“ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्कार छ! तिमीहरू आफ्ना मसलाहरू अर्थात् पुदिना, सुँप र जीराका दशांश दिन्छौ, तर तिमीहरूले व्यवस्थाका अझ मुख्य कुराहरू अर्थात् न्याय, दया र विश्वासयोग्यताको अवहेलना गर्दछौ। तिमीहरूले पहिलोको अवहेलना नगरी दोस्रोको पनि पालन गर्नुपर्नेथियो। तिमी दृष्टिविहीन अगुवाहरू! तिमीहरू भुसुना चाल्दछौ, तर ऊँटलाई निलिहाल्दछौ।
“ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्कार छ! तिमीहरू कचौरा र थालको बाहिर सफा गर्दछौ, तर भित्र त लोभ र असंयमले भरिएका हुन्छौ। ए दृष्टिविहीन फरिसीहरू! पहिला कचौरा र थालको भित्रपट्टि सफा गर, तब बाहिरपट्टि पनि सफा हुनेछ।
“ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्कार छ! तिमीहरू सेतो चून लगाइएका चिहानहरूजस्ता छौ, जुन बाहिर त सुन्दर देखिन्छन्, तर भित्र त मरेका मानिसहरूका हाडहरू र सबै अशुद्धताले भरिएका हुन्छन्। यही प्रकारले तिमीहरू मानिसहरूका सामु धर्मी देखा पर्दछौ, तर भित्र भने कपटीपन र दुष्टताले भरिएका छौ।
“ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्कार छ! तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ र धर्मीहरूका स्मारकहरू सिँगार्छौ। र भन्छौ, ‘यदि हामी हाम्रा पुर्खाहरूको समयमा बाँचेका भए हामी तिनीहरूले अगमवक्ताहरूको रगत बगाउनमा सहभागी हुनेथिएनौँ।’ यसरी तिमीहरू अगमवक्ताहरूको हत्या गर्नेहरूका सन्तान हौ भनी आफ्नै विरुद्धमा साक्षी दिन्छौ। त्यसकारण तिमीहरूका पुर्खाहरूले सुरु गरेका पापको नाप पूरा गर!
“हे सर्पहरू हो! साँबे सर्पका बच्चाहरू हो! तिमीहरू नरकको दण्डबाट कसरी उम्कन्छौ? यसकारण म तिमीहरूकहाँ अगमवक्ताहरू र बुद्धिमान् मानिसहरू, र शिक्षकहरू पठाउँदैछु। तीमध्ये कतिलाई तिमीहरूले मार्नेछौ र क्रूसमा चढाउनेछौ; अरूलाई तिमीहरूले तिमीहरूका सभाहरूमा कोर्रा लगाउनेछौ; र एक सहरदेखि अर्को सहरमा खेद्नेछौ। यसकारण तिमीहरूमाथि यस पृथ्वीमा बगाइएका धर्मी रगत अर्थात् धर्मी हाबिलदेखि लिएर तिमीहरूले मन्दिर र वेदीको बीचमा हत्या गरेका बेरेक्याहका छोरा जकरियाको रगतसम्म आइपर्नेछ। म तिमीहरूलाई साँच्चै भन्दछु, यी सबै कुरा यस पुस्तामाथि नै आइपर्नेछन्।
“ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्ताहरूलाई मार्छस्, र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्। मैले कति पल्ट तेरा बालबच्चाहरूलाई एउटी कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुलेझैँ बटुल्न खोजेँ, तर तँ राजी भइनस्। हेर्, तेरो घर तेरो निम्ति उजाड पारेर छोडिएको छ। म तँलाई भन्दछु, तैँले ‘प्रभुको नाममा आउनुहुने धन्यका हुनुहुन्छ’ नभनेसम्म, तैँले मलाई फेरि देख्नेछैनस्।”