येशूले फेरि तिनीहरूसित दृष्टान्तहरूमा बोल्दै यसो भन्नुभयो: “स्वर्गको राज्य एउटा राजाजस्तो हो, जसले आफ्नो पुत्रको विवाहको लागि एउटा भोज तयार गरे। तिनले आफ्ना सेवकहरूलाई भोजमा निम्तो पाएकाहरूलाई बोलाउन पठाए, तर तिनीहरूले आउन अस्वीकार गरे।
“तब तिनले अझ बढी सेवकहरू पठाएर भने, ‘ती निम्त्याइएकाहरूलाई मैले मेरो भोज तयार पारेको छु भन: मोटा-मोटा पशुहरू मारेर व्यञ्जन तयार गरिएको छ, अनि सबै थोक तयार छन्। विवाहको भोजमा आओ’ भन।
“तर ती कसैले पनि ध्यान दिएनन्, अनि एकजना खेततिर, अर्को व्यापारतिर गइहाले। अरू रहेकाहरूले चाहिँ तिनका सेवकहरूलाई पक्रे, दुर्व्यवहार गरे अनि मारे। राजा अति रिसाए। तिनले आफ्ना सेना पठाइकन ती हत्याराहरूलाई नष्ट पारिदिए, अनि तिनीहरूका शहरहरू जलाइदिए।
“तब तिनले आफ्ना सेवकहरूलाई भने, ‘विवाहको भोज त तयार छ, तर ती निम्त्याइएकाहरू आउने योग्य ठहरिएनन्। सडकका कुनाहरूतिर जाओ, अनि जसलाई भेट्टाए पनि भोजमा आउने निम्तो देओ।’ यसकारण ती सेवकहरू सडकतिर गए, अनि के असल के खराब, भेटेजति सबै मानिसहरूलाई जम्मा गरेर ल्याए, अनि विवाहको घर पाहुनाहरूले भरियो।
“तर जब राजा ती पाहुनाहरूलाई हेर्न भित्र आए, तिनले त्यहाँ विवाहको वस्त्र नलाएको एकजना मानिसलाई देखे। तिनले सोधे, ‘साथी, तिमी विवाहको वस्त्रविना कसरी भित्र आयौ?’ त्यो मानिस निरुत्तर भयो।
“तब राजाले कर्मचारीहरूलाई भने, ‘यसका हात खुट्टा बाँधेर बाहिर अँध्यारोमा फ्याँकिदेओ, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।’
“किनकि बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन्।”
त्यसपछि फरिसीहरू बाहिर गइहाले अनि येशूलाई उहाँकै कुरामा कसरी फसाऔं भनेर योजना बनाए। तिनीहरूले आफ्ना चेलाहरूलाई हेरोदीहरूसित उहाँकहाँ पठाए। तिनीहरूले भने, “हे गुरु, तपाईं इमानदार मानिस हुनुहुन्छ भनी हामी जान्दछौं कि, तपाईंले साँचो गरी परमेश्वरका मार्ग सिकाउनुहुन्छ। तपाईं मानिसहरूद्वारा बहकाइनुहुन्न, किनकि तिनीहरू को हुन् भनी तपाईं ध्यान दिनुहुन्न। हामीलाई तपाईंको विचार भन्नुहोस्। सिजरलाई कर तिर्नु उचित छ कि छैन?”
येशूले तिनीहरूका दुष्ट अभिप्राय जानेर भन्नुभयो, “तिमी कपटीहरू, किन मलाई फसाउने कोसिस गर्दैछौ? कर तिर्दा प्रयोग गर्ने सिक्का मलाई देखाओ।” तिनीहरूले उहाँकहाँ एउटा दिनार ल्याए। अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो चित्र कसको हो? अनि यो छाप कसको हो?”
“सिजरको,” तिनीहरूले जवाफ दिए।
तब उहाँले तिनीहरूलाई भन्नुभयो, “जे सिजरको हो, त्यो सिजरलाई देओ, र जे परमेश्वरको हो, त्यो परमेश्वरलाई देओ।”
जब तिनीहरूले यो सुने, तिनीहरू छक्क परे। अनि तिनीहरूले उहाँलाई छोडेर गइहाले।