तर म भन्दछु, जो आफ्नो भाइसित रिसाउँछ त्यो न्यायमा पर्छ। अनि जसले आफ्नो भाइलाई ‘ए मूर्ख’ भन्छ, त्यो महासभामा लगिने योग्यको हुन्छ। तर जसले ‘तँ मूर्ख!’ भन्छ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुन्छ। “यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढाउँदैगर्दा यदि तिम्रो विरुद्धमा तिम्रो भाइको केही कुरा छ भन्ने सम्झना आयो भने, तिम्रो भेटी त्यही वेदीकै सामु छोड। पहिले जाऊ र तिम्रो भाइसित मिलाप गर: अनि आएर बल्ल आफ्नो भेटी चढाऊ। “तिमीलाई अदालतमा लैजाने विरोधीसित झट्टै कुरा मिलाइहाल। यो काम तिमी ऊसँग बाटोमा हुँदै गरिहाल। नत्रता उसले तिमीलाई न्यायाधीशकहाँ सुम्पिदेला, र न्यायाधीशले तिमीलाई अधिकारीकहाँ सुम्पिदेलान्। अनि तिमी झ्यालखानामा परौला। म तिमीलाई साँच्चै भन्छु, एक-एक पैसा नतिरुन्जेल तिमी त्यहाँबाट बाहिर निस्कन पाउनेछैनौ। “तिमीहरूले ‘व्यभिचार नगर्नू’ भनेको सुनेका छौ। तर म तिमीहरूलाई भन्दछु, जसले कुनै स्त्रीलाई कुदृष्टि लगाउँछ, उसले आफ्नो हृदयमा त्यससित व्यभिचार गरिसकेको हुन्छ। यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फ्याँकिदेऊ। किनकि तिम्रो सम्पूर्ण शरीर नरकको आगोमा फालिनुभन्दा त तिम्रो शरीरको एउटा अङ्ग गुमाउनु तिम्रो लागि असल हुन्छ। अनि यदि तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनकि तिम्रो सम्पूर्ण शरीर नरकको आगोमा जानुभन्दा त तिम्रो शरीरको एउटा अङ्ग गुमाउनु तिम्रो लागि असल हुन्छ। “यसो भनिएको छ, ‘यदि कसैले आफ्नी पत्नीलाई त्याग्छ भने त्यसले उसलाई एउटा त्यागपत्र देओस्।’ तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई वैवाहिक व्यभिचारको कारणबाहेक अरू कारणले विवाह विच्छेद गर्छ, त्यसले उसलाई व्यभिचारिणी बनाउँछ। अनि जसले विवाह विच्छेद गरिएकी कुनै स्त्रीलाई विवाह गर्छ, उसले पनि व्यभिचार गर्छ। “फेरि मानिसहरूलाई धेरै अगि यसो भनिएको तिमीहरूले सुनेका छौ, ‘तिमीहरूले शपथ भङ्ग नगर, तर तिमीहरूले प्रभुसित गरेको शपथ पूरा गर।’ तर म तिमीहरूलाई भन्दछु, शपथ खाँदै नखाओ; न त स्वर्गको नाममा, किनकि त्यो त परमेश्वरको सिंहासन हो; न त पृथ्वीको नाममा, किनकि त्यो उहाँको पाउदान हो: न त यरूशलेमको नाममा, किनकि त्यो महान् राजाको सहर हो। अनि तिम्रो शिरको शपथ नखाऊ, किनकि तिमीले एउटै केशलाई पनि सेतो वा कालो बनाउन सक्दैनौ। तर तिमीहरूको वचन ‘हो’ चाहिँ ‘हो’ भन, र ‘होइन’ चाहिँ ‘होइन’ नै भन; यसभन्दा बढ्ताचाहिँ सबै दुष्टबाट आउँछ। “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘आँखाको सट्टा आँखा र दाँतको सट्टा दाँत।’ तर म तिमीहरूलाई भन्दछु, दुष्ट मानिसको प्रतिरोध नगर। यदि कसैले तिम्रो दाहिने गालामा हिर्कायो भने उसलाई तिमीले अर्को गाला पनि थापिदेऊ। अनि यदि कसैले मुद्दा चलाएर तिम्रो दौरा लिन खोज्छ भने त्यसलाई तिम्रो खास्टो पनि दिइहाल। यदि कसैले तिमीलाई कर लगाएर एक किलोमिटर गइदेऊ भन्छ भने ऊसँग दुई किलोमिटर गइदेऊ। तिमीसँग माग्नेलाई देऊ; र तिमीसित ऋण माग्नेलाई इन्कार नगर। “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर र तिम्रो शत्रुलाई घृणा गर।’ तर म तिमीहरूलाई भन्दछु: आफ्ना शत्रुहरूलाई प्रेम गर। अनि तिमीहरूलाई खेदो गर्नेहरूका निम्ति प्रार्थना गर। अनि तिमीहरू स्वर्गमा हुनुहुने तिमीहरूका पिताका सन्तान बन्नेछौ। उहाँले दुष्ट र असल दुवैका निम्ति सूर्य उदाइदिनुहुन्छ। अनि धर्मी र अधर्मी दुवैका निम्ति पानी बर्साइदिनुहुन्छ। यदि तिमीहरूलाई प्रेम गर्नेहरूलाई मात्र तिमीहरू प्रेम गर्छौ भने तिमीहरूले के प्रतिफल पाउनेछौ? त्यो त कर उठाउनेहरूले पनि गरिरहेका छैनन् र? अनि यदि तिमीहरू आफ्ना मानिसहरूलाई मात्र अभिवादन गर्छौ भने तिमीहरूले अरूले भन्दा के बढी गर्दैछौ र? त्यो त गैरयहूदीहरूले पनि गर्दैनन् र? यसैले तिमीहरूका स्वर्गीय पिता जसरी सर्वगुणी हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै सर्वगुणी हुनुपर्दछ!
मत्ती 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 5:22-48
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू