YouVersion लोगो
खोज आइकन

मत्ती 22:1-22

मत्ती 22:1-22 NNRV

येशूले फेरि तिनीहरूलाई दृष्‍टान्‍तहरूमा भन्‍नुभयो, “स्‍वर्गको राज्‍यलाई एक जना राजासँग तुलना गर्न सकिन्‍छ, जसले आफ्‍नो छोराको विवाह-भोज तयार गरे, र भोजमा निमन्‍त्रित व्‍यक्तिहरू बोलाउन भनी आफ्‍ना नोकरहरू पठाए, तर तिनीहरूले आउन मन गरेनन्‌। “फेरि तिनले अरू नोकरहरूलाई यसो भनेर पठाए, “निमन्‍त्रित व्‍यक्तिहरूलाई भन, हेर, मैले मेरो भोज तयार गरेको छु, मेरा गोरुहरू र मोटा-मोटा पशुहरू मारिएका छन्, र सब चीजहरू तयार छन्‌। विवाह-भोजमा आउनुहोस्‌।’ “तर तिनीहरूले वास्‍तै नगरी एउटा आफ्‍नो खेतबारीतिर, अर्को आफ्‍नो व्‍यापारतिर लागे। बाँकीचाहिँले तिनका नोकरहरूलाई पक्रेर तिनीहरूसँग दुर्व्‍यवहार गरे र तिनीहरूलाई मारे। तब राजा क्रोधित भए, र आफ्‍ना फौजहरू पठाईकन ती हत्‍याराहरूलाई नाश गरे, र तिनीहरूको सहर जलाइदिए। “तब तिनले आफ्‍ना नोकरहरूलाई भने, ‘विवाह-भोज तयार छ, तर निम्‍त्‍याइएकाहरू योग्‍य भएनन्‌। यसकारण तिमीहरू सड़कहरूमा जाओ, र जतिलाई भेट्टाउँछौ तिनीहरूलाई विवाह-भोजमा निम्‍तो देओ।’ तब ती नोकरहरूले सड़कहरूमा गएर भेट्टाएका सबैलाई, दुष्‍ट र असल दुवैलाई, जम्‍मा गरे, र विवाह-घर पाहुनाहरूले भरियो। “तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, तब तिनले विवाहको पोशाक नलगाएको एक जना मानिसलाई देखे। तिनले त्‍यसलाई सोधे, ‘मित्र, विवाहको पोशाक नपहिरी तपाईं कसरी यहाँ भित्र आउनुभयो?’ त्‍यो निरुत्तर भयो। “तब राजाले सेवकहरूलाई भने, ‘त्‍यसका हात-खुट्टा बाँधेर त्‍यसलाई बाहिरी अन्‍धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।’ किनभने बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन्‌।” तब फरिसीहरू गएर उहाँकै कुरामा उहाँलाई कसरी फसाउने भनी मतो गरे। तिनीहरूले आफ्‍ना चेलाहरूलाई हेरोदी दलका मानिसहरूसँग उहाँकहाँ पठाए। तिनीहरूले भने, “हे गुरुज्‍यू, हामी जान्‍दछौं, तपाईं सत्‍य हुनुहुन्‍छ, र परमेश्‍वरको मार्ग साँचो गरी सिकाउनुहुन्‍छ, र तपाईं कसैको भय मान्‍नुहुन्‍न, किनकि तपाईं मानिसहरूका मुख हेरेर काम गर्नुहुन्‍न। यसकारण हामीलाई भन्‍नुहोस्, कैसरलाई कर तिर्नु उचित हो कि होइन?” तर येशूले तिनीहरूको धूर्तता थाहा पाएर भन्‍नुभयो, “ढोंगी हो, तिमीहरू मलाई किन जाँच्‍दछौ? कर तिर्ने सिक्‍का मलाई देखाओ।” अनि तिनीहरूले उहाँकहाँ एउटा सिक्‍का ल्‍याए। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो चित्र कसको हो, अनि कसको नाउँ खोपिएको छ?” तिनीहरूले उहाँलाई भने, “कैसरको।” तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसकारण जे कैसरका हुन्, ती कैसरलाई देओ, र जे परमेश्‍वरका हुन्‌ ती परमेश्‍वरलाई देओ।” यो सुनेर तिनीहरू चकित भए, र उहाँलाई छोड़ेर गइहाले।