मत्ती 5:22-48
मत्ती 5:22-48 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर म तिमीहरूलाई भन्दछु, जो कोही आफ्नो भाइसँग क्रोध गर्दछ त्यो दण्डको योग्य हुनेछ, र जसले आफ्नो भाइको अपमान गर्दछ, त्यो महासभामा जवाफदेही हुनेछ। तर जसले आफ्नो भाइलाई ‘तँ मूर्ख’ भन्छ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ। “यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढ़ाउँदा तिम्रो भाइको हृदयमा तिम्रो विरुद्धमा केही छ भन्ने तिमीलाई याद भयो भने, तिम्रो भेटी त्यही वेदीको सामु छोड, र जाऊ। पहिले आफ्नो भाइसँग मिलाप गर, र त्यसपछि आएर आफ्नो भेटी चढ़ाऊ। “तिम्रो वादीसँग अदालतमा जाँदा बाटोमै मिलाप गरिहाल, नत्रता वादीले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला र न्यायाधीशले अधिकृतको हातमा सुम्पिदेलान्, र तिमी झ्यालखानमा पर्नेछौ। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीले एक-एक पैसा चुक्ता नगरुञ्जेल तिमी त्यहाँबाट उम्कनेछैनौ। “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैंले व्यभिचार नगर्।’ तर म तिमीहरूलाई भन्दछु, जसले कोही स्त्रीलाई कामवासनाको इच्छाले हेर्दछ, त्यसले अघिबाटै आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ। यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ, किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा फालिनुभन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ। तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानुभन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ। “यसो पनि भनिएको छ, कि ‘जसले आफ्नी पत्नीलाई त्याग गर्छ, त्यसले तिनलाई त्यागपत्र लेखिदेओस्।’ तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई व्यभिचारको कारणबाहेक अरू कारणले त्याग गर्ला, त्यसले तिनलाई व्यभिचारिणी तुल्याउँछ, र जसले त्याग गरिएकी स्त्रीसँग विवाह गर्ला, त्यसले व्यभिचार गर्नेछ। “फेरि तिमीहरूले सुनेका छौ, कि प्राचीन समयका मानिसहरूलाई भनिएको थियो, ‘तैंले झूटो शपथ नखा, तर परमप्रभुको निम्ति गरिएको शपथ तैंले पूरा गर्।’ तर म तिमीहरूलाई भन्दछु, शपथ खाँदै नखाओ। स्वर्गको नाउँमा शपथ नखाओ, किनकि त्यो परमेश्वरको सिंहासन हो, न त पृथ्वीको, किनकि त्यो उहाँको पाउदान हो, न त यरूशलेमको, किनकि त्यो महाराजाको सहर हो। आफ्नो शिरको शपथ नखाऊ, किनकि तिमीले एउटा केशलाई सेतो कि कालो बनाउन सक्दैनौ। तिमीहरूले भनेको वचनचाहिँ ‘हो’ भने ‘हो,’ ‘होइन’ भने ‘होइन’ मात्र होस्। यीभन्दा बढ़ीचाहिँ दुष्टताबाट आउँदछ। “तिमीहरूले सुनेका छौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बदला दाँत।’ तर म तिमीहरूलाई भन्दछु, दुष्टको मुकाबिला नगर। जसले तिम्रो दाहिने गाला चड्काउला, त्यसलाई अर्को गाला पनि थापिदेऊ। यदि कोही मानिसले मुद्दा चलाएर तिम्रो दौरा लिने दाबी गर्छ भने, त्यसलाई तिम्रो खास्टो पनि दिइहाल। यदि कसैले तिमीलाई एक किलोमिटर जान बाध्य गर्छ भने, ऊसँग दुई किलोमिटर गइदेऊ। तिमीसँग माग्नेलाई देऊ, र तिमीसँग कर्जा लिन चाहनेलाई इन्कार नगर। “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर, र तिम्रो शत्रुलाई घृणा गर।’ तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर, र तिमीहरू स्वर्गमा हुनुहुने आफ्ना पिताका छोराहरू हुनेछौ। उहाँले दुष्ट र सज्जन दुवैलाई सूर्यको ताप दिनुहुन्छ, र धर्मी र पापी दुवैलाई वृष्टि दिनुहुन्छ। किनभने यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई के इनाम छ? के महसूल उठाउनेहरूले पनि त्यसै गर्दैनन् र? तिमीहरूले आफ्ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरूहरूले भन्दा बढ़ी के गर्यौ र? के अन्यजातिहरूले पनि त्यसै गर्दैनन् र? यसकारण जस्तो तिमीहरूका स्वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै सिद्ध हुनुपर्दछ।”
मत्ती 5:22-48 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर म भन्दछु, जो आफ्नो भाइसित रिसाउँछ त्यो न्यायमा पर्छ। अनि जसले आफ्नो भाइलाई ‘ए मूर्ख’ भन्छ, त्यो महासभामा लगिने योग्यको हुन्छ। तर जसले ‘तँ मूर्ख!’ भन्छ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुन्छ। “यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढाउँदैगर्दा यदि तिम्रो विरुद्धमा तिम्रो भाइको केही कुरा छ भन्ने सम्झना आयो भने, तिम्रो भेटी त्यही वेदीकै सामु छोड। पहिले जाऊ र तिम्रो भाइसित मिलाप गर: अनि आएर बल्ल आफ्नो भेटी चढाऊ। “तिमीलाई अदालतमा लैजाने विरोधीसित झट्टै कुरा मिलाइहाल। यो काम तिमी ऊसँग बाटोमा हुँदै गरिहाल। नत्रता उसले तिमीलाई न्यायाधीशकहाँ सुम्पिदेला, र न्यायाधीशले तिमीलाई अधिकारीकहाँ सुम्पिदेलान्। अनि तिमी झ्यालखानामा परौला। म तिमीलाई साँच्चै भन्छु, एक-एक पैसा नतिरुन्जेल तिमी त्यहाँबाट बाहिर निस्कन पाउनेछैनौ। “तिमीहरूले ‘व्यभिचार नगर्नू’ भनेको सुनेका छौ। तर म तिमीहरूलाई भन्दछु, जसले कुनै स्त्रीलाई कुदृष्टि लगाउँछ, उसले आफ्नो हृदयमा त्यससित व्यभिचार गरिसकेको हुन्छ। यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फ्याँकिदेऊ। किनकि तिम्रो सम्पूर्ण शरीर नरकको आगोमा फालिनुभन्दा त तिम्रो शरीरको एउटा अङ्ग गुमाउनु तिम्रो लागि असल हुन्छ। अनि यदि तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनकि तिम्रो सम्पूर्ण शरीर नरकको आगोमा जानुभन्दा त तिम्रो शरीरको एउटा अङ्ग गुमाउनु तिम्रो लागि असल हुन्छ। “यसो भनिएको छ, ‘यदि कसैले आफ्नी पत्नीलाई त्याग्छ भने त्यसले उसलाई एउटा त्यागपत्र देओस्।’ तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई वैवाहिक व्यभिचारको कारणबाहेक अरू कारणले विवाह विच्छेद गर्छ, त्यसले उसलाई व्यभिचारिणी बनाउँछ। अनि जसले विवाह विच्छेद गरिएकी कुनै स्त्रीलाई विवाह गर्छ, उसले पनि व्यभिचार गर्छ। “फेरि मानिसहरूलाई धेरै अगि यसो भनिएको तिमीहरूले सुनेका छौ, ‘तिमीहरूले शपथ भङ्ग नगर, तर तिमीहरूले प्रभुसित गरेको शपथ पूरा गर।’ तर म तिमीहरूलाई भन्दछु, शपथ खाँदै नखाओ; न त स्वर्गको नाममा, किनकि त्यो त परमेश्वरको सिंहासन हो; न त पृथ्वीको नाममा, किनकि त्यो उहाँको पाउदान हो: न त यरूशलेमको नाममा, किनकि त्यो महान् राजाको सहर हो। अनि तिम्रो शिरको शपथ नखाऊ, किनकि तिमीले एउटै केशलाई पनि सेतो वा कालो बनाउन सक्दैनौ। तर तिमीहरूको वचन ‘हो’ चाहिँ ‘हो’ भन, र ‘होइन’ चाहिँ ‘होइन’ नै भन; यसभन्दा बढ्ताचाहिँ सबै दुष्टबाट आउँछ। “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘आँखाको सट्टा आँखा र दाँतको सट्टा दाँत।’ तर म तिमीहरूलाई भन्दछु, दुष्ट मानिसको प्रतिरोध नगर। यदि कसैले तिम्रो दाहिने गालामा हिर्कायो भने उसलाई तिमीले अर्को गाला पनि थापिदेऊ। अनि यदि कसैले मुद्दा चलाएर तिम्रो दौरा लिन खोज्छ भने त्यसलाई तिम्रो खास्टो पनि दिइहाल। यदि कसैले तिमीलाई कर लगाएर एक किलोमिटर गइदेऊ भन्छ भने ऊसँग दुई किलोमिटर गइदेऊ। तिमीसँग माग्नेलाई देऊ; र तिमीसित ऋण माग्नेलाई इन्कार नगर। “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर र तिम्रो शत्रुलाई घृणा गर।’ तर म तिमीहरूलाई भन्दछु: आफ्ना शत्रुहरूलाई प्रेम गर। अनि तिमीहरूलाई खेदो गर्नेहरूका निम्ति प्रार्थना गर। अनि तिमीहरू स्वर्गमा हुनुहुने तिमीहरूका पिताका सन्तान बन्नेछौ। उहाँले दुष्ट र असल दुवैका निम्ति सूर्य उदाइदिनुहुन्छ। अनि धर्मी र अधर्मी दुवैका निम्ति पानी बर्साइदिनुहुन्छ। यदि तिमीहरूलाई प्रेम गर्नेहरूलाई मात्र तिमीहरू प्रेम गर्छौ भने तिमीहरूले के प्रतिफल पाउनेछौ? त्यो त कर उठाउनेहरूले पनि गरिरहेका छैनन् र? अनि यदि तिमीहरू आफ्ना मानिसहरूलाई मात्र अभिवादन गर्छौ भने तिमीहरूले अरूले भन्दा के बढी गर्दैछौ र? त्यो त गैरयहूदीहरूले पनि गर्दैनन् र? यसैले तिमीहरूका स्वर्गीय पिता जसरी सर्वगुणी हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै सर्वगुणी हुनुपर्दछ!
मत्ती 5:22-48 पवित्र बाइबल (NERV)
तर म तिमीहरूलाई भन्दछु, कोही अन्य मानिससित नरिसाओ। सबैजना तिम्रा भाइ हुन्। यदि तिमी अरू मानिससंग रिसाउँछौ भने, तिमी इन्साफको निम्ति खड़ा हुनु पर्नेछ। यदि तिमीले अर्को मानिससित नराम्रा कुरा गर्यौ भने तिमी यहूदीहरूको महासभाको समक्ष उभिनु पर्नेछ। यदि अर्को मानिसलाई ‘मुर्ख’ भन्छौ भने तिमी नरकको आगोमा फालिइनु पर्नेछ। “जब तिमीले परमेश्वरलाई भेटी चढाउँछौ त्यसबेला तिमी अरूहरूलाई पनि सम्झ। यदि तिमीले वेदीमा भेटी चढाउँदा तिम्रो विरुद्धमा तिम्रो भाइको हृदयमा केही छ भन्ने सम्झ्यौ भने, त्यही वेदीको छेउमा तिम्रो भेटी छोड। पहिला तिमी फर्केर जाऊ अनि त्यो मानिससित मिलाप गर। त्यसपछि आफ्नो भेटी वेदीमा चढाऊ। “यदि तिम्रो विरोधीले तिमीलाई न्यायालयमा लाँदैछ भने उसित मिलाप गरिहाल। न्यायलय पुग्नु अघिनै तिमीले यसो गर। यदि तिमी उसको साथी बन्न असफल भयौ भने उसले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला, न्यायाधीशले तिमीलाई प्रहरीको हातमा सुम्पिदेलान् अनि तिमीलाई झ्यालखानामा थुनिदिनेछ। म तिमीलाई भन्दछु कि तिमीले ऋणको अन्तिम पैसा नतिरुन्जेल तिमी त्यहाँबाट कुनै तरिकाले उम्कने छैनौ। “तिमीहरूले यसो भनेको सुनेकाछौ, ‘व्यभिचारको पापबाट अलग बस।’ तर म तिमीहरूलाई भन्दछु, जसले स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै उसित त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ। यदि तिम्रो दाहिने आँखाले तिमीलाई बाधा पुर्याउँछ भने, त्यसलाई निकालेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा पर्नु भन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ। यदि तिम्रो दाहिने हातले तिमीलाई पाप गराउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानु भन्दा बरू तिम्रो अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ। “यसलाई यसप्रकारले भनिएको छ, ‘जसले आफ्नी पत्नीलाई त्याग गर्ला, त्यसले उसलाई त्यागपत्र लेखी देओस्।’ तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई व्यभिचारको कारणबाहेक अन्य कारणले त्याग गर्ला, उसलाई त्यसले व्यभिचारिणी तुल्याउँछ, र जसले त्याग गरिएकोसित विवाह गर्ला, त्यसले पनि व्यभिचार गर्नेछ। “फेरि तिमीहरूले सुनेकाछौ, कि हाम्रा प्राचीन समयका पुर्खाहरूलाई यसो भनिएको थियो, ‘जब तिमी शपथ खान्छौ, त्यो प्रतिज्ञा नतोड। परमेश्वरको निम्ति आफ्नो प्रतिज्ञा पूरा गर।’ तर म तिमीहरूलाई भन्दछु, स्वर्गको नाउँमा कसम वा प्रतिज्ञा खाँदै नखाऊ, किनभने स्वर्ग परमेश्वरको सिंहासन हो। पृथ्वीको नाममा पनि कसम नखाऊ, किनभने पृथ्वी परमेश्वरको पाउदान हो। यरूशलेमको नाउँमा कसम नखाऊ, किनभने त्यो महाराजाको शहर हो। अनि आफ्नो शिरको कसम पनि नखाऊ, किनभने तिमी आफ्नो शिरको एउटा केशलाई पनि सेतो वा कालो तुल्याउन सक्दैनौ। यदि तिमी ‘हो’ भने ‘हो’ भन ‘होइन’ भने ‘होइन’ भन। यस भन्दा बढ्ता चाहिं दुष्ट-तर्फबाट भएको हो। “तिमीहरूले सुनेकाछौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बद्ला दाँत।’ तर म तिमीहरूलाई भन्दछु, दुष्टको सामना नगर्। यदि कसैले तिम्रो दाहिने गालामा चट्काइदियो भने त्यसलाई देब्रे गाला पनि फर्काइदेउ। यदि कसैले मुद्दा चलाएर तिम्रो दौरा लीने दाबी गर्छ भने, त्यसलाई तिम्रो खाष्टो पनि दिइहाल। यदि कसैले तिमीलाई एक माइलसम्म जबरजस्त हिंड्न लगाउँछ भने उसित दुइमाइलसम्म जाऊ। यदि कसैले तिमीसित केही माग्छ भने त्यो दिइहाल। कुनै व्यक्तिले कर्जा लिन चाहेमा पनि केही दिन अस्वीकार नगर। “तिमीहरूले यसो भनिएको सुनेकाछौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर र तिम्रो शत्रुलाई घृणा गर।’ तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई खेदो गर्नेहरूको निम्ति प्रार्थना गर। यदि तिमीले यसो गर्यौ भने तिमी स्वर्गको पिताका साँच्चो पुत्र हुनेछौ। किनभने उहाँले दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ। अनि धर्मी र अधर्मीहरूको निम्ति वृष्टि पठाइदिनुहुन्छ। यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूले कनै इनाम पाउने छैनौ। महसूल उठाउनेहरूले पनि त्यसै गर्छन्। अनि यदि तिमीहरू आफ्ना साथी-भाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरू मानिसहरूसँग असल ठहर्नेछैनौ। अरू परमेश्वरलाई नजान्ने मानिसहरू पनि आफ्ना साथीभाइहरूसँग असल नै हुन्छन्। यसैकारणले तिमीहरू सिद्ध होऊ, जसरी तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ।
मत्ती 5:22-48 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर म तिमीहरूलाई भन्छु, [कारणबिना नै] भाइसँग रिसाउनेले पनि दण्ड पाउनेछ। कसैले आफ्नो भाइलाई मूर्ख भन्यो भने त्यसले सभामा जवाफ दिनुपर्छ। आफ्नो भाइलाई सराप्ने त झन् नरकको आगोमैपर्नेछ। “यसकारण परमेश्वरलाई भेटी चढाउनुभन्दा अघि तिम्रो भाइ तिमीसँग रिसाएको थाहा पायौ भने आफ्नो भेटी वेदीकै अघि छोडी तुरुन्तै गएर आफ्नो भाइसँग मिलाप गर। त्यसपछि मात्रै आएर आफ्नो भेटी चढाऊ। “अदालतमा पुग्नुभन्दा अघि, मौका हुँदै आफ्नो झगडियासँग मेलमिलाप गरिहाल। नत्रता उसले तिम्रो विरुद्धमा न्यायाधीशकहाँ उजुर गर्नेछ अनि न्यायाधीशले तिमीलाई सिपाहीको जिम्मा लाउनेछ र तिमी थुनामापर्नेछौ। साँच्चै म तिमीलाई भन्छु, त्यस बेला जरिमानाको एक-एक पैसा नतिरेसम्म तिमी त्यहाँबाट उम्कन पाउनेछैनौ। “ ‘व्यभिचार गर्नुहुँदैन’ भनेको कुरा त तिमीहरूले सुनेका छौ। तर म भन्छु, कसैले कुनै स्त्रीलाई नराम्रो विचारले हेर्यो भने पनि त्यसले मनमा व्यभिचार गरिसकेको हुन्छ। यदि तिम्रो दाहिने आँखाले तिमीलाई पापमा पार्छ भने त्यसलाई झिकेर फालिदेओ। तिम्रो पूरै शरीर नरकमा फालिनुभन्दा त शरीरको कुनै अङ्ग नहुनु नै तिम्रो लागि धेरै राम्रो हो। त्यसरी नै तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओ। तिम्रो पूरै शरीर नरकमा पर्नुभन्दा त त्यो हात नहुनु नै तिम्रो लागि धेरै राम्रो हो। “ ‘स्वास्नी त्याग्नेले त्यागपत्र लेखेर त्यागोस्’ भनिएको छ। तर म भन्छु, व्यभिचारको दोषबिना स्वास्नी त्याग्नेले उसलाई व्यभिचार गर्न लगाउँछ र यसरी त्यागेकीलाई विवाह गर्नेले पनि व्यभिचार गर्छ। “उहिलेका मानिसहरूलाई ‘झूटो शपथ नखानू र परमप्रभुलाई गरेको वाचा पूरा गर्नू’ भनेको तिमीहरूलाई थाहै छ। तर म तिमीहरूलाई भन्छु, कुनै कुरामा पनि शपथ खाँदै नखाओ। स्वर्गको नाउँ लिएर शपथ खानुहुँदैन किनभने यो परमेश्वरको सिंहासन हो। पृथ्वीको नाउँ लिएर पनि शपथ खानुहुँदैन, त्यो त परमेश्वरको पाउदान हो अनि यरूशलेमको नाउँ लिएर पनि शपथ खानुहुँदैन, त्यो त स्वर्गमा हुनुहुने महाराजाको सहर हो। आफ्नो टाउको छोएर पनि शपथ खानुहुँदैन किनभने तिमीहरू आफ्नो टाउकोको एउटै केश पनि सेतो वा कालो पार्न सक्दैनौ। जे कुरा भन्नु छ, हो भने हो, होइन भने होइन भन। त्योभन्दा बढी भन्नुचाहिँ दुष्टका कुरा हुन्। “ ‘आँखाको बदला आँखा, दाँतको बदला दाँत’ भनेको तिमीहरूलाई थाहा छ। तर म भन्छु, तिमीहरूले कसैसँग बदला नलिनू। यदि कसैले तिम्रो दाहिने गालामा हिर्काउँछ भने देब्रे गाला पनि थापिदेओ। कसैले मुद्दा चलाएर तिम्रो दौरा लान खोज्छ भने उसलाई तिम्रो कोट पनि देओ। तिमीलाई जबरजस्तीसँग आधा कोस लान खोज्नेसँग एक कोससम्मै गइदेओ अनि तिमीसँग माग्नेलाई देओ र ऋण माग्नेलाई पनि ऋण देओ। “ ‘छिमेकीलाई प्रेम गर, शत्रुलाई चाहिँ घृणा गर’ भनेको तिमीहरूलाई थाहै छ। तर म तिमीहरूलाई भन्छु, शत्रुहरूलाई पनि प्रेम गर। आफूलाई खेदो गर्नेहरूका निम्ति प्रार्थना गर। सो गर्यौ भने तिमीहरू स्वर्गमा हुनुहुने परमेश्वर पिताका छोरा-छोरी हुनेछौ किनभने परमेश्वरले पनि दुष्ट र असल दुवैलाई घाम लगाइदिनुहुन्छ अनि पापी र धर्मात्मा दुवैका लागि नै पानी बर्साइदिनुहुन्छ। आफूलाई माया गर्नेलाई मात्रै माया गर्छौ भने तिमीहरूले के इनाम पाउन सक्छौ र? त्यस्तो माया त कर उठाउनेहरूले पनि गर्छन् नि! तिमीहरू खालि आफ्नाहरूलाई मात्रै स्वागत-सत्कार गर्छौ भने अरूभन्दा कुन ठूलो काम गरेका हुन्छौ र? परमेश्वरलाई नचिन्नेहरूले पनि त त्यस्तो काम गर्छन्! स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्वर पिता सबै कुरामा ठीक हुनुभएजस्तै तिमीहरू पनि सबै कुरामा ठीक होओ।”