YouVersion लोगो
खोज आइकन

मत्ती 19:23-30

मत्ती 19:23-30 NCV

तब येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “म साँच्‍चै भन्दछु, धनी मानिसलाई स्वर्गको राज्यमा पस्‍न कठिन हुन्छ। म फेरि तिमीहरूलाई भन्दछु, कुनै धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा त बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।” जब चेलाहरूले यो सुने, तिनीहरू साह्रै छक्‍क परे र सोधे, “त्यसो भए कसले उद्धार पाउन सक्छ त?” तिनीहरूतिर हेरेर येशूले भन्‍नुभयो, “मानिसहरूको लागि यो असम्भव छ; तर परमेश्‍वरको लागि त सबै कुरा सम्भव छन्।” पत्रुसले उहाँलाई जवाफ दिए, “हामीले तपाईंलाई पछ्याउनलाई सबै कुरा त्यागेका छौं; त्यसो भए हामीले के पाउनेछौ त?” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, सबै कुरा नयाँ तुल्याइसकेपछि, जब मानिसका पुत्र आफ्नो महिमाको सिंहासनमा बस्‍नेछन्, तिमीहरू पनि जसले उनलाई पछ्याएका छौ, इस्राएलका बाह्र कुलका न्याय गर्दै बाह्रओटा सिंहासनहरूमा बस्‍नेछौ। अनि जसले मेरो निम्ति घर वा दाजुभाइ अथवा दिदीबहिनीहरू अथवा बुबाआमा अथवा बालबच्‍चा वा जग्गाजमिन छोडेको छ, त्यसको सय गुणा र अनन्त जीवन पनि पाउनेछ। तर धेरै जो पहिला छन्, ती पछिल्‍ला हुनेछन्, अनि जो पछिल्‍ला छन्, ती पहिला हुनेछन्।

मत्ती 19 पढ्नुहोस्