लूका 9:10-24
लूका 9:10-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि प्रेरितहरू फर्केर तिनीहरूले गरेका सबै काम उहाँलाई बताए। उहाँले तिनीहरूलाई साथमा लिई बेथसेदा भन्ने सहरमा अलग्गै जानुभयो। तर यो थाहा पाएर भीड़हरू उहाँको पछिपछि लागे। उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो, र परमेश्वरका राज्यको विषयमा सुनाउनुभयो, र जस-जसलाई निको हुन आवश्यकता थियो तिनीहरूलाई निको पार्नुभयो। अब दिन ढल्कन लाग्यो, र बाह्रै जनाले आएर उहाँलाई भने, “भीड़लाई बिदा दिनुहोस्, र तिनीहरू गएर आसपासका बस्ती र गाउँ हुँदो वास बसून्, र भोजनको व्यवस्था गरून्, किनकि यहाँ हामी निर्जन ठाउँमा छौं।” तर उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले नै तिनीहरूलाई खान देओ।” तब तिनीहरूले भने, “हामीहरूसित पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्, नभए हामी गएर यी सबै मानिसका लागि भोजन किन्नुपर्ला। तिनीहरू प्राय: पाँच हजार जति पुरुषहरू थिए। तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिनीहरूलाई पचास-पचासको पंक्तिमा बसाओ।” तिनीहरूले त्यसै गरे, र सबैलाई बसाए। तब उहाँले ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेरी आशीर्वाद दिनुभयो, र भाँचेर मानिसहरूलाई बाँड़िदिनू भनी चेलाहरूलाई दिनुभयो। अनि सबैले खाए, तृप्त भए, र चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डाला उठाए। एक पल्ट येशू एकलै प्रार्थना गरिरहनुभएको थियो, चेलाहरू उहाँसँग थिए, र उहाँले तिनीहरूलाई सोध्नुभयो, “मानिसहरूले मलाई को हो भन्छन्?” तिनीहरूले भने, “कसैले बप्तिस्मा-दिने यूहन्ना भन्छन्, कसैले एलिया, र अरूहरूले भन्छन्, पहिलेका कोही अगमवक्ताहरूमध्ये एक जना फेरि उठेका छन्।” उहाँले तिनीहरूलाई भन्नुभयो, “तर तिमीहरूचाहिँ के भन्छौ? म को हुँ?” तब पत्रुसले जवाफ दिएर भने, “परमेश्वरका ख्रीष्ट!” तब उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो, र साथै चेताउनी दिनुभयो, कि तिनीहरूले यो कुरा कसैलाई नभनून्। अनि उहाँले भन्नुभयो, “मानिसको पुत्रले धेरै दुःख उठाउनुपर्छ, र उनी धर्म-गुरुहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरूबाट बहिष्कृत हुनेछ, मारिनेछ र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नेछ।” तब उहाँले सबैलाई भन्नुभयो, “कोही मपछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो क्रूस बोकेर मेरो पछि लागोस्। किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ। तर जसले मेरो खातिर आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो बचाउनेछ।
लूका 9:10-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब प्रेरितहरू फर्केर आए, तब आफूले गरेका कामका विषयमा येशूलाई बताए। त्यसपछि उहाँले तिनीहरूलाई आफ्नो साथमा लिई बेथसेदा भन्ने एउटा सहरमा सुटुक्कै जानुभयो। तर भीडले यो कुरा थाहा पाएर उहाँलाई पछ्याए। उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो र परमेश्वरको राज्यको विषयमा सिकाउनुभयो। अनि निको हुन आवश्यक भएका जतिलाई निको पार्नुभयो। दिन ढल्कन थालेपछि बाह्रै जना उहाँकहाँ आएर भने, “भीडलाई बिदा गर्नुहोस्। तिनीहरू छेउछाउका गाउँ र बस्तीहरूतिर गएर खानपान र बास खोजून्, किनकि हामी यहाँ सुनसान ठाउँमा छौँ।” उहाँले भन्नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” तिनीहरूले जवाफ दिए, “गएर भीडका निम्ति खानेकुरा नकिनेसम्म त अहिले हामीसँग केवल पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्।” (त्यहाँ पुरुषहरू मात्र लगभग पाँच हजार जति थिए।) तर उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिनीहरूलाई पचास-पचासको समूहमा बसाओ।” अनि चेलाहरूले त्यसै गरे र सबै जना बसे। ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेरेर, उहाँले धन्यवाद दिनुभयो; अनि रोटी भाँच्नुभयो र मानिसहरूमा बाँडिदिनका लागि चेलाहरूलाई दिनुभयो। तिनीहरू सबैले पेटभरि खाए; अनि चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए। एक पल्ट येशू एकलै प्रार्थना गर्दैहुनुहुन्थ्यो। उहाँका चेलाहरू उहाँसँगै थिए, तब उहाँले तिनीहरूलाई सोध्नुभयो, “मानिसहरूले मलाई, म को हुँ भन्छन्?” तिनीहरूले जवाफ दिए, “कसैले बप्तिस्मा दिने यूहन्ना भन्छन्, कसैले एलिया भन्छन्, अनि कतिले चाहिँ पहिलेका अगमवक्ताहरू मध्येबाट एक जना फेरि उठेर आएका हुन् भनी भन्छन्।” उहाँले सोध्नुभयो, “तर तिमीहरूले नि? तिमीहरूचाहिँ म को हुँ भन्छौ त?” पत्रुसले जवाफ दिए, “परमेश्वरका ख्रीष्ट!” येशूले तिनीहरूलाई यो कुरा कसैलाई नभन्नू भनी कडा आज्ञा दिनुभयो। अनि उहाँले भन्नुभयो, “मानिसको पुत्रले धेरै कष्टहरू सहनुपर्छ। प्रधानहरू, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूबाट तिरस्कृत हुनुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा फेरि जीवित भई उठ्नुपर्छ।” त्यसपछि उहाँले तिनीहरू सबैलाई भन्नुभयो: “यदि कोही मेरो चेला हुन चाहन्छ भने उसले आफैँलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्। किनकि जसले आफ्नो जीवन बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ; तर जसले मेरा निम्ति आफ्नो जीवन गुमाउँछ, त्यसैले त्यो बचाउनेछ।
लूका 9:10-24 पवित्र बाइबल (NERV)
जब प्रेरितहरू फर्कि आए, तिनीहरूले गरेका सम्पूर्ण विवरण सुनाए। त्यसपछि येशूले तिनीहरूलाई बेत्सैदा भन्ने एउटा शहरमा सुटुक्कै लिएर जानुभयो। तर तिनी कहाँ गए मानिसहरूले थाह पाए। तिनीहरू उहाँको पछि लागे। तिनिहरूलाई येशूले स्वागत गर्नुभयो अनि परमेश्वरको राज्यको बारेमा तिनीहरूलाई बताउनु भयो। उहाँले बिमारीहरूलाई निको पार्नुभयो। साँझमा बाह्रैजना प्रेरितहरू येशूकहाँ आए अनि भने, “यो ठाउँमा कुनै मानिस बस्दैन, यिनीहरूलाई फर्काइदेऊ, यी मानिसहरूलाई तिनीहरूको खाना र सुत्ने व्यवस्थाको लागि वरिपारिकै बस्ती र शहरूमा जाऊन्।” तर येशूले ती प्रेरितहरूलाई भन्नुभयो, “तिनीहरूको निम्ति खानाको व्यवस्था गर।” प्रेरितहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुइ टुक्रा माछा मात्र छन्। के तपाईं चाहनु हुन्छ हामी गएर तिनीहरूको लागि खानेकुरा किनेर ल्याऊँ?” त्यहाँ तिनीहरू प्रायः पाँच हजार जति पुरुषहरू थिए। उहाँले आफ्ना प्रेरितहरूलाई भन्नुभयो, “तिनीहरूलाई एक दलमा पचास जना गरेर बस्न लगाऊ।” त्यसपछि चेलाहरूले त्यसै गरे अनि सबै मानिसहरू भुईंमा बसे। येशूले पाँचवटा रोटी र दुइवटा माछा लिनुभयो। उहाँले आकाशतर्फ हेर्नुभयो अनि खानेकुराको निम्ति परमेश्वरलाई धन्यवाद चढाउनु भयो। त्यसपछि उहाँले ती खानेकुरा टुक्रा-टुक्रा पार्नुभयो अनि प्रेरितहरूलाई दिनुभयो। उहाँले खानेकुरा मानिसहरूलाई बाँड्न प्रेरितहरूलाई आह्राउनु भयो। सबैले अघाउन्जेल खाना खाए अनि प्रेरितहरूले उब्रेको खाना बटुले जो बाह्र डालो भरि भयो। एकपल्ट येशू एक्लै प्रार्थनामा बस्नु भएको थियो। जम्मै चेलाहरू एकैसाथ त्यहाँ आए। येशूले तिनहरूलाई सोध्नु भयो, “मानिसहरूको विचारमा म को हुँ?” चेलाहरूले भने, “कसैले तपाईंलाई बप्तिस्मा दिने यूहन्ना हुन् भन्छन्। कति मानिसहरूले तपाईंलाई एलिया भन्छन्। अनि कति मानिसहरूले पहिलेका अगमवक्ताहरू मध्ये जीवनमा फर्की आएका हुन् भन्छन्।” त्यसपछि येशूले आफ्ना चेलाहरूलाई सोध्नु भयो, “अनि तिमीहरूको विचारमा चाँहीं म को हुँ?” पत्रुसले भने, “परमेश्वरदेखि आउनु भएको तपाईं ख्रीष्ट हुनुहुन्छ।” येशूले यो कूरा कसैलाई नभन्नु भनेर तिनीहरूलाई चेताउनी दिनुभयो। त्यसपछि येशूले भन्नुभयो, “मानिसका पुत्रले धेरै कष्ट सहनु पर्छ। यहूदी प्रधानहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरूले तिनलाई अस्वीकार गर्छन्। मानिसको पुत्रलाई मारिनेछ। तर मरेको तेस्रो दिन उहाँलाई फेरि बौरी उठाइनेछ।” येशूले तिनीहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहन्छ भने उसले आफ्नो सबै इच्छाहरू अस्वीकार गर्नु पर्छ। उसले प्रत्येक दिन क्रूसको कष्ट भोग्नु पर्छ अनि मलाई पछ्याउनु पर्छ। जसले आफ्नो प्राण बचाउँन चाहन्छ भने त्यसले त्यो हराउनु पर्छ तर जसले मेरो निम्ति प्राण दिन्छ भने त्यसले त्यो चाँहि बाँच्न पाउँछ।
लूका 9:10-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले पठाउनुभएका बाह्र जना प्रेरितहरू प्रचार गरेर फर्केपछि उनीहरूले आफूले गरेका सबै कुरा येशूलाई सुनाए। उहाँ तिनीहरूलाई लिई आफूहरू मात्र बेथसेदा सहरमा जानुभयो। तर यो कुरा थाहा पाएर धेरै मानिसहरूले उहाँलाई पछ्याए। उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो र परमेश्वरको राज्यको बारेमा सुनाउनुभयो अनि बिरामीहरूलाई निको पारिदिनुभयो। घाम अस्ताउन लागेको बेलामा ती बाह्र जना आएर भने, “यहाँ त केही पनि छैन। यी मानिसहरूलाई बिदा गर्नुहोस्। तिनीहरू वरपर गाउँमा गएर आफ्नो गाँस-बासको बन्दोबस्त आफैंले गरून्।” येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले नै यिनीहरूलाई खान देओ।” उनीहरूले भने, “प्रभु, हामीसँग के छ र? पाँच वटा रोटी र दुईटा माछा मात्रै छन्। के हामीले यति धेरै मानिसहरूलाई खानेकुरा किनेर ल्याउनू?” त्यहाँ लोग्ने मानिसहरू मात्रै पाँच हजार जति थिए। येशूले चेलाहरूलाई भन्नुभयो, “मानिसहरूलाई पचास-पचासको लहरमा बस्न लगाओ।” चेलाहरूले मानिसहरूलाई त्यसै गरी बस्न लगाए। त्यसपछि येशूले पाँच वटा रोटी र दुईटा माछा लिनुभयो र स्वर्गतिर हेर्दै परमेश्वरसँग आशीर्वाद माग्नुभयो अनि उहाँले रोटी र माछा टुक्रा-टुक्रा पारेर चेलाहरूलाई बाँड्न लाउनुभयो। सबैले अघाउञ्जेल खाए। उब्रिएका रोटी र माछाका टुक्राहरू उठाउँदा त बाह्र डाला भरिए। येशू एकपल्ट एक्लै प्रार्थना गरिरहनुभएको बेलामा चेलाहरू पनि उहाँकै छेउमा थिए। उहाँले तिनीहरूलाई सोध्नुभयो, “मानिसहरूले मलाई को हो भन्छन्?” तिनीहरूले जवाफ दिए, “कसैले बप्तिस्मा दिने यूहन्ना हो भन्छन् कसैले एलिया हो भन्छन् अनि कतिले चाहिँ उहिलेका कुनै अगमवक्ता मरेकाबाट बिउँतेका होलान् भन्छन्।” येशूले तिनीहरूलाई सोध्नुभयो, “अनि तिमीहरूचाहिँ मलाई को हो भन्छौ त?” पत्रुसले जवाफ दिए, “तपाईं परमेश्वरले पठाउनुभएको ख्रीष्ट हुनुहुन्छ!” तर येशूले तिनीहरूलाई ‘यो कुरा कसैलाई पनि नभन्नू’ भनेर कडा आज्ञा दिनुभयो अनि तिनीहरूलाई कुरा बुझाउँदै भन्नुभयो, “मानव पुत्रले धेरै दु:ख भोग्नुपर्छ। अगुवा, मुख्य पूजाहारी र धर्म-गुरुहरूले उसलाई मान्नेछैनन् अनि मार्नेछन्। तर तेस्रो दिनमा ऊ फेरि मरेकोबाट बिउँतनेछ।” उहाँले सबैलाई भन्नुभयो, “हेर, कोही मेरो चेला हुन चाहन्छ भने उसले आफैंलाई माया मार्नुपर्छ अनि मर्नसमेत तयार भएर मलाई पछ्याउनुपर्छ किनभने आफ्नो जीवन जोगाउन खोज्नेले जीवन नै गुमाउनेछ, तर आफ्नो जीवन मेरो लागि गुमाउनेले चाहिँ आफ्नो जीवन बचाउनेछ।