YouVersion लोगो
खोज आइकन

मत्ती 22:1-22

मत्ती 22:1-22 NCV

येशूले फेरि तिनीहरूसित दृष्‍टान्तहरूमा बोल्दै यसो भन्‍नुभयो: “स्वर्गको राज्य एउटा राजाजस्तो हो, जसले आफ्ना पुत्रका विवाहको लागि एउटा भोज तयार गरे। तिनले आफ्ना सेवकहरूलाई भोजमा निम्तो पाएकाहरूलाई बोलाउन पठाए; तर तिनीहरूले आउन अस्वीकार गरे। “तब तिनले अझ बढी सेवकहरू पठाए र भने, ‘ती निम्ता गरिएकाहरूलाई मैले मेरो भोज तयार पारेको छु भनी भन: मोटा-मोटा पशुहरू मारेर व्यञ्जन तयार गरिएका छन्; अनि सबै थोक तयार छन्। विवाहको भोजमा आओ।’ “तर ती कसैले पनि ध्यान दिएनन्; अनि एउटा आफ्नो खेततिर र अर्कोचाहिँ आफ्नो व्यापारतिर गइहाले। अरू बाँकी रहेकाहरूले चाहिँ तिनका सेवकहरूलाई पक्रे, दुर्व्यवहार गरे र मारे। राजा अति रिसाए, र तिनले आफ्ना सेनाहरू पठाए, र ती हत्याराहरूलाई नाश पारिदिए, र तिनीहरूका सहरहरू जलाइदिए। “तब तिनले आफ्ना सेवकहरूलाई भने, ‘विवाहको भोज त तयार छ, तर ती निम्त्याइएकाहरू आउन योग्यका ठहरिएनन्। यसकारण सडकका कुनाहरूतिर जाओ, र जसलाई भेट्टाउँछौ, त्यसलाई भोजमा आउन निम्तो देओ।’ यसकारण ती सेवकहरू सडकतिर गए, र के असल के खराब, भेटेजति सबै मानिसहरूलाई जम्मा गरेर ल्याए; अनि विवाहको घर पाहुनाहरूले भरियो। “तर जब राजा ती पाहुनाहरूलाई हेर्न भित्र आए, त्यहाँ तिनले विवाहको वस्त्र नलाएको एक जना मानिसलाई देखे। तिनले सोधे, ‘ए साथी, तिमी विवाहको वस्त्रविना कसरी भित्र आयौ?’ त्यो मानिस निरुत्तर भयो। “तब राजाले कर्मचारीहरूलाई भने, ‘यसका हातखुट्टा बाँधेर बाहिर अँध्यारोमा फ्याँकिदेओ, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।’ “किनकि बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन्।” त्यसपछि फरिसीहरू बाहिर गइहाले र येशूलाई उहाँकै कुरामा कसरी फसाऔँ भनेर योजना बनाए। तिनीहरूले आफ्ना चेलाहरूलाई हेरोदीहरूसित उहाँकहाँ पठाए। तिनीहरूले भने, “हे गुरु, तपाईं इमानदार मानिस हुनुहुन्छ भनी हामी जान्दछौँ, र तपाईंले साँचो गरी परमेश्‍वरका मार्ग सिकाउनुहुन्छ। तपाईं मानिसहरूद्वारा बहकाइनुहुन्‍न; किनकि तिनीहरू को हुन् भनी तपाईं ध्यान दिनुहुन्‍न। तब हामीलाई तपाईंको विचार भन्‍नुहोस्। सिजरलाई कर तिर्नु उचित छ कि छैन?” येशूले तिनीहरूका दुष्‍ट अभिप्राय जानेर भन्‍नुभयो, “ए कपटीहरू हो, किन मलाई फसाउने कोसिस गर्दैछौ? कर तिर्दा प्रयोग गरिने सिक्‍का मलाई देखाओ।” तिनीहरूले उहाँकहाँ एउटा दिनार ल्याए। अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो चित्र कसको हो? र यो छाप कसको हो?” “सिजरको,” तिनीहरूले जवाफ दिए। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जे कुरा सिजरको हो, त्यो सिजरलाई देओ, र जे कुरा परमेश्‍वरको हो, त्यो परमेश्‍वरलाई देओ।” जब तिनीहरूले यो सुने, तिनीहरू छक्‍क परे, र उहाँलाई छोडेर गइहाले।

मत्ती 22 पढ्नुहोस्