एक दिन फरिसीहरू र सदुकीहरूले येशूकहाँ आएर उहाँलाई जाँच गर्न, तिनीहरूका लागि स्वर्गबाट एउटा चिन्ह देखाउन मागे।
उहाँले भन्नुभयो, “साँझ हुँदा तिमीहरू ‘मौसम राम्रो हुनेछ; किनकि आकाश रातो छ,’ अनि बिहान ‘आज आँधी आउनेछ; किनकि आकाश रातो छ र बादलले ढाकेको छ,’ भन्छौ। तिमीहरू आकाशको अवस्था हेरेर दिन कस्तो हुनेछ भनी अर्थ लगाउन सक्छौ, तर तिमीहरूले समयको चिन्हहरूबाट बुझ्न सक्दैनौ। दुष्ट र व्यभिचारी पुस्ताले अचम्मको चिन्ह खोज्दछ, तर यसलाई योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन।” त्यसपछि तिनीहरूलाई छोडेर येशू त्यहाँबाट जानुभयो।
जब उहाँहरू तालपारि जानुभयो, चेलाहरूले रोटी लैजान बिर्से। “होसियार!” येशूले तिनीहरूलाई चेतावनी दिनुभयो “फरिसीहरू र सदुकीहरूको खमिरदेखि होसियार रहो।”
तिनीहरूले आपसमा छलफल गरेर भने, “यो त हामीले रोटी ल्याएनौँ भनेर होला।”
तिनीहरूका छलफल थाहा पाएर येशूले सोध्नुभयो, “हे अल्पविश्वासीहरू हो, तिमीहरू रोटी छैन भनेर किन आपसमा कुरा गर्दछौ? तिमीहरू अझै बुझ्दैनौ? पाँच हजारका निम्ति पाँच रोटी थिए, र कति डाला तिमीहरूले बटुल्यौ, त्यो सम्झना गर्दैनौ? अथवा चार हजारका निम्ति सात रोटी थिए, र कति डाला तिमीहरूले बटुल्यौ? मैले रोटीको विषयमा तिमीहरूसित भनिरहेको थिइनँ भनी तिमीहरूले कसरी बुझेनौ? तर तिमीहरू फरिसी र सदुकीहरूको खमिरदेखि होसियार होओ।” तब उहाँले रोटीमा हाल्ने खमिरदेखि होइन, तर फरिसी र सदुकीहरूको शिक्षादेखि होसियार रहनू भन्नुभएको रहेछ भनी तिनीहरूले बुझे।
जब येशू कैसरिया फिलिप्पीका इलाकामा आउनुभयो, तब उहाँले चेलाहरूलाई “मानिसहरूले मानिसको पुत्र को हो भनी भन्छन्?” भनी सोध्नुभयो।
तिनीहरूले जवाफ दिए, “कसैले बप्तिस्मा दिने यूहन्ना, कसैले एलिया भन्छन्; अनि कतिले चाहिँ यर्मिया अथवा अगमवक्ताहरूमध्ये एक हुन् भनी भन्छन्।”
उहाँले सोध्नुभयो, “तर तिमीहरूले नि? तिमीहरूले चाहिँ मलाई को हो भन्छौ त?”
सिमोन पत्रुसले उत्तर दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरका पुत्र।”
येशूले जवाफ दिनुभयो, “योनाका छोरा सिमोन, तिमी धन्य हौ; किनकि यो तिमीलाई मानिसद्वारा होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताद्वारा प्रकट गरिएको हो। म तिमीलाई भन्दछु, तिमी पत्रुस हौ, र म यस चट्टानमाथि मेरो मण्डली स्थापित गर्नेछु; अनि नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन्। म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु: तिमीहरूले पृथ्वीमा जे बाँध्नेछौ, त्यो स्वर्गमा बाँधिनेछ, र तिमीहरूले पृथ्वीमा जे फुकाउनेछौ, त्यो स्वर्गमा फुकाइनेछ।” तब उहाँले आफ्ना चेलाहरूलाई, उहाँ ख्रीष्ट हुनुहुन्छ भनी कसैलाई नभन्नू भनी चेतावनी दिनुभयो।