तर म तिमीहरूलाई भन्दछु, कोही अन्य मानिससित नरिसाओ। सबैजना तिम्रा भाइ हुन्। यदि तिमी अरू मानिससंग रिसाउँछौ भने, तिमी इन्साफको निम्ति खड़ा हुनु पर्नेछ। यदि तिमीले अर्को मानिससित नराम्रा कुरा गर्यौ भने तिमी यहूदीहरूको महासभाको समक्ष उभिनु पर्नेछ। यदि अर्को मानिसलाई ‘मुर्ख’ भन्छौ भने तिमी नरकको आगोमा फालिइनु पर्नेछ।
“जब तिमीले परमेश्वरलाई भेटी चढाउँछौ त्यसबेला तिमी अरूहरूलाई पनि सम्झ। यदि तिमीले वेदीमा भेटी चढाउँदा तिम्रो विरुद्धमा तिम्रो भाइको हृदयमा केही छ भन्ने सम्झ्यौ भने, त्यही वेदीको छेउमा तिम्रो भेटी छोड। पहिला तिमी फर्केर जाऊ अनि त्यो मानिससित मिलाप गर। त्यसपछि आफ्नो भेटी वेदीमा चढाऊ।
“यदि तिम्रो विरोधीले तिमीलाई न्यायालयमा लाँदैछ भने उसित मिलाप गरिहाल। न्यायलय पुग्नु अघिनै तिमीले यसो गर। यदि तिमी उसको साथी बन्न असफल भयौ भने उसले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला, न्यायाधीशले तिमीलाई प्रहरीको हातमा सुम्पिदेलान् अनि तिमीलाई झ्यालखानामा थुनिदिनेछ। म तिमीलाई भन्दछु कि तिमीले ऋणको अन्तिम पैसा नतिरुन्जेल तिमी त्यहाँबाट कुनै तरिकाले उम्कने छैनौ।
“तिमीहरूले यसो भनेको सुनेकाछौ, ‘व्यभिचारको पापबाट अलग बस।’ तर म तिमीहरूलाई भन्दछु, जसले स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै उसित त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ। यदि तिम्रो दाहिने आँखाले तिमीलाई बाधा पुर्याउँछ भने, त्यसलाई निकालेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा पर्नु भन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ। यदि तिम्रो दाहिने हातले तिमीलाई पाप गराउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानु भन्दा बरू तिम्रो अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ।
“यसलाई यसप्रकारले भनिएको छ, ‘जसले आफ्नी पत्नीलाई त्याग गर्ला, त्यसले उसलाई त्यागपत्र लेखी देओस्।’ तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई व्यभिचारको कारणबाहेक अन्य कारणले त्याग गर्ला, उसलाई त्यसले व्यभिचारिणी तुल्याउँछ, र जसले त्याग गरिएकोसित विवाह गर्ला, त्यसले पनि व्यभिचार गर्नेछ।
“फेरि तिमीहरूले सुनेकाछौ, कि हाम्रा प्राचीन समयका पुर्खाहरूलाई यसो भनिएको थियो, ‘जब तिमी शपथ खान्छौ, त्यो प्रतिज्ञा नतोड। परमेश्वरको निम्ति आफ्नो प्रतिज्ञा पूरा गर।’ तर म तिमीहरूलाई भन्दछु, स्वर्गको नाउँमा कसम वा प्रतिज्ञा खाँदै नखाऊ, किनभने स्वर्ग परमेश्वरको सिंहासन हो। पृथ्वीको नाममा पनि कसम नखाऊ, किनभने पृथ्वी परमेश्वरको पाउदान हो। यरूशलेमको नाउँमा कसम नखाऊ, किनभने त्यो महाराजाको शहर हो। अनि आफ्नो शिरको कसम पनि नखाऊ, किनभने तिमी आफ्नो शिरको एउटा केशलाई पनि सेतो वा कालो तुल्याउन सक्दैनौ। यदि तिमी ‘हो’ भने ‘हो’ भन ‘होइन’ भने ‘होइन’ भन। यस भन्दा बढ्ता चाहिं दुष्ट-तर्फबाट भएको हो।
“तिमीहरूले सुनेकाछौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बद्ला दाँत।’ तर म तिमीहरूलाई भन्दछु, दुष्टको सामना नगर्। यदि कसैले तिम्रो दाहिने गालामा चट्काइदियो भने त्यसलाई देब्रे गाला पनि फर्काइदेउ। यदि कसैले मुद्दा चलाएर तिम्रो दौरा लीने दाबी गर्छ भने, त्यसलाई तिम्रो खाष्टो पनि दिइहाल। यदि कसैले तिमीलाई एक माइलसम्म जबरजस्त हिंड्न लगाउँछ भने उसित दुइमाइलसम्म जाऊ। यदि कसैले तिमीसित केही माग्छ भने त्यो दिइहाल। कुनै व्यक्तिले कर्जा लिन चाहेमा पनि केही दिन अस्वीकार नगर।
“तिमीहरूले यसो भनिएको सुनेकाछौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर र तिम्रो शत्रुलाई घृणा गर।’ तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई खेदो गर्नेहरूको निम्ति प्रार्थना गर। यदि तिमीले यसो गर्यौ भने तिमी स्वर्गको पिताका साँच्चो पुत्र हुनेछौ। किनभने उहाँले दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ। अनि धर्मी र अधर्मीहरूको निम्ति वृष्टि पठाइदिनुहुन्छ। यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूले कनै इनाम पाउने छैनौ। महसूल उठाउनेहरूले पनि त्यसै गर्छन्। अनि यदि तिमीहरू आफ्ना साथी-भाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरू मानिसहरूसँग असल ठहर्नेछैनौ। अरू परमेश्वरलाई नजान्ने मानिसहरू पनि आफ्ना साथीभाइहरूसँग असल नै हुन्छन्। यसैकारणले तिमीहरू सिद्ध होऊ, जसरी तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ।