YouVersion लोगो
खोज आइकन

मत्ती 17:10-27

मत्ती 17:10-27 NCV

चेलाहरूले उहाँलाई सोधे, “त्यसो भए किन व्यवस्थाका शिक्षकहरू एलिया पहिला आउनुपर्छ भनी भन्छन्?” येशूले उत्तर दिनुभयो, “एलिया साँच्‍चै नै आउँछन्, अनि सबै कुरा पुनर्स्थापन गर्नेछन्। तर म तिमीहरूलाई भन्दछु, एलिया आइसकेका छन्, अनि तिनीहरूले तिनलाई चिन्‍न सकेनन्, तर तिनलाई तिनीहरूले मनपरी व्यवहार गरे। यस्तै किसिमले मानिसका पुत्रले तिनीहरूका हातबाट कष्‍ट भोग्नेछन्।” तब उहाँले बप्‍तिस्मा दिने यूहन्‍नाको विषयमा तिनीहरूलाई भन्‍नुभएको भनी चेलाहरूले बुझे। जब उहाँहरू भीड भएको ठाउँमा आउनुभयो, एकजना मानिसले येशूकहाँ आएर उहाँको सामुन्‍ने घुँडा टेकेर भन्यो, “प्रभु, मेरो छोरामाथि दया गर्नुहोस्। उसलाई छारेरोग लागेको छ, अनि उसले धेरै कष्‍ट पाइरहेछ। ऊ घरी-घरी आगोमा अथवा पानीमा लड्छ। मैले उसलाई तपाईंका चेलाहरूकहाँ ल्याएँ तर तिनीहरूले यसलाई निको पार्न सकेनन्।” येशूले जवाफ दिनुभयो, “ए अविश्‍वासी र भ्रष्‍ट पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहूँला र तिमीहरूलाई सहूँला? त्यस केटोलाई यहाँ मकहाँ ल्याओ।” येशूले त्यस भूत आत्मालाई हप्काउनुभयो, अनि त्यो त्यस केटोबाट निस्किएर गयो, अनि त्यो केटो त्यसै घडीदेखि निको भयो। तब चेलाहरू गुप्‍तमा येशूकहाँ आएर सोधे, “हामीले किन त्यसलाई निकाल्न सकेनौं?” उहाँले जवाफ दिनुभयो, “किनकि तिमीहरूमा विश्‍वासको कमी छ। तिमीहरूलाई साँच्‍चै भन्दछु, यदि तिमीहरूमा सानो रायोको दानाजत्रो मात्रै पनि विश्‍वास छ भने तिमीहरूले यस पहाडलाई ‘यहाँबाट त्यहाँ हटिजा’ भन्‍न सक्छौ, अनि त्यो हटिजानेछ। तिमीहरूको लागि कुनै कुरो पनि असम्भव हुनेछैन। तर यस किसिमको चङ्गाइचाहिँ प्रार्थना र उपवासविना हुन सक्दैन।” जब उहाँहरू एकसाथ गालीलमा आउनुभयो, येशूले तिनीहरूलाई भन्‍नुभयो, “मानिसका पुत्रलाई मानिसहरूका हातमा सुम्पिइनेछन्। तिनीहरूले उसलाई मार्नेछन्, अनि तेस्रो दिनमा उहाँ जीवित पारिनुहुनेछ छ।” अनि चेलाहरू अत्यन्तै दुःखी भए। येशू र उहाँका चेलाहरू कफर्नहुममा आएपछि मन्दिरको कर उठाउनेहरूले पत्रुसकहाँ आएर सोधे, “के तिमीहरूका गुरुले मन्दिरको कर तिर्दैनन्?” तिनले जवाफ दिए, “हो, तिर्नुहुन्छ।” जब पत्रुस घरभित्र आए, येशूले पहिला सोधिहाल्नुभयो, “सिमोन तिम्रो के विचार छ, संसारका राजाहरूले आफ्नै छोराहरूबाट कर उठाउँछन् कि अरूबाट?” पत्रुसले जवाफ दिए, “अरूबाट।” येशूले तिनलाई भन्‍नुभयो, “त्यसो भए छोराहरूले त तिर्नु नपर्ने रहेछ। तरै पनि तिनीहरू नचिढिऊन् भनेर, जाऊ अनि तालमा तिम्रो बल्छी हान। तिमीले पक्रेको पहिलो माछा लेऊ; यसको मुख खोल र तिमीले एउटा चाँदीको सिक्‍का पाउनेछौ। त्यो लगेर तिम्रो अनि मेरो कर भनेर तिनीहरूलाई दिइहाल।”

मत्ती 17 पढ्नुहोस्