YouVersion लोगो
खोज आइकन

मत्ती 23

23
पाखण्डीपन विरुद्ध चेतावनी
1अनि येशूले भीडहरू र आफ्ना चेलाहरूलाई भन्‍नुभयो: 2“व्यवस्थाका शिक्षकहरू र फरिसीहरू मोशाको आसनमा बस्छन्। 3यसकारण तिमीहरूले तिनीहरूले भनेका हरेक कुरा मान र गर, तर तिनीहरूले जे गर्छन् ती नगर, किनकि तिनीहरूले जे प्रचार गर्छन् त्यो अभ्यास गर्दैनन्। 4तिनीहरूले बोक्नै नसक्ने गह्रौं भारी बाँधेर मानिसहरूका काँधमा राखिदिन्छन्, तर तिनीहरू आफै ती उचाल्नलाई आफ्ना एक औंला पनि चलाउँदैनन्।
5“तिनीहरूले प्रत्येक कुरा मानिसहरूले देखून् भनेर गर्छन्। तिनीहरूले आफ्ना धर्मशास्त्रका पदहरू लेखेको पत्रलाई चौडा बनाउँछन्, अनि आफ्ना वस्त्रका झुम्का लामा बनाउँछन्। 6तिनीहरू भोजमा आदरको स्थान मन पराउँछन्, अनि सभाघरहरूमा सबैभन्दा प्रमुख आसनहरू लिन मन पराउँछन्। 7तिनीहरू बजारहरूमा आदरपूर्ण अभिवादन पाउन मन पराउँछन् अनि मानिसहरूले तिनीहरूलाई ‘गुरुज्यू’ भनेर बोलाएको मन पराउँछन्।
8“तर तिमीहरूलाई कसैले ‘गुरुज्यू’ नभनोस्, किनकि तिमीहरूका एउटै मालिक हुनुहुन्छ र तिमीहरू सबै दाजुभाइ हौ। 9अनि यस पृथ्वीमा कसैलाई ‘पिता’ नभन, किनकि तिमीहरूका एउटै पिता हुनुहुन्छ, जो स्वर्गमा हुनुहुन्छ। 10न ता तिमीहरूलाई ‘प्रशिक्षक’ भनियोस्, किनकि तिमीहरूका एउटै प्रशिक्षक हुनुहुन्छ, अर्थात् ख्रीष्‍ट। 11तिमीहरूमध्ये जो सबैभन्दा ठूलो छ, ऊ तिमीहरूको सेवक हुनेछ। 12किनकि जसले आफूलाई उच्‍च पार्छ ऊ नम्र बनाइनेछ, र जसले आफूलाई नम्र बनाउँछ ऊ उच्‍च पारिनेछ।”
व्यवस्थाका शिक्षक र फरिसीहरूलाई सात धिक्‍कार!
13“धिक्‍कार तिमी, व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, तिमी कपटीहरू! तिमीहरू मानिसको सामुन्‍ने स्वर्गको राज्य बन्द गर्दछौ। तिमीहरू आफू पनि प्रवेश गर्दैनौ, न ता प्रवेश गर्न चाहनेहरूलाई नै प्रवेश गर्न दिन्छौ। 14धिक्‍कार तिमीहरूलाई, व्यवस्थाका शिक्षकहरू र फरिसीहरू हो, तिमी कपटीहरू! तिमीहरू विधवाहरूका घर निलिहाल्दछौ र देखाउनको लागि लामा-लामा प्रार्थना गर्दछौ। यसैले अरूले भन्दा तिमीहरूले धेरै दण्ड पाउनेछौ।#23:14 प्राचीन पा.लि.हरूमा यो पद पाइँदैन
15“धिक्‍कार तिमीहरूलाई, व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, तिमी कपटीहरू! तिमीहरू एकजनालाई आफ्नो धर्ममा ल्याउनलाई जमिन र समुद्र चहार्छौ, अनि ऊ तिमीहरूका धर्ममा आएपछि आफूभन्दा दुई गुणा नरकको छोरो बनाउँछौ।
16“धिक्‍कार तिमीहरूलाई दृष्‍टिविहीन अगुवाहरू! तिमीहरू यसो भन्दछौ, ‘यदि कसैले मन्दिरको शपथ खायो भने यसको कुनै अर्थ हुँदैन; तर यदि कसैले मन्दिरको सुनको शपथ खायो भने त्यो त्यस शपथले बाँधिनेछ।’ 17तिमी दृष्‍टिविहीन मूर्खहरू! कुन महत्त्वपूर्ण हो: सुन कि सुनलाई पवित्र पार्ने मन्दिर? 18तिमीहरू यो पनि भन्दछौ, ‘यदि कसैले वेदीको शपथ खायो भने, यसको अर्थ हुँदैन; तर कसैले त्यसमाथि राखिएको भेटीको शपथ खायो भने, त्यो त्यस शपथले बाँधिनेछ।’ 19तिमी दृष्‍टिविहीन मानिसहरू! कुन महत्त्वपूर्ण हो: भेटी कि भेटीलाई पवित्र पार्ने वेदी? 20यसकारण जसले वेदीको शपथ खान्छ, त्यसले वेदीको अनि त्यसमाथि राखिएको प्रत्येक कुरोकै शपथ खान्छ। 21अनि जसले मन्दिरको शपथ खान्छ, त्यसले मन्दिरको अनि मन्दिरभित्र बास गर्नुहुनेको शपथ खान्छ। 22अनि जसले स्वर्गको शपथ खान्छ, त्यसले परमेश्‍वरको सिंहासनको अनि त्यसमाथि बस्‍नुहुनेको शपथ खान्छ।
23“धिक्‍कार तिमीहरूलाई, व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, तिमी कपटीहरू! तिमीहरू आफ्ना मसलाहरू अर्थात् पुदिना, सुप र जीराका दशांश दिँदछौ, तर तिमीहरूले व्यवस्थाका अझ मुख्य कुराहरू, अर्थात् न्याय, दया र विश्‍वस्तताको अवहेलना गर्दछौ। तिमीहरूले पहिलोको अवहेलना नगरी दोस्रो पनि पालन गर्नुपर्नेथियो। 24तिमी दृष्‍टिविहीन अगुवाहरू! तिमीहरू भुसुना चाल्दछौ, तर ऊँटलाई निलिहाल्दछौ।
25“धिक्‍कार तिमीहरूलाई, व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, तिमी कपटीहरू! तिमीहरू कचौरा र थालको बाहिर सफा गर्दछौ, तर भित्र त लोभ र असंयमले भरिएका हुन्छौ। 26दृष्‍टिविहीन फरिसीहरू! पहिला कचौरा र थालको भित्रपट्टि सफा गर, अनि बाहिर पनि सफा भइहाल्छ।
27“धिक्‍कार तिमीहरूलाई, व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, तिमी कपटीहरू! तिमीहरू सेतो चून लगाइएका चिहानहरू जस्ता छौ, जुन बाहिर त सुन्दर देखिन्छन्, तर भित्र त मरेका मानिसहरूका हाडहरू अनि सबै अशुद्ध थोकहरूले भरिएका हुन्छन्। 28यस्तै प्रकारले तिमीहरू मानिसहरूको अघि धार्मिक देखा पर्दछौ, तर भित्र त कपटीपन र दुष्‍टताले भरिएका छौ।
29“धिक्‍कार तिमीहरूलाई, व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, तिमी कपटीहरू! तिमीहरू अगमवक्‍ताहरूको निम्ति चिहान बनाउँछौ, अनि धर्मीहरूका स्मारकहरू सिँगार्छौ। 30अनि तिमीहरू भन्छौ, ‘यदि हामी हाम्रा पुर्खाहरूको समयमा बाँचेका भए, हामी तिनीहरूले अगमवक्‍ताहरूका रगत बगाएको काममा सहभागी हुनेथिएनौं।’ 31यसरी तिमीहरू अगमवक्‍ताहरूको हत्या गर्नेहरूका सन्तान हौ भनी सहजै आफ्नै विरुद्धमा साक्षी दिन्छौ। 32त्यसकारण तिमीहरूका पुर्खाहरूले सुरु गरेका पापको नाप पूरा गर!
33“हे सर्पहरू हो! साँबे सर्पका बच्‍चाहरू! तिमीहरू नरकको दण्डदेखि कसरी उम्कन्छौ? 34यसकारण म तिमीहरूकहाँ अगमवक्‍ताहरू र बुद्धिमान् मानिसहरू अनि शिक्षकहरू पठाउँछु। तीमध्ये कतिलाई तिमीहरूले मार्नेछौ र क्रूसमा चढाउनेछौ; अरूलाई तिमीहरूले तिमीहरूका सभाहरूमा कोर्रा लगाउनेछौ र एक शहरदेखि अर्को शहरमा खेद्नेछौ। 35यसकारण तिमीहरूमाथि यस पृथ्वीमा बगाइएका धार्मिक रगत अर्थात् धार्मिक हाबिलदेखि लिएर तिमीहरूले मन्दिर अनि वेदीको बीचमा हत्या गरेका बेरेक्याहका छोरा जकरियासम्मको रगत आइपर्नेछ। 36म तिमीहरूलाई साँच्‍चै भन्दछु, यी सबै कुरा यस पुस्तामाथि नै आइपर्नेछन्।
37“ए यरूशलेम, ए यरूशलेम, जसले अगमवक्‍ताहरूलाई मार्दछस्, अनि तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हिर्काउँछौ। मैले कतिपल्ट तेरा बालबच्‍चाहरूलाई एउटी कुखुरीले आफ्ना चल्‍लाहरूलाई पखेटामुनि बटुलेझैं बटुल्न खोजें, तर तिमीहरू राजी भएनौ। 38हेर्, तेरो घर तेरो निम्ति उजाड पारेर छोडिएको छ। 39म तँलाई भन्दछु, तैंले ‘प्रभुको नाउँमा आउनुहुने धन्यका हुनुहुन्छ’ भनी नभनेसम्म, तैंले मलाई फेरि देख्नेछैनस्।”#23:39 भजन 118:26

अहिले सेलेक्ट गरिएको:

मत्ती 23: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्