YouVersion लोगो
खोज आइकन

मत्ती 16:1-20

मत्ती 16:1-20 NNRV

फरिसीहरू र सदुकीहरू आए, र उहाँलाई जाँच गर्न स्‍वर्गबाट एउटा चिन्‍ह देखाइदिने उहाँसँग माग राखे। तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “साँझ परेपछि तिमीहरू भन्‍छौ, ‘भोलि दिन राम्रो हुने रहेछ, किनकि आकाश रातो छ।’ बिहानचाहिँ भन्‍छौ, ‘आकाश रातो र बादलले ढाकेको छ, आज आँधी आउने रहेछ।’ तिमीहरू आकाशको अवस्‍था हेरेर दिन कस्‍तो हुन्‍छ छुट्ट्याउन जान्‍दछौ, तर समयका चिन्‍हको अर्थ खोल्‍न सक्‍दैनौ। दुष्‍ट र व्‍यभिचारी पुस्‍ताले चिन्‍ह खोज्‍दछ, तर योनाको चिन्‍हबाहेक अरू चिन्‍ह त्‍यसलाई दिइनेछैन।” अनि तिनीहरूलाई छोड़ेर उहाँ जानुभयो। चेलाहरू पारिपट्टि आइपुग्‍दा तिनीहरूले रोटी ल्‍याउन बिर्सेछन्‌। येशूले तिनीहरूलाई भन्‍नुभयो, “ध्‍यान देओ, फरिसी र सदुकीहरूको खमिरबाट होशियार रहो।” तिनीहरूले आपसमा बहस गर्न लागे, “हामीहरूले रोटी ल्‍याएनौं, र उहाँले यसो भन्‍नुभएको होला।” येशूले यो थाहा पाएर भन्‍नुभयो, “ए अल्‍पविश्‍वासी हो! तिमीहरूसित रोटी छैन भनेर किन आपसमा बहस गर्छौ? के तिमीहरू अझै बुझ्‍दैनौ? पाँच हजारका निम्‍ति पाँच रोटीको कुरा तिमीहरूलाई अझ याद छैन? तिमीहरूले कति डाला बटुलेका थियौ? अनि चार हजारका निम्‍ति सात रोटी, र कति डाला तिमीहरूले बटुलेका थियौ? मैले तिमीहरूलाई रोटीको विषयमा भनेको होइनँ भनी तिमीहरू किन बुझ्‍दैनौ? तर फरिसी र सदुकीहरूको खमिरबाट होशियार रहो।” तब तिनीहरूले बुझे, कि उहाँले रोटीको खमिरबाट होइन तर फरिसी र सदुकीहरूको शिक्षाबाट होशियार रहनू भन्‍नुभएको रहेछ। येशू कैसरिया फिलिप्‍पीको मुलुकमा आउनुभएपछि, उहाँले आफ्‍ना चेलाहरूलाई सोध्‍नुभयो, “मानिसहरूले मानिसको पुत्रलाई को हो भनी भन्‍छन्‌?” तिनीहरूले जवाफ दिए, “कसैले बप्‍तिस्‍मा-दिने यूहन्‍ना, कसैले एलिया, र कसैले यर्मिया वा अगमवक्ताहरूमध्‍ये कुनै एक जना हुन्‌ भनी भन्‍छन्‌।” उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरू के भन्‍छौ, म को हुँ?” सिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्‍ट हुनुहुन्‍छ, जीवित परमेश्‍वरको पुत्र।” येशूले तिनलाई भन्‍नुभयो, “योनाको छोरो सिमोन, तिमी धन्‍य हौ। किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्‍वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो। म तिमीलाई भन्‍दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्‍डली यस चट्टानमाथि स्‍थापित गर्नेछु, र नरकका ढोकाहरू त्‍यसमाथि विजयी हुनेछैनन्‌। म तिमीलाई स्‍वर्गको राज्‍यका साँचाहरू दिनेछु। जे तिमीले पृथ्‍वीमा बाँध्‍नेछौ, सो स्‍वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्‍वीमा फुकाऔला, सो स्‍वर्गमा फुकाइनेछ।” उहाँ ख्रीष्‍ट हुनुहुन्‍छ भनी कसैलाई नभन्‍नू भनी येशूले चेलाहरूलाई कड़ा आज्ञा दिनुभयो।