जब प्रेरितहरू फर्केर आए, तब आफूले गरेका कामका विषयमा येशूलाई बताए। त्यसपछि उहाँले तिनीहरूलाई आफ्नो साथमा लिई बेथसेदा भन्ने एउटा सहरमा सुटुक्कै जानुभयो। तर भीडले यो कुरा थाहा पाएर उहाँलाई पछ्याए। उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो र परमेश्वरको राज्यको विषयमा सिकाउनुभयो। अनि निको हुन आवश्यक भएका जतिलाई निको पार्नुभयो। दिन ढल्कन थालेपछि बाह्रै जना उहाँकहाँ आएर भने, “भीडलाई बिदा गर्नुहोस्। तिनीहरू छेउछाउका गाउँ र बस्तीहरूतिर गएर खानपान र बास खोजून्, किनकि हामी यहाँ सुनसान ठाउँमा छौँ।” उहाँले भन्नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” तिनीहरूले जवाफ दिए, “गएर भीडका निम्ति खानेकुरा नकिनेसम्म त अहिले हामीसँग केवल पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्।” (त्यहाँ पुरुषहरू मात्र लगभग पाँच हजार जति थिए।) तर उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिनीहरूलाई पचास-पचासको समूहमा बसाओ।” अनि चेलाहरूले त्यसै गरे र सबै जना बसे। ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेरेर, उहाँले धन्यवाद दिनुभयो; अनि रोटी भाँच्नुभयो र मानिसहरूमा बाँडिदिनका लागि चेलाहरूलाई दिनुभयो। तिनीहरू सबैले पेटभरि खाए; अनि चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए। एक पल्ट येशू एकलै प्रार्थना गर्दैहुनुहुन्थ्यो। उहाँका चेलाहरू उहाँसँगै थिए, तब उहाँले तिनीहरूलाई सोध्नुभयो, “मानिसहरूले मलाई, म को हुँ भन्छन्?” तिनीहरूले जवाफ दिए, “कसैले बप्तिस्मा दिने यूहन्ना भन्छन्, कसैले एलिया भन्छन्, अनि कतिले चाहिँ पहिलेका अगमवक्ताहरू मध्येबाट एक जना फेरि उठेर आएका हुन् भनी भन्छन्।” उहाँले सोध्नुभयो, “तर तिमीहरूले नि? तिमीहरूचाहिँ म को हुँ भन्छौ त?” पत्रुसले जवाफ दिए, “परमेश्वरका ख्रीष्ट!” येशूले तिनीहरूलाई यो कुरा कसैलाई नभन्नू भनी कडा आज्ञा दिनुभयो। अनि उहाँले भन्नुभयो, “मानिसको पुत्रले धेरै कष्टहरू सहनुपर्छ। प्रधानहरू, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूबाट तिरस्कृत हुनुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा फेरि जीवित भई उठ्नुपर्छ।” त्यसपछि उहाँले तिनीहरू सबैलाई भन्नुभयो: “यदि कोही मेरो चेला हुन चाहन्छ भने उसले आफैँलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्। किनकि जसले आफ्नो जीवन बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ; तर जसले मेरा निम्ति आफ्नो जीवन गुमाउँछ, त्यसैले त्यो बचाउनेछ।
लूका 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 9:10-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू