YouVersion लोगो
खोज आइकन

लूका 9:1-36

लूका 9:1-36 NCV

एक दिन येशूले बाह्र जना चेलाहरूलाई एकसाथ बोलाउनुभयो। त्यसपछि तिनीहरूलाई उहाँले भूतआत्माहरू निकाल्ने, रोगहरू निको पार्ने शक्ति र अधिकार दिनुभयो। अनि उहाँले तिनीहरूलाई परमेश्‍वरको राज्यको घोषणा गर्न र बिरामीहरूलाई निको पार्न अधिकार दिएर पठाउनुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो: “यात्राका लागि केही पनि नलेओ; न लहुरो, न झोला, न रोटी, न पैसा, न त दुईसरो लुगा। जुन घरमा तिमीहरू पस्छौ, त्यो सहरलाई नछोडेसम्म त्यहीँ अतिथीको रूपमा बस। यदि मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने तिनीहरूका सहर छोडेर जाँदा तिनीहरूका विरुद्धमा गवाहीका निम्ति तिमीहरूका पैतालाको धुलो टक्टक्याइदेओ।” तब तिनीहरू बिदा भए; अनि सबैतिर सुसमाचार घोषणा गर्दै र रोगीहरूलाई निको पार्दै गाउँ-गाउँमा गए। अब गालील प्रदेशका शासक हेरोदले यी सबै घटनाबारे सुनेर तिनी अन्योलमा परे, किनकि कसै-कसैले यूहन्‍ना मरेकाबाट जीवित भएका छन् भनी भन्दथे। कतिले एलिया देखा परेका छन् भन्दथे। अनि कतिपयले भने उहिलेका अगमवक्ताहरूमध्ये एक जना बौरी उठेर आएका हुन् भन्‍ने गर्थे। तर हेरोदले भने, “मैले नै यूहन्‍नाको शिर काट्न लगाएँ। त्यसकारण यिनीचाहिँ को हुन्, जसका बारेमा म यस्ता सबै कुराहरू सुन्दैछु?” अनि तिनले उहाँलाई भेट्ने प्रयास गरे। जब प्रेरितहरू फर्केर आए, तब आफूले गरेका कामका विषयमा येशूलाई बताए। त्यसपछि उहाँले तिनीहरूलाई आफ्नो साथमा लिई बेथसेदा भन्‍ने एउटा सहरमा सुटुक्‍कै जानुभयो। तर भीडले यो कुरा थाहा पाएर उहाँलाई पछ्याए। उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो र परमेश्‍वरको राज्यको विषयमा सिकाउनुभयो। अनि निको हुन आवश्यक भएका जतिलाई निको पार्नुभयो। दिन ढल्कन थालेपछि बाह्रै जना उहाँकहाँ आएर भने, “भीडलाई बिदा गर्नुहोस्। तिनीहरू छेउछाउका गाउँ र बस्तीहरूतिर गएर खानपान र बास खोजून्, किनकि हामी यहाँ सुनसान ठाउँमा छौँ।” उहाँले भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” तिनीहरूले जवाफ दिए, “गएर भीडका निम्ति खानेकुरा नकिनेसम्म त अहिले हामीसँग केवल पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्।” (त्यहाँ पुरुषहरू मात्र लगभग पाँच हजार जति थिए।) तर उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “तिनीहरूलाई पचास-पचासको समूहमा बसाओ।” अनि चेलाहरूले त्यसै गरे र सबै जना बसे। ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेरेर, उहाँले धन्यवाद दिनुभयो; अनि रोटी भाँच्नुभयो र मानिसहरूमा बाँडिदिनका लागि चेलाहरूलाई दिनुभयो। तिनीहरू सबैले पेटभरि खाए; अनि चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए। एक पल्ट येशू एकलै प्रार्थना गर्दैहुनुहुन्थ्यो। उहाँका चेलाहरू उहाँसँगै थिए, तब उहाँले तिनीहरूलाई सोध्नुभयो, “मानिसहरूले मलाई, म को हुँ भन्छन्?” तिनीहरूले जवाफ दिए, “कसैले बप्‍तिस्मा दिने यूहन्‍ना भन्छन्, कसैले एलिया भन्छन्, अनि कतिले चाहिँ पहिलेका अगमवक्ताहरू मध्येबाट एक जना फेरि उठेर आएका हुन् भनी भन्छन्।” उहाँले सोध्नुभयो, “तर तिमीहरूले नि? तिमीहरूचाहिँ म को हुँ भन्छौ त?” पत्रुसले जवाफ दिए, “परमेश्‍वरका ख्रीष्‍ट!” येशूले तिनीहरूलाई यो कुरा कसैलाई नभन्‍नू भनी कडा आज्ञा दिनुभयो। अनि उहाँले भन्‍नुभयो, “मानिसको पुत्रले धेरै कष्‍टहरू सहनुपर्छ। प्रधानहरू, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूबाट तिरस्कृत हुनुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा फेरि जीवित भई उठ्नुपर्छ।” त्यसपछि उहाँले तिनीहरू सबैलाई भन्‍नुभयो: “यदि कोही मेरो चेला हुन चाहन्छ भने उसले आफैँलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्। किनकि जसले आफ्नो जीवन बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ; तर जसले मेरा निम्ति आफ्नो जीवन गुमाउँछ, त्यसैले त्यो बचाउनेछ। यदि कुनै मानिसले सारा संसार हात पारेर पनि आफैँलाई नाश पार्छ वा गुमाउँछ भने उसलाई के फाइदा हुन्छ र? यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने मानिसको पुत्र पनि आफ्नो, पिताको र पवित्र स्वर्गदूतहरूको महिमामा आउँदा त्यस मानिससँग शर्माउनेछ। “म तिमीहरूलाई साँच्‍चै भन्दछु, यहाँ उपस्थित भएकाहरूमध्ये कतिले परमेश्‍वरको राज्य आएको नदेखुन्जेल मृत्यु चाख्नेछैनन्।” येशूले यो कुरा भन्‍नुभएको करिब आठ दिनपछि पत्रुस, याकोब र यूहन्‍नालाई आफ्नो साथमा लिएर प्रार्थना गर्नलाई उहाँ एउटा अग्लो पर्वतमा चढ्नुभयो। उहाँले प्रार्थना गर्दै गर्नुहुँदा उहाँको अनुहारको रूप बदलियो, र उहाँको लुगा बिजुली चम्केको झैँ उज्ज्वल भयो। दुई व्यक्ति, मोशा र एलिया, येशूसँग बातचित गर्दै महिमित अवस्थामा देखा परे। तिनीहरूले उहाँको बिदाइको बारेमा बोलिरहेका थिए, जुन कुरा उहाँले अब यरूशलेममा पूरा गर्न लाग्नुभएको थियो। पत्रुस र तिनका साथीहरू निन्द्राले लट्ठ भएका थिए; तर जब तिनीहरू पूर्ण रूपले बिउँझे, तब तिनीहरूले उहाँको महिमा र उहाँसँग उभिरहेका दुई जना मानिसलाई देखे। मानिसहरू येशूबाट बिदा भएर जान लाग्दा पत्रुसले उहाँलाई भने, “गुरुज्यू, हामीलाई यहीँ रहनु असल छ। हामी तीन वटा वासस्थान बनाऔँ; एउटा तपाईंका लागि, एउटा मोशाका लागि र एउटा एलियाका लागि।” आफूले के बोलेका थिए, सो कुराको तिनलाई ख्यालै थिएन। तिनी बोलिरहेकै बेलामा एउटा बादल देखा पर्‍यो। अनि तिनीहरूलाई ढाक्यो, र बादलभित्र प्रवेश गर्न लाग्दा तिनीहरू डराए। बादलबाट यसो भन्‍ने आवाज आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई मैले छानेको हुँ, यिनको कुरा सुन!” यो आवाज बोलिएपछि तिनीहरूले येशू एकलै हुनुभएको देखे। चेलाहरूले यो घटनाका कुरा आफैँमा मात्र राखे, र आफूले देखेका कुरा त्यस समयमा तिनीहरूले अरू कसैलाई बताएनन्।

लूका 9 पढ्नुहोस्