“धिक्कार तिमीहरूलाई, व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, तिमी कपटीहरू! तिमीहरू आफ्ना मसलाहरू अर्थात् पुदिना, सुप र जीराका दशांश दिँदछौ, तर तिमीहरूले व्यवस्थाका अझ मुख्य कुराहरू, अर्थात् न्याय, दया र विश्वस्तताको अवहेलना गर्दछौ। तिमीहरूले पहिलोको अवहेलना नगरी दोस्रो पनि पालन गर्नुपर्नेथियो। तिमी दृष्टिविहीन अगुवाहरू! तिमीहरू भुसुना चाल्दछौ, तर ऊँटलाई निलिहाल्दछौ।
“धिक्कार तिमीहरूलाई, व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, तिमी कपटीहरू! तिमीहरू कचौरा र थालको बाहिर सफा गर्दछौ, तर भित्र त लोभ र असंयमले भरिएका हुन्छौ। दृष्टिविहीन फरिसीहरू! पहिला कचौरा र थालको भित्रपट्टि सफा गर, अनि बाहिर पनि सफा भइहाल्छ।
“धिक्कार तिमीहरूलाई, व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, तिमी कपटीहरू! तिमीहरू सेतो चून लगाइएका चिहानहरू जस्ता छौ, जुन बाहिर त सुन्दर देखिन्छन्, तर भित्र त मरेका मानिसहरूका हाडहरू अनि सबै अशुद्ध थोकहरूले भरिएका हुन्छन्। यस्तै प्रकारले तिमीहरू मानिसहरूको अघि धार्मिक देखा पर्दछौ, तर भित्र त कपटीपन र दुष्टताले भरिएका छौ।
“धिक्कार तिमीहरूलाई, व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, तिमी कपटीहरू! तिमीहरू अगमवक्ताहरूको निम्ति चिहान बनाउँछौ, अनि धर्मीहरूका स्मारकहरू सिँगार्छौ। अनि तिमीहरू भन्छौ, ‘यदि हामी हाम्रा पुर्खाहरूको समयमा बाँचेका भए, हामी तिनीहरूले अगमवक्ताहरूका रगत बगाएको काममा सहभागी हुनेथिएनौं।’ यसरी तिमीहरू अगमवक्ताहरूको हत्या गर्नेहरूका सन्तान हौ भनी सहजै आफ्नै विरुद्धमा साक्षी दिन्छौ। त्यसकारण तिमीहरूका पुर्खाहरूले सुरु गरेका पापको नाप पूरा गर!
“हे सर्पहरू हो! साँबे सर्पका बच्चाहरू! तिमीहरू नरकको दण्डदेखि कसरी उम्कन्छौ? यसकारण म तिमीहरूकहाँ अगमवक्ताहरू र बुद्धिमान् मानिसहरू अनि शिक्षकहरू पठाउँछु। तीमध्ये कतिलाई तिमीहरूले मार्नेछौ र क्रूसमा चढाउनेछौ; अरूलाई तिमीहरूले तिमीहरूका सभाहरूमा कोर्रा लगाउनेछौ र एक शहरदेखि अर्को शहरमा खेद्नेछौ। यसकारण तिमीहरूमाथि यस पृथ्वीमा बगाइएका धार्मिक रगत अर्थात् धार्मिक हाबिलदेखि लिएर तिमीहरूले मन्दिर अनि वेदीको बीचमा हत्या गरेका बेरेक्याहका छोरा जकरियासम्मको रगत आइपर्नेछ। म तिमीहरूलाई साँच्चै भन्दछु, यी सबै कुरा यस पुस्तामाथि नै आइपर्नेछन्।
“ए यरूशलेम, ए यरूशलेम, जसले अगमवक्ताहरूलाई मार्दछस्, अनि तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हिर्काउँछौ। मैले कतिपल्ट तेरा बालबच्चाहरूलाई एउटी कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुलेझैं बटुल्न खोजें, तर तिमीहरू राजी भएनौ। हेर्, तेरो घर तेरो निम्ति उजाड पारेर छोडिएको छ। म तँलाई भन्दछु, तैंले ‘प्रभुको नाउँमा आउनुहुने धन्यका हुनुहुन्छ’ भनी नभनेसम्म, तैंले मलाई फेरि देख्नेछैनस्।”