“न्याय नगर, र तिमीहरूको पनि न्याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइने छैनौ। क्षमा गर, तब तिमीहरूलाई पनि क्षमा गरिनेछ। देओ, र तिमीहरूलाई पनि दिइनेछ। प्रशस्त मात्रामा खाँदी-खाँदी, हल्लाएर, पोखिने गरी तिमीहरूको पोल्टामा खन्याइनेछ। किनकि जुन नापले तिमीहरू दिँदछौ, त्यही नापमा तिमीहरूलाई पनि दिइनेछ।” उहाँले तिनीहरूलाई यो दृष्टान्त पनि भन्नुभयो: “के कुनै दृष्टिविहीनले अर्को दृष्टिविहीनलाई डोर्याउन सक्छ र? के ती दुवै खाडलमा पर्दैनन् र? चेला गुरुभन्दा श्रेष्ठ हुँदैन, तर पूरा शिक्षा पाएपछि ऊ गुरुजस्तै हुनेछ। “तिमीले किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ, तर तिम्रो आफ्नै आँखाभित्र भएको मुढालाई चाहिँ ध्यानै दिँदैनौ? तिमीले आफ्नो भाइलाई कसरी ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्को म निकालिदिन्छु’ भन्न सक्छौ, जब तिम्रो आफ्नै आँखामा भएको मुढोचाहिँ देख्दैनौ? ए कपटी, पहिले आफ्नै आँखाबाट मुढो निकाल, र पो आफ्नो भाइको आँखाबाट छेस्को निकाल्नलाई तिमीले छर्लङ्ग देख्नेछौ। “कुनै असल रूखले खराब फल फलाउँदैन, न त खराब रूखले असल फल फलाउँछ। हरेक रूख त्यसको आफ्नो फलबाटै चिनिन्छ। मानिसहरूले काँडाका झाँगबाट अञ्जीर टिप्दैनन्, न त ऐँसेलुको झाँगबाट अङ्गुर बटुल्छन्। असल मानिसले आफ्नो हृदयमा थुपारेको असल भण्डारबाट असल कुराहरू बाहिर निकाल्छ र दुष्ट मानिसले आफ्नो हृदयमा थुपारेको दुष्ट भण्डारबाट दुष्ट कुराहरू नै निकाल्दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्छ, आफ्नो मुखबाट त्यही नै बोल्दछ। “मैले भनेका कुरा गर्दैनौ भने मलाई किन ‘प्रभु, प्रभु’ भन्दछौ? जो मकहाँ आउँछ, मेरा वचन सुन्छ र तिनलाई पालन गर्छ, त्यो कस्तो मानिस हो, म तिमीहरूलाई भन्छु। त्यो एउटा घर बनाउने मानिसजस्तै हो, जसले गहिरो खनेर चट्टानमाथि घरको जग बसाल्यो। जब बाढी आयो, र पानीको भल त्यस घरमा ठोक्कियो, त्यसले त्यो घरलाई हल्लाउन सकेन; किनकि त्यो राम्रोसँग बनाइएको थियो। तर मेरो वचन सुनेर त्यसअनुसार काम नगर्नेचाहिँ जग नहाली जमिनमाथि मात्र घर बनाउने मानिसजस्तै हुन्छ। भल आएर त्यस घरमा ठोक्किने बित्तिकै त्यो भत्कियो र पूर्ण रूपले नाश भयो।”
लूका 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 6:37-49
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू