येशू त्यहाँबाट जान लाग्नुहुँदा एक जना मानिस दगुर्दै आएर उहाँको पाउमा परी सोधे, “हे असल गुरु, अजम्मरी जीवन पाउन मैले के गर्नुपर्छ?” येशूले तिनलाई भन्नुभयो, “तिमी किन मलाई असल भन्छौ? परमेश्वर बाहेक कोही पनि असल छैन। परमेश्वरका धार्मिक आज्ञाहरू त तिमीलाई थाहै छ, मान्छे नमार्नू, व्यभिचार नगर्नू, नचोर्नू, झूटो साक्षी नदिनू, नठग्नू र आमा-बुबाको आदर गर्नू।” तिनले जवाफ दिएर भने, “गुरु, यी सबै आज्ञा त मैले सानैदेखि मान्दैआएको छु।” येशूले तिनलाई माया गरेर हेर्नुभयो र भन्नुभयो, “अब तिमीले एउटै काम गर्न बाँकी छ। गएर आफ्ना सबै धन-सम्पत्ति बेचेर पैसा गरीबहरूलाई देओ र तिमीले स्वर्गीय धन पाउनेछौ अनि मेरो पछि लाग।” यो कुरा सुनेर ती मानिसले अँध्यारो मुख लगाए र ठूलो पीर मान्दै गए किनभने तिनको धेरै धन-सम्पत्ति थियो।
येशूले चारैतिर हेरेर चेलाहरूलाई भन्नुभयो, “धनी मानिसलाई परमेश्वरको राज्यमा पस्न कस्तो गाह्रो हुँदोरहेछ।” येशूको कुरा सुनेर चेलाहरूलाई अचम्म लाग्यो। अनि येशूले अझै भन्दै जानुभयो, “बालक हो! परमेश्वरको राज्यमा पस्न कस्तो गाह्रो छ। धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नुभन्दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो होला।” यो सुनेर चेलाहरूले झन् छक्कै परेर सोधे, “त्यसो भए कसले मुक्ति पाउन सक्छ त?” येशूले तिनीहरूलाई हेरेर भन्नुभयो, “यो मानिसबाट हुनै नसक्ने काम हो, तर परमेश्वरबाट भने हुन सक्छ किनभने परमेश्वरबाट सबै काम हुन सक्छ।”
अनि पत्रुसले भने, “हेर्नुहोस्, हामीले त सबै कुरा छोडेर तपाईंलाई पछ्याएका छौं।” येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, मेरो लागि र सुसमाचारको खातिर आफ्ना आमा-बुबा, छोरा-छोरी, दाजुभाइ, दिदी-बहिनी, घरबार, जग्गा-जमिन छोड्नेले योभन्दा सय गुणा बढी पाउनेछ। सतावट र दु:खको साथै अहिले नै उसले आमा-बुबा, छोरा-छोरी, दाजुभाइ, दिदी-बहिनी, घरबार, जग्गा-जमिन पाउनेछ अनि आउने युगमा चाहिँ अजम्मरी जीवन पाउनेछ।