साथसाथै सय गुणा बढ़ी घर, दाजुभाइ, दिदी-बहिनी, आमा, छोरा-छोरी र जग्गाजमिन यसै समयमा पाउनेछ, अनि आउँदो युगमा अनन्त जीवन।
मर्कूस 10:17-30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशू जब बाटोमा जाँदैहुनुहुन्थ्यो, तब एक जना मानिस दगुर्दै आएर उहाँको सामु घुँडा टेक्यो र सोध्यो, “हे असल गुरु, मैले अनन्त जीवन प्राप्त गर्नलाई के गर्नुपर्छ?” येशूले जवाफ दिनुभयो, “तिमी मलाई किन असल भन्दछौ? परमेश्वरबाहेक अरू कोही पनि असल छैन। तिमीलाई आज्ञाहरू त थाहै छ: ‘तैँले हत्या नगर्नू, तैँले व्यभिचार नगर्नू, तैँले नचोर्नू, तैँले झूटो साक्षी नदिनू, तैँले नठग्नू, आफ्ना आमा र बुबाको आदर गर्नू।’ ” त्यसले भन्यो, “गुरु, यी सबै त मैले मेरो बालककालदेखि नै गर्दैआएको छु।” येशूले त्यसलाई हेरेर प्रेम गरी भन्नुभयो, “तिमीमा एउटै कुराको अभाव छ; जाऊ, तिमीसित भएका आफ्ना सबै कुरा बेचेर गरिबहरूलाई देऊ। अनि तिमीलाई स्वर्गमा धनसम्पत्ति प्राप्त हुनेछ। त्यसपछि आऊ, मेरो पछि लाग।” यो सुनेर त्यो जवान मानिसको अनुहार उदास भयो। त्यो दुःखित भएर गइहाल्यो; किनकि ऊसँग धेरै सम्पत्ति थियो। येशूले चारैतिर हेरेर आफ्ना चेलाहरूलाई भन्नुभयो, “धनीहरूलाई परमेश्वरको राज्यमा प्रवेश गर्न कति कठिन छ!” उहाँका वचनहरूमा चेलाहरू छक्क परे, तर येशूले फेरि भन्नुभयो, “हे बालकहरू हो! परमेश्वरको राज्यमा प्रवेश गर्न कति कठिन छ! कुनै धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा, बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।” चेलाहरू झन् बढी छक्क परेर आपसमा भने, “त्यसो भए कसले उद्धार पाउन सक्छ त?” येशूले तिनीहरूतिर हेरेर भन्नुभयो, “मानिसका लागि यो असम्भव छ, तर परमेश्वरका लागि छैन; परमेश्वरका लागि सबै कुरा सम्भव छ।” पत्रुसले उहाँलाई भन्न थाले, “हामीले तपाईंलाई पछ्याउनलाई सबै कुरा त्यागेका छौँ।” येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, आफ्नो घर अथवा दाजुभाइहरू वा दिदीबहिनीहरू अथवा आमा वा बुबा अथवा बालबच्चा अथवा जग्गाजमिन मेरा र सुसमाचारका निम्ति त्याग्नेहरू, जो कोहीले पनि, सतावटका साथै यही युगमा तीभन्दा सय गुणा बढ्ता घरहरू, दाजुभाइहरू, दिदीबहिनीहरू, आमाहरू, बालबच्चाहरू र जग्गाजमिन, र यसकासाथै आउने युगमा अनन्त जीवन पनि प्राप्त गर्नेछ।
मर्कूस 10:17-30 पवित्र बाइबल (NERV)
येशू हिँड्न लाग्नु भयो, त्यसैबेला एउटा मानिस दगुर्दै आयो, येशूको अघि घुँडा टेक्यो। त्यस मानिसले उहाँलाई भन्यो, “हे असल गुरुज्यू अनन्त जीवन प्राप्त गर्नलाई मैले के गर्नुपर्छ?” येशूले उत्तर दिनुभयो, “तिमीले मलाई किन असल भन्दैछौ? कुनै मानिस असल छैन। खाली परमेश्वर मात्र असल हुनुहुन्छ। यसैले म तिम्रो प्रश्नको उत्तर दिन्छु। तिमी आज्ञाहरू त जान्दछौः ‘तिमीले कसैको हत्या गर्नु हुँदैन, कसैलाई व्यभिचार गर्नु हुँदैन, चोर्नु हुँदैन, झूटो साक्षी दिनु हुँदैन, अरूलाई ठग्नु हुँदैन, तिमीले आफ्नो बाबू र आमालाई आदर गर्नैपर्छ …।’” त्यो मानिसले भन्यो, “गुरूज्यू, मैले यी सब आज्ञाहरू मेरो बालकपनदेखि नै पालन गर्दै आएको छु।” येशूले त्यस मानिसलाई फर्केर हेर्नुभयो। उहाँले त्यसलाई प्रेम दर्शाउनु भयो अनि भन्नुभयो, “तिमीले पालन गर्नु पर्ने अझै एक अर्को आज्ञा छ। जाऊ अनि आफ्नो सबै चीजहरू बेचिदेऊ, गरीब मानिसहरू माझ त्यो पैसा बाँडिदेऊ। यसको निम्ति स्वर्गमा तिमीलाई इनाम मिल्नेछ। त्यसपछि मकहाँ आऊ, अनि मलाई पछ्याऊ।” जब त्यस मानिसले येशूबाट यी सबै कुरा सुन्यो उसको अनुहार अँध्यारो भयो। त्यो मानिस दुःखी बन्यो, किनभने त्यो खुबै धनी थियो आफ्नो धन गुमाउन चाहदैन्थ्यो। त्यसपछि येशूले आफ्नो चेलाहरूलाई हेर्नुभयो अनि तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको राज्यमा पस्नुलाई एकजना धनी मानिसलाई निकै गाहो पर्छ।” अनि येशूका कुरामा चेलाहरू अचम्मित भए। तर येशूले तिनीहरूलाई फेरि भन्नु भयो। “हे मेरो नानीहरू, परमेश्वरको राज्यमा पस्नु अति गाह्रो छ। धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा ऊँटलाई सियोको नाथ्रीबाट छिरेर जानु सजिलो छ।” चेलाहरू अति अचम्मित भए, अनि एक अर्कामा चर्चा गर्न लागे, “त्योसो भए को चाँहि पस्नुसक्छ?” येशूले चेलाहरूलाई हेर्नुभयो अनि भन्नुभयो, “मानिसहरूको निम्ति यी सब असम्भव छ, तर परमेश्वरको निम्ति यी सबै सम्भव छ।” पत्रुसले येशूलाई भने, “हामिले सब त्याग्यौ अनि तपाईंको अनुशरण गर्यौं।” येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। प्रत्येक मानिस जसले मेरो निम्ति आफ्नो घर, दाज्यू-भाइ, दिदी-बहिनी, आमा-बाबु, बालकहरू, वा खेत जमीन छोडेर सुसमाचारमा लागेको छ उसले आफूले त्यागेको भन्दा सयौं गुणा अधिक पाउनेछ। यहाँ यस संसारमा त्यस मानिसले घरहरू दाज्यू-भाइहरू, दीदी-बहिनीहरू, आमा-बुबाहरू, बालकहरू अनि खेत सबै पाउनेछ। यस संसारसा उसले यातना पाउने छ, तर आउनेवाला संसारमा उसले अनन्त जीवन पाउनेछ।
मर्कूस 10:17-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशू त्यहाँबाट जान लाग्नुहुँदा एक जना मानिस दगुर्दै आएर उहाँको पाउमा परी सोधे, “हे असल गुरु, अजम्मरी जीवन पाउन मैले के गर्नुपर्छ?” येशूले तिनलाई भन्नुभयो, “तिमी किन मलाई असल भन्छौ? परमेश्वर बाहेक कोही पनि असल छैन। परमेश्वरका धार्मिक आज्ञाहरू त तिमीलाई थाहै छ, मान्छे नमार्नू, व्यभिचार नगर्नू, नचोर्नू, झूटो साक्षी नदिनू, नठग्नू र आमा-बुबाको आदर गर्नू।” तिनले जवाफ दिएर भने, “गुरु, यी सबै आज्ञा त मैले सानैदेखि मान्दैआएको छु।” येशूले तिनलाई माया गरेर हेर्नुभयो र भन्नुभयो, “अब तिमीले एउटै काम गर्न बाँकी छ। गएर आफ्ना सबै धन-सम्पत्ति बेचेर पैसा गरीबहरूलाई देओ र तिमीले स्वर्गीय धन पाउनेछौ अनि मेरो पछि लाग।” यो कुरा सुनेर ती मानिसले अँध्यारो मुख लगाए र ठूलो पीर मान्दै गए किनभने तिनको धेरै धन-सम्पत्ति थियो। येशूले चारैतिर हेरेर चेलाहरूलाई भन्नुभयो, “धनी मानिसलाई परमेश्वरको राज्यमा पस्न कस्तो गाह्रो हुँदोरहेछ।” येशूको कुरा सुनेर चेलाहरूलाई अचम्म लाग्यो। अनि येशूले अझै भन्दै जानुभयो, “बालक हो! परमेश्वरको राज्यमा पस्न कस्तो गाह्रो छ। धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नुभन्दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो होला।” यो सुनेर चेलाहरूले झन् छक्कै परेर सोधे, “त्यसो भए कसले मुक्ति पाउन सक्छ त?” येशूले तिनीहरूलाई हेरेर भन्नुभयो, “यो मानिसबाट हुनै नसक्ने काम हो, तर परमेश्वरबाट भने हुन सक्छ किनभने परमेश्वरबाट सबै काम हुन सक्छ।” अनि पत्रुसले भने, “हेर्नुहोस्, हामीले त सबै कुरा छोडेर तपाईंलाई पछ्याएका छौं।” येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, मेरो लागि र सुसमाचारको खातिर आफ्ना आमा-बुबा, छोरा-छोरी, दाजुभाइ, दिदी-बहिनी, घरबार, जग्गा-जमिन छोड्नेले योभन्दा सय गुणा बढी पाउनेछ। सतावट र दु:खको साथै अहिले नै उसले आमा-बुबा, छोरा-छोरी, दाजुभाइ, दिदी-बहिनी, घरबार, जग्गा-जमिन पाउनेछ अनि आउने युगमा चाहिँ अजम्मरी जीवन पाउनेछ।