येशूले बाहजना प्रेरितहरूलाई एक साथमा बोलाउनु भयो। उहाँले बिमारीहरूलाई निको पार्ने र भूतहरूलाई भगाउने शक्ति र अधिकार तिनीहरूलाई दिनुभयो। येशूले तिनीहरूलाई परमेश्वरको राज्यको बारेमा घोषणा गर्नु बिमारीहरू र रोग निको पार्न बाहिर पठाउनु भयो। उहाँले प्रेरितहरूलाई भन्नुभयो, “जब कतै हिँड्छौ, साथमा लौरो, खानेकुरा, झोला र रूपियाँ पैसा केही नलैजाऊ। कुनै घरमा गयौ भने फर्किने समय नभएसम्म त्यहीं बस। यदी शहरका मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने त्यो शहरदेखि बाहिर जाऊ, अनि खुट्टाको धुलो समेत टक्टकाएर जाऊ। यो तिनीहरूको विरोधमा साक्षी हुनेछ।”
त्यसकारण प्रेरितहरू बाहिर गए। तिनीहरू सुसमाचार प्रचार गर्दै र प्रत्येक बिमारी मानिसलाई निको पार्दै सबै शहरहरूमा यात्रा गरे।
शासक हेरोदले यी सब घट्नाहरू थाहा पाए। तिनी अन्योलमा परे किनभने कतिजना मानिसले भने, “बप्तिस्मा दिने यूहन्ना मृत्युबाट बौरी उठेका छन्।” अरू मानिसहरूले भने, “एलिया हामीकहाँ आउनु भएको छ।” अनि अरू कोही मानिसहरूले भने, “धेरै समय अघिका अगमवक्ताहरूमा एकजना बौरी उठेका छन्।” हेरोदले भने, “मैले यूहन्नाको टाउको छिनाएको हुँ। तर म जसको विषयमा सुन्दैछु त्यो मानिस को हो?” होरोदले येशूलाई हेर्ने प्रयास गरे।
जब प्रेरितहरू फर्कि आए, तिनीहरूले गरेका सम्पूर्ण विवरण सुनाए। त्यसपछि येशूले तिनीहरूलाई बेत्सैदा भन्ने एउटा शहरमा सुटुक्कै लिएर जानुभयो। तर तिनी कहाँ गए मानिसहरूले थाह पाए। तिनीहरू उहाँको पछि लागे। तिनिहरूलाई येशूले स्वागत गर्नुभयो अनि परमेश्वरको राज्यको बारेमा तिनीहरूलाई बताउनु भयो। उहाँले बिमारीहरूलाई निको पार्नुभयो।
साँझमा बाह्रैजना प्रेरितहरू येशूकहाँ आए अनि भने, “यो ठाउँमा कुनै मानिस बस्दैन, यिनीहरूलाई फर्काइदेऊ, यी मानिसहरूलाई तिनीहरूको खाना र सुत्ने व्यवस्थाको लागि वरिपारिकै बस्ती र शहरूमा जाऊन्।”
तर येशूले ती प्रेरितहरूलाई भन्नुभयो, “तिनीहरूको निम्ति खानाको व्यवस्था गर।”
प्रेरितहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुइ टुक्रा माछा मात्र छन्। के तपाईं चाहनु हुन्छ हामी गएर तिनीहरूको लागि खानेकुरा किनेर ल्याऊँ?” त्यहाँ तिनीहरू प्रायः पाँच हजार जति पुरुषहरू थिए।
उहाँले आफ्ना प्रेरितहरूलाई भन्नुभयो, “तिनीहरूलाई एक दलमा पचास जना गरेर बस्न लगाऊ।”
त्यसपछि चेलाहरूले त्यसै गरे अनि सबै मानिसहरू भुईंमा बसे। येशूले पाँचवटा रोटी र दुइवटा माछा लिनुभयो। उहाँले आकाशतर्फ हेर्नुभयो अनि खानेकुराको निम्ति परमेश्वरलाई धन्यवाद चढाउनु भयो। त्यसपछि उहाँले ती खानेकुरा टुक्रा-टुक्रा पार्नुभयो अनि प्रेरितहरूलाई दिनुभयो। उहाँले खानेकुरा मानिसहरूलाई बाँड्न प्रेरितहरूलाई आह्राउनु भयो। सबैले अघाउन्जेल खाना खाए अनि प्रेरितहरूले उब्रेको खाना बटुले जो बाह्र डालो भरि भयो।
एकपल्ट येशू एक्लै प्रार्थनामा बस्नु भएको थियो। जम्मै चेलाहरू एकैसाथ त्यहाँ आए। येशूले तिनहरूलाई सोध्नु भयो, “मानिसहरूको विचारमा म को हुँ?”
चेलाहरूले भने, “कसैले तपाईंलाई बप्तिस्मा दिने यूहन्ना हुन् भन्छन्। कति मानिसहरूले तपाईंलाई एलिया भन्छन्। अनि कति मानिसहरूले पहिलेका अगमवक्ताहरू मध्ये जीवनमा फर्की आएका हुन् भन्छन्।”
त्यसपछि येशूले आफ्ना चेलाहरूलाई सोध्नु भयो, “अनि तिमीहरूको विचारमा चाँहीं म को हुँ?”
पत्रुसले भने, “परमेश्वरदेखि आउनु भएको तपाईं ख्रीष्ट हुनुहुन्छ।”
येशूले यो कूरा कसैलाई नभन्नु भनेर तिनीहरूलाई चेताउनी दिनुभयो।
त्यसपछि येशूले भन्नुभयो, “मानिसका पुत्रले धेरै कष्ट सहनु पर्छ। यहूदी प्रधानहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरूले तिनलाई अस्वीकार गर्छन्। मानिसको पुत्रलाई मारिनेछ। तर मरेको तेस्रो दिन उहाँलाई फेरि बौरी उठाइनेछ।”
येशूले तिनीहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहन्छ भने उसले आफ्नो सबै इच्छाहरू अस्वीकार गर्नु पर्छ। उसले प्रत्येक दिन क्रूसको कष्ट भोग्नु पर्छ अनि मलाई पछ्याउनु पर्छ। जसले आफ्नो प्राण बचाउँन चाहन्छ भने त्यसले त्यो हराउनु पर्छ तर जसले मेरो निम्ति प्राण दिन्छ भने त्यसले त्यो चाँहि बाँच्न पाउँछ। किनभने के लाभ हुन्छ यदि कसैले सारा संसार जितेर पनि आफैंलाई नोकसानमा पार्छ अथवा हराउँछ? यदि कुनै मानिस म र मेरो वचनसँग लजाउँछ भने जति बेला मेरा पिताको र मेरो महिमा लिएर पवित्र स्वर्गदूतहरूसँग आँउछु त्यति बेला त्योसित म पनि लजाँउछु। म तिमीहरूलाई साँच्चो भन्दछु तिमीहरूको मृत्यु अघि तिमीहरू मध्ये केही मानिसहरूले यहीं उभिएर परमेश्वरको राज्य देख्नपाउने छन्।”
प्रायः आठ दिनपछि येशूले यी कुराहरू भन्नु भयो, उहाँले पत्रुस, यूहन्ना र याकूबलाई लिनुभयो अनि, पर्वतमा गएर प्रार्थना गर्नुभयो। जब येशूले प्रार्थना गरि रहनु भएको थियो, उहाँको अनुहार बद्लियो अनि उहाँले लगाउनु भएको वस्त्र सेतो भएर चम्कने भयो। दुइजना मानिस त्यहाँ प्रकट भए औ येशूसँग बात गर्न लागे। तिनीहरू मोशा र एलिया थिए। मोशा र एलिया पनि चम्के अनि तिनीहरू येशूसँग उहाँको मृत्युको विषयमा बात गर्दै थिए जो यरूशलेममा हुनेवाला थियो। पत्रुस र अरूहरू मस्त निदाएका थिए। तिनीहरू बिउँझिए अनि येशूको महिमा देखे। तिनीहरूले येशूको साथमा दुइजना उभिएका मानिसलाई देखो। जब मोशा र एलिया जान लागेका थिए, पत्रुसले भने, “हे गुरूज्यू, हामीलाई यहीं बस्नु असल छ। हामी यहाँ तीनवटा डेरा बनाउँछौं एउटा तपाईंलाई, एउटा मोशालाई अनि एउटा एलियाको लागि” पत्रुसले जान्दैन थिए कि उसले के भनिरहेको छ।
पत्रुसले जब यी कुराहरू भन्दै थिए, त्यसैबेला तिनीहरूलाई वरिपरिबाट बादलले ढाक्यो। पत्रुस, याकूब र यूहन्ना बादले ढाकेको देखी डराए। बादलबाट एउटा आवाज यसो भन्दै आयो। “यी मेरो पुत्र हुन् मैले उनलाई छानेको छु। उनको आज्ञा पालन गर।”
जब त्यो आवाज आयो, येशू मात्र त्यहाँ हुनु हुन्थ्यो। पत्रुस, याकूब र यूहन्ना चूपचाप बसे। तिनीहरूले के देखे कसैलाई भनेनन्।