मत्ती 22
22
विवाहको भोजको दृष्टान्त
1येशूले फेरि तिनीहरूसित दृष्टान्तहरूमा बोल्दै यसो भन्नुभयो: 2“स्वर्गको राज्य एउटा राजाजस्तो हो, जसले आफ्नो पुत्रको विवाहको लागि एउटा भोज तयार गरे। 3तिनले आफ्ना सेवकहरूलाई भोजमा निम्तो पाएकाहरूलाई बोलाउन पठाए, तर तिनीहरूले आउन अस्वीकार गरे।
4“तब तिनले अझ बढी सेवकहरू पठाएर भने, ‘ती निम्त्याइएकाहरूलाई मैले मेरो भोज तयार पारेको छु भन: मोटा-मोटा पशुहरू मारेर व्यञ्जन तयार गरिएको छ, अनि सबै थोक तयार छन्। विवाहको भोजमा आओ’ भन।
5“तर ती कसैले पनि ध्यान दिएनन्, अनि एकजना खेततिर, अर्को व्यापारतिर गइहाले। 6अरू रहेकाहरूले चाहिँ तिनका सेवकहरूलाई पक्रे, दुर्व्यवहार गरे अनि मारे। 7राजा अति रिसाए। तिनले आफ्ना सेना पठाइकन ती हत्याराहरूलाई नष्ट पारिदिए, अनि तिनीहरूका शहरहरू जलाइदिए।
8“तब तिनले आफ्ना सेवकहरूलाई भने, ‘विवाहको भोज त तयार छ, तर ती निम्त्याइएकाहरू आउने योग्य ठहरिएनन्। 9सडकका कुनाहरूतिर जाओ, अनि जसलाई भेट्टाए पनि भोजमा आउने निम्तो देओ।’ 10यसकारण ती सेवकहरू सडकतिर गए, अनि के असल के खराब, भेटेजति सबै मानिसहरूलाई जम्मा गरेर ल्याए, अनि विवाहको घर पाहुनाहरूले भरियो।
11“तर जब राजा ती पाहुनाहरूलाई हेर्न भित्र आए, तिनले त्यहाँ विवाहको वस्त्र नलाएको एकजना मानिसलाई देखे। 12तिनले सोधे, ‘साथी, तिमी विवाहको वस्त्रविना कसरी भित्र आयौ?’ त्यो मानिस निरुत्तर भयो।
13“तब राजाले कर्मचारीहरूलाई भने, ‘यसका हात खुट्टा बाँधेर बाहिर अँध्यारोमा फ्याँकिदेओ, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।’
14“किनकि बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन्।”
सिजरलाई कर तिर्ने कुरा
15त्यसपछि फरिसीहरू बाहिर गइहाले अनि येशूलाई उहाँकै कुरामा कसरी फसाऔं भनेर योजना बनाए। 16तिनीहरूले आफ्ना चेलाहरूलाई हेरोदीहरूसित उहाँकहाँ पठाए। तिनीहरूले भने, “हे गुरु, तपाईं इमानदार मानिस हुनुहुन्छ भनी हामी जान्दछौं कि, तपाईंले साँचो गरी परमेश्वरका मार्ग सिकाउनुहुन्छ। तपाईं मानिसहरूद्वारा बहकाइनुहुन्न, किनकि तिनीहरू को हुन् भनी तपाईं ध्यान दिनुहुन्न। 17हामीलाई तपाईंको विचार भन्नुहोस्। सिजरलाई कर तिर्नु उचित छ कि छैन?”
18येशूले तिनीहरूका दुष्ट अभिप्राय जानेर भन्नुभयो, “तिमी कपटीहरू, किन मलाई फसाउने कोसिस गर्दैछौ? 19कर तिर्दा प्रयोग गर्ने सिक्का मलाई देखाओ।” तिनीहरूले उहाँकहाँ एउटा दिनार ल्याए। 20अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो चित्र कसको हो? अनि यो छाप कसको हो?”
21“सिजरको,” तिनीहरूले जवाफ दिए।
तब उहाँले तिनीहरूलाई भन्नुभयो, “जे सिजरको हो, त्यो सिजरलाई देओ, र जे परमेश्वरको हो, त्यो परमेश्वरलाई देओ।”
22जब तिनीहरूले यो सुने, तिनीहरू छक्क परे। अनि तिनीहरूले उहाँलाई छोडेर गइहाले।
पुनर्जीवन र विवाह
23त्यही दिन, पुनर्जीवन हुँदैन भन्ने सदुकीहरू उहाँकहाँ एउटा प्रश्न लिएर आए। 24तिनीहरूले भने, “हे गुरु, मोशाले हामीलाई भने कि, यदि कुनै मानिस बालबच्चा नभईकन मर्यो भने उसको भाइले त्यस विधवालाई विवाह गरेर उसको लागि बालबच्चा जन्माउनुपर्छ। 25अब हामीहरू बीच सात भाइ थिए। पहिलोले विवाह गर्यो, तर ऊ मर्यो, अनि उसका बालबच्चा नभएकोले उसले आफ्नी स्वास्नीलाई आफ्नो भाइको निम्ति छोड्नुपर्यो। 26त्यही घटना दोस्रो भाइसित, तेस्रो भाइसित अनि सातौंसम्म नै घट्यो। 27अन्त्यमा त्यो स्त्री पनि मरी। 28अब पुनर्जीवनमा त्यो स्त्री सातजनामा कसकी पत्नी हुनेछे, किनकि ती सबैको त्यससँग विवाह भएको थियो?”
29येशूले जवाफ दिनुभयो, “तिमीहरू धर्मशास्त्र अथवा परमेश्वरको शक्तिलाई नजानेकाले भ्रममा छौ। 30पुनर्जीवनमा मानिसहरू न विवाह गर्छन् न ता विवाहमा दिइन्छन्: तिनीहरू स्वर्गमा भएका दूतहरूजस्ता हुनेछन्। 31तर मरेकाहरूको पुनर्जीवनको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नुभएको छ, के तिमीहरूले पढेका छैनौ? 32‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर, अनि याकोबका परमेश्वर हुँ।’#22:32 प्रस 3:6 उहाँ मरेकाहरूको परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ।”
33जब भीडहरूले यो सुने, तिनीहरू उहाँका शिक्षामा छक्क परे।
सबैभन्दा महान् आज्ञा
34येशूले सदुकीहरूलाई चूप बनाइदिनुभयो भनेको सुनेर फरिसीहरू एकसाथ भेला भए। 35तीमध्ये एकजना व्यवस्थाका विशेषज्ञले यो प्रश्न गरेर उहाँलाई जाँच गर्यो: 36“हे गुरु, व्यवस्थामा कुनचाहिँ सबैभन्दा महान् आज्ञा हो?”
37येशूले जवाफ दिनुभयो: “ ‘तिमीले प्रभु आफ्ना परमेश्वरलाई आफ्नो सम्पूर्ण हृदयले अनि आफ्नो सम्पूर्ण प्राणले अनि आफ्नो सम्पूर्ण मनले प्रेम गर।’#22:37 व्यव 6:5 38यो पहिलो अनि सबैभन्दा महान् आज्ञा हो। 39अनि दोस्रो उत्तिकै महत्त्वपूर्ण छ: ‘तिमीहरूका छिमेकीलाई आफूलाई झैं प्रेम गर।’#22:39 लेवी 19:18 40सबै व्यवस्था र अगमवक्ताहरू यी दुई आज्ञाहरूमा नै आधारित छन्।”
ख्रीष्ट कसका पुत्र हुन्?
41जब फरिसीहरू एकसाथ भेला भएका थिए, येशूले तिनीहरूलाई सोध्नुभयो, 42“तिमीहरू ख्रीष्टको विषयमा के विचार गर्छौ? ऊ कसको पुत्र हो?”
तिनीहरूले जवाफ दिए, “दाविदका पुत्र।”
43उहाँले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए दाविदले आत्माद्वारा बोल्दैगर्दा उहाँलाई कसरी ‘प्रभु’ भने? किनकि तिनी भन्छन्,
44“ ‘प्रभुले मेरा प्रभुलाई भन्नुभयो:
“जबसम्म म तिम्रा शत्रुहरूलाई
तिम्रो पाउमुनि राख्दिनँ,
तबसम्म तिमी मेरा दाहिने हाततिर बस।” ’#22:44 भजन 110:1
45यदि दाविदले उहाँलाई ‘प्रभु’ भन्छन् भने, उहाँ कसरी तिनका पुत्र हुन सक्छन्?” 46यसको जवाफमा कसैले एक शब्द पनि भन्न सकेन, अनि त्यस दिनदेखि कसैले पनि उहाँलाई अरू प्रश्न सोध्ने आँट गरेन।
अहिले सेलेक्ट गरिएको:
मत्ती 22: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.