मत्ती 24
24
मन्दिरको विनाश र जगतको अन्त्यका चिन्हहरू
1येशूले मन्दिर छोडेर गइरहनुहुँदा, चेलाहरू उहाँको ध्यान मन्दिरको बनौटतिर आकर्षित गर्नलाई उहाँकहाँ आए। 2उहाँले सोध्नुभयो, “के तिमीहरू यी सब थोक देख्दैछौ? म तिमीहरूलाई साँच्चै भन्दछु, यहाँको एउटा ढुङ्गा पनि अर्कोमाथि छोडिनेछैन, तर प्रत्येक ढुङ्गा तल फ्याँकिनेछ।”
3येशू जैतुन डाँडामा बसिरहनुहुँदा चेलाहरू सुटुक्क उहाँकहाँ आए। तिनीहरूले भने, “हामीलाई भन्नुहोस्, यो कहिले हुनेछ, अनि तपाईंको आगमनको र जगतको अन्त्यको चिन्ह के हुनेछ?”
4येशूले जवाफ दिनुभयो: “होसियार रहो, ताकि कसैले तिमीहरूलाई धोका नदेओस्। 5किनकि धेरैजना मेरो नाउँमा ‘म ख्रीष्ट हुँ,’ भन्ने दाबी गर्दै आउनेछन् अनि धेरैलाई धोका दिनेछन्। 6तिमीहरूले लडाइँहरू र लडाइँका हल्लाहरू सुन्नेछौ, तर तिमीहरू नडराउनू। यस्ता कुराहरू त हुनैपर्छ, तर अन्त्य आउन अझै बाँकी नै छ। 7जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा अनिकाल र भुँइचालाहरू जानेछन्। 8तर यी सबै त प्रसववेदनाको सुरुआतजस्तै मात्र हुन्।
9“तब तिमीहरू सताइनको लागि र मारिनको लागि सुम्पिइनेछौ, अनि तिमीहरू मेरो निम्ति सबै राष्ट्रहरूद्वारा घृणित हुनेछौ। 10त्यस बेला धेरैजना विश्वासबाट पछि हट्नेछन्, अनि एक-आपसमा धोकाबाजी र घृणा गर्नेछन्। 11अनि धेरै झूटा अगमवक्ताहरू देखा परेर धेरैलाई भ्रममा पार्नेछन्। 12दुष्टता बढेकोले, धेरैको प्रेम सेलाउनेछ, 13तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यो नै बचाइनेछ। 14अनि राज्यको सुसमाचार सबै राष्ट्रहरूमा साक्षीको रूपमा विश्वभरि प्रचार गरिनेछ, त्यसपछि अन्त्य आउनेछ।
15“यसरी जब तिमीहरूले दानिएल अगमवक्ताद्वारा भनिएको ‘विनाशकारी घृणित कुरा#24:15 दानि 9:27; 11:31; 12:11’ पवित्रस्थानमा खडा भएको देख्नेछौ—पढ्नेले बुझोस्— 16तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्। 17घरको कौसीमा हुनेहरू कोही पनि घरबाट केही थोक लिनलाई तल नझरोस्। 18खेतमा हुने कोही पनि आफ्नो लुगा लिन फर्केर नजाओस्। 19ती दिनहरूमा गर्भवती स्त्रीहरू र दूध खुवाउने आमाहरूका लागि कति डरलाग्दा हुनेछन्! 20तिमीहरूको भागा-भाग विश्रामदिनमा अथवा हिउँदमा नहोस् भनी प्रार्थना गर। 21किनकि त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ कि, संसारको उत्पत्तिदेखि अहिलेसम्म न कहिल्यै भएको थियो न ता फेरि कहिल्यै हुनेछ।
22“यदि ती दिनहरू नघटाइएका भए कोही पनि बाँच्ने थिएन, तर चुनिएकाहरूको निम्ति ती दिनहरू घटाइनेछन्। 23त्यस बेला यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्ट यहाँ छन्’ अथवा, ‘तिनी त्यहाँ छन्’ भन्छ भने विश्वास नगर। 24किनकि झूटा ख्रीष्टहरू अनि झूटा अगमवक्ताहरू देखा पर्नेछन् र सम्भव भए चुनिएकाहरूलाई पनि बहकाउनलाई, ठूला-ठूला अलौकिक चिन्हहरू र आश्चर्यपूर्ण कामहरू गर्नेछन्। 25हेर, मैले तिमीहरूलाई पहिलेबाटै भनिदिएको छु।
26“यसकारण यदि कसैले तिमीहरूलाई ‘हेर, उहाँ बाहिर मरुभूमिमा हुनुहुन्छ’ भन्यो भने निस्केर नजाओ; अथवा, ‘उहाँ यहाँ भित्री कोठाहरूमा हुनुहुन्छ’ भन्यो भने त्यो विश्वास नगर। 27किनकि जसरी पूर्वतिर चम्केको बिजुली पश्चिममा पनि देखापर्छ, त्यसरी नै मानिसका पुत्रको आगमन पनि हुनेछ। 28जहाँ सिनु हुन्छ, त्यहाँ गिद्धहरू भेला हुन्छन्।
29“ती दिनहरूका सङ्कष्टपछि तुरुन्तै
“ ‘सूर्य अँध्यारो हुनेछ,
अनि चन्द्रमाले आफ्नो ज्योति दिनेछैन;
आकाशबाट ताराहरू खस्नेछन्,
अनि आकाशका शक्तिहरू डगमगाउनेछन्।’#24:29 यशै 13:10; 34:4
30“त्यस बेला मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, अनि पृथ्वीका सबै जातिहरूले विलाप गर्नेछन्। तिनीहरूले मानिसका पुत्रलाई शक्ति र महा महिमासहित आकाशका बादलहरूमा आइरहेका देख्नेछन्।#24:30 हे. दानि 7:13-14 31अनि उसले आफ्ना दूतहरूलाई तुरहीको चर्को स्वरसित पठाउनेछ, अनि तिनीहरूले आकाशको एक कुनादेखि अर्को कुनासम्म चारै दिशाबाट आफ्ना चुनिएकाहरूलाई बटुल्नेछन्।
32“अब अञ्जीरको रूखबाट यो पाठ सिक: जब यसका हाँगाहरूमा कलिला पातहरू पलाउन थाल्छन्, तिमीहरू ग्रीष्म ऋतु नजिकै आइपुगेछ भनी थाहा पाउँछौ। 33त्यसरी नै जब तिमीहरूले यी सब कुराहरू भइरहेका देख्छौ, तिमीहरूले यो नजिकै, ढोकैमा छ भनी जान। 34म तिमीहरूलाई साँचो भन्दछु, यी सबै घटनाहरू पूरा नभएसम्म यो पुस्ता निश्चय नै नष्ट भएर जानेछैन। 35आकाश र पृथ्वी नष्ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्ट हुनेछैनन्।
त्यो दिन र त्यो समयको ज्ञान कसैलाई छैन
36“त्यस दिन र समयको विषयमा कसैले जान्दैन, न स्वर्गका दूतहरूले, न पुत्रले, तर पिताले मात्र जान्नुहुन्छ। 37जसरी नूहको दिनमा भएको थियो, त्यसरी नै मानिसका पुत्रको आगमनमा पनि हुनेछ। 38किनकि जलप्रलय अघिका दिनहरूमा नूह जहाजभित्र पस्ने दिनसम्म नै मानिसहरू खाँदैथिए, पिउँदैथिए, विवाह गर्दै र विवाह गराउँदैथिए। 39अनि जलप्रलय आएर तिनीहरू सबैलाई नबगाउन्जेल तिनीहरूलाई के हुनेछ भनी थाहा नै थिएन। मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ। 40दुईजना मानिसहरू खेतमा हुनेछन्; एकजना लगिनेछ, अनि अर्को छोडिनेछ। 41दुईजना स्त्रीहरू जाँतो पिँधिरहेका हुनेछन्; एउटी लगिनेछे अनि अर्की छोडिनेछे।
42“यसकारण जागा रहो, किनकि तिमीहरूका प्रभु कुन दिन आउनेछन् भनी तिमीहरू जान्दैनौ। 43तर यो बुझिराख: यदि घरको मालिकले रातीको कुन समयमा चोर आउँछ भनी जानेका भए, तिनी होसियार रहने थिए, अनि तिनले आफ्नो घर फोरिन दिने थिएनन्। 44यसकारण तिमीहरू पनि तयार बस, किनकि मानिसका पुत्र तिमीहरूले नचिताएको बेला आउनेछन्।
45“त्यसो भए त्यो विश्वासयोग्य र बुद्धिमान् सेवक को होला जसलाई त्यसका मालिकले घरका सेवकहरूलाई तिनीहरूका भोजन ठीक समयमा दिनू भनेर तिनीहरूमाथि अधिकार दिएका छन्? 46उसका मालिक फर्केर आउँदा उसले त्यसै गरिरहेको भेट्टाए भने त्यस सेवकको लागि असल हुनेछ। 47म तिमीहरूलाई साँचो भन्दछु, तिनले त्यसलाई आफ्ना सारा सम्पत्तिमाथि अधिकार दिनेछन्। 48तर यदि त्यो सेवक दुष्ट छ, अनि त्यसले आफ्नो मनमा ‘मेरो मालिक आउन ढिलो गर्नेछन्,’ भन्यो, 49अनि आफ्ना सङ्गी-सेवकहरूलाई पिट्न र मतवालाहरूसित खान र पिउन थाल्यो भने, 50त्यस सेवकका मालिक त्यसले नचिताएको दिनमा र त्यसलाई थाहै नभएको समयमा आइपुग्नेछन्। 51तिनले त्यसलाई टुक्रा-टुक्रा पारि काट्नेछन् र कपटीहरूको साथमा राख्नेछन्, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।
अहिले सेलेक्ट गरिएको:
मत्ती 24: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.