YouVersion लोगो
खोज आइकन

मत्ती 23:13-33

मत्ती 23:13-33 NCV

“धिक्‍कार तिमी, व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, तिमी कपटीहरू! तिमीहरू मानिसको सामुन्‍ने स्वर्गको राज्य बन्द गर्दछौ। तिमीहरू आफू पनि प्रवेश गर्दैनौ, न ता प्रवेश गर्न चाहनेहरूलाई नै प्रवेश गर्न दिन्छौ। धिक्‍कार तिमीहरूलाई, व्यवस्थाका शिक्षकहरू र फरिसीहरू हो, तिमी कपटीहरू! तिमीहरू विधवाहरूका घर निलिहाल्दछौ र देखाउनको लागि लामा-लामा प्रार्थना गर्दछौ। यसैले अरूले भन्दा तिमीहरूले धेरै दण्ड पाउनेछौ। “धिक्‍कार तिमीहरूलाई, व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, तिमी कपटीहरू! तिमीहरू एकजनालाई आफ्नो धर्ममा ल्याउनलाई जमिन र समुद्र चहार्छौ, अनि ऊ तिमीहरूका धर्ममा आएपछि आफूभन्दा दुई गुणा नरकको छोरो बनाउँछौ। “धिक्‍कार तिमीहरूलाई दृष्‍टिविहीन अगुवाहरू! तिमीहरू यसो भन्दछौ, ‘यदि कसैले मन्दिरको शपथ खायो भने यसको कुनै अर्थ हुँदैन; तर यदि कसैले मन्दिरको सुनको शपथ खायो भने त्यो त्यस शपथले बाँधिनेछ।’ तिमी दृष्‍टिविहीन मूर्खहरू! कुन महत्त्वपूर्ण हो: सुन कि सुनलाई पवित्र पार्ने मन्दिर? तिमीहरू यो पनि भन्दछौ, ‘यदि कसैले वेदीको शपथ खायो भने, यसको अर्थ हुँदैन; तर कसैले त्यसमाथि राखिएको भेटीको शपथ खायो भने, त्यो त्यस शपथले बाँधिनेछ।’ तिमी दृष्‍टिविहीन मानिसहरू! कुन महत्त्वपूर्ण हो: भेटी कि भेटीलाई पवित्र पार्ने वेदी? यसकारण जसले वेदीको शपथ खान्छ, त्यसले वेदीको अनि त्यसमाथि राखिएको प्रत्येक कुरोकै शपथ खान्छ। अनि जसले मन्दिरको शपथ खान्छ, त्यसले मन्दिरको अनि मन्दिरभित्र बास गर्नुहुनेको शपथ खान्छ। अनि जसले स्वर्गको शपथ खान्छ, त्यसले परमेश्‍वरको सिंहासनको अनि त्यसमाथि बस्‍नुहुनेको शपथ खान्छ। “धिक्‍कार तिमीहरूलाई, व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, तिमी कपटीहरू! तिमीहरू आफ्ना मसलाहरू अर्थात् पुदिना, सुप र जीराका दशांश दिँदछौ, तर तिमीहरूले व्यवस्थाका अझ मुख्य कुराहरू, अर्थात् न्याय, दया र विश्‍वस्तताको अवहेलना गर्दछौ। तिमीहरूले पहिलोको अवहेलना नगरी दोस्रो पनि पालन गर्नुपर्नेथियो। तिमी दृष्‍टिविहीन अगुवाहरू! तिमीहरू भुसुना चाल्दछौ, तर ऊँटलाई निलिहाल्दछौ। “धिक्‍कार तिमीहरूलाई, व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, तिमी कपटीहरू! तिमीहरू कचौरा र थालको बाहिर सफा गर्दछौ, तर भित्र त लोभ र असंयमले भरिएका हुन्छौ। दृष्‍टिविहीन फरिसीहरू! पहिला कचौरा र थालको भित्रपट्टि सफा गर, अनि बाहिर पनि सफा भइहाल्छ। “धिक्‍कार तिमीहरूलाई, व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, तिमी कपटीहरू! तिमीहरू सेतो चून लगाइएका चिहानहरू जस्ता छौ, जुन बाहिर त सुन्दर देखिन्छन्, तर भित्र त मरेका मानिसहरूका हाडहरू अनि सबै अशुद्ध थोकहरूले भरिएका हुन्छन्। यस्तै प्रकारले तिमीहरू मानिसहरूको अघि धार्मिक देखा पर्दछौ, तर भित्र त कपटीपन र दुष्‍टताले भरिएका छौ। “धिक्‍कार तिमीहरूलाई, व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, तिमी कपटीहरू! तिमीहरू अगमवक्‍ताहरूको निम्ति चिहान बनाउँछौ, अनि धर्मीहरूका स्मारकहरू सिँगार्छौ। अनि तिमीहरू भन्छौ, ‘यदि हामी हाम्रा पुर्खाहरूको समयमा बाँचेका भए, हामी तिनीहरूले अगमवक्‍ताहरूका रगत बगाएको काममा सहभागी हुनेथिएनौं।’ यसरी तिमीहरू अगमवक्‍ताहरूको हत्या गर्नेहरूका सन्तान हौ भनी सहजै आफ्नै विरुद्धमा साक्षी दिन्छौ। त्यसकारण तिमीहरूका पुर्खाहरूले सुरु गरेका पापको नाप पूरा गर! “हे सर्पहरू हो! साँबे सर्पका बच्‍चाहरू! तिमीहरू नरकको दण्डदेखि कसरी उम्कन्छौ?

मत्ती 23 पढ्नुहोस्

मत्ती 23:13-33 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति