ती दिनहरूमध्ये एक दिन उहाँ प्रार्थना गर्न डाँडातिर जानुभयो र परमेश्वरमा प्रार्थना चढाउँदै पूरै रात त्यहीं बिताउनुभयो। बिहान भएपछि, उहाँले आफ्ना चेलाहरूलाई आफूसँग बोलाउनुभयो र तिनीहरूबाट उहाँले बाह्र जनालाई छान्नुभयो र तिनीहरूलाई प्रेरित नाउँ दिनुभयो, तिनीहरू यिनै हुन्:
सिमोन (जसलाई उहाँले पत्रुस भन्ने नाउँ दिनुभयो), तिनका भाइ अन्द्रियास,
याकोब,
यूहन्ना,
फिलिप,
बारथोलोमाइ,
मत्ती,
थोमा,
अल्फयसका छोरा याकोब,
सिमोन कनानी, जो उग्रपन्थी भनिन्थे,
याकोबका छोरा यहूदा,
र यहूदा इस्करियोत, जो विश्वासघाती बन्यो।
अनि येशू तिनीहरूसँगै तल ओर्लनुभयो र समतल ठाउँमा उभिनुभयो। उहाँका चेलाहरूको एउटा ठूलो भीडका साथै समस्त यहूदिया प्रदेश, यरूशलेम, सीदोन र टायरका समुद्र तटवर्ती इलाकाबाट आएका धेरै मानिसहरू त्यहाँ थिए, जो उहाँका वचन सुन्न र आ-आफ्ना रोगहरूबाट निको हुन त्यहाँ आएका थिए। अशुद्ध आत्माले सताइएकाहरू निको भए। अनि सबै मानिसहरूले उहाँलाई छुने प्रयास गर्न लागे, किनकि उहाँबाट शक्ति निस्किरहेको र तिनीहरू सबैलाई निको पार्दैथियो।
आफ्ना चेलाहरूलाई हेरेर उहाँले भन्नुभयो:
“धन्य तिमी दीन हुनेहरू,
किनकि परमेश्वरको राज्य तिमीहरूकै हो।
धन्य तिमी अहिले भोकाउनेहरू,
किनकि तिमीहरू तृप्त हुनेछौ।
धन्य तिमी अहिले रुनेहरू,
किनकि तिमीहरू हाँस्नेछौ।
तिमीहरू धन्यका हौ,
जब मानिसहरूले तिमीहरूलाई मानिसका पुत्रलाई पछ्याएको कारण घृणा गर्छन्,
बहिष्कार र अपमान गर्छन्,
र दुष्ट ठानी तिमीहरूका नाउँलाई इन्कार गर्छन्।
“तब त्यस दिनमा रमाओ र आनन्दले उफ्र; किनकि स्वर्गमा तिमीहरूको लागि ठूलो प्रतिफल छ। किनकि तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई पनि यस्तै नै व्यवहार गरेका थिए।
“तर धिक्कार! तिमी धनीहरू,
किनकि तिमीहरूले आफ्नो सुविधा पाइसकेका छौ।
धिक्कार! तिमी अहिले राम्रोसँग खुवाइएकाहरू,
किनकि तिमीहरू भोकमा पर्नेछौ।
धिक्कार! तिमी अहिले हाँस्नेहरू,
किनकि तिमीहरू शोक गर्नेछौ र रुनेछौ।
धिक्कार! तिमीहरूलाई, जब सबै मानिसहरूले तिमीहरूको सराहना गर्नेछन्,
किनकि तिनीहरूका पुर्खाहरूले झूटा अगमवक्ताहरूलाई यस्तै नै व्यवहार गरेका थिए।
“तर मेरा कुरा सुन्नेहरूलाई म भन्दछु: आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिमीलाई घृणा गर्नेहरूलाई भलाइ गर। तिमीलाई सराप्नेहरूलाई आशीर्वाद देओ, र नराम्रो व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर। यदि कसैले तिमीलाई एउटा गालामा हिर्कायो भने, अर्को गाला पनि थापिदेओ। यदि कसैले तिम्रो खास्टो खोस्छ भने, तिम्रो दौरा पनि लैजान देओ। तिमीहरूसँग माग्ने सबैलाई देओ; र तिम्रो कुनै चीज कसैले लैजान्छ भने, ऊसँग त्यो फेरि फिर्ता नमाग। अरूहरूप्रति त्यही व्यवहार गर, जस्तो तिमीहरू तिनीहरूबाट चाहन्छौ।
“यदि तिमीहरूलाई प्रेम गर्नेहरूलाई मात्र तिमीहरू प्रेम गर्छौ भने तिमीलाई के लाभ भयो र? पापीहरूले पनि त तिनीहरूलाई प्रेम गर्नेलाई प्रेम गर्दछन्। अनि यदि तिमीलाई भलो गर्नेहरूलाई मात्र भलाइ गर्दछौ भने तिमीलाई के लाभ भयो र? पापीहरूले पनि त त्यस्तै गर्दछन्। यदि फिर्ता गर्न सक्ने मानिसहरूलाई मात्र ऋण दिन्छौ भने तिमीलाई के लाभ भयो र? पूरा फिर्ता पाउने आशाले पापीहरूले पनि त पापीहरूलाई ऋण दिँदछन्। तर आफ्ना शत्रुहरूलाई प्रेम गर, तिनीहरूलाई भलाइ गर, र केही पनि फिर्ता नलिने आशा गरी तिनीहरूलाई ऋण देओ; तब तिमीहरूको इनाम ठूलो हुनेछ, र तिमीहरू सर्वोच्चका सन्तान ठहरिनेछौ; किनकि परमेश्वर बैगुनी र दुष्टहरूप्रति पनि दयालु हुनुहुन्छ। तिमीहरू पनि कृपालु होओ, जसरी तिमीहरूका स्वर्गीय पिता कृपालु हुनुहुन्छ।
“न्याय नगर, र तिमीहरूको पनि न्याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमी पनि दोषी ठहराइने छैनौ। क्षमा गर, तब तिमीलाई पनि क्षमा गरिनेछ। देऊ, अनि तिमीलाई पनि दिइनेछ। प्रशस्त मात्रामा, खाँदी-खाँदी, हल्लाई-हल्लाई, र भरिएर पोखिने गरी तिम्रा पोल्टामा खन्याइनेछ। किनकि जुन नापले तिमीहरू दिँदछौ, त्यही नापमा तिमीहरूलाई पनि दिइनेछ।”
उहाँले तिनीहरूलाई यो दृष्टान्त पनि भन्नुभयो: “के कुनै दृष्टिविहीनले अर्को दृष्टिविहीनलाई डोर्याउन सक्छ र? के तिनीहरू दुवै नै खाडलमा पर्दैनन् र? चेला गुरुभन्दा श्रेष्ठ हुँदैन, तर पूरा शिक्षा पाएपछि ऊ गुरुजस्तै हुनेछ।
“तिमीले किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ, तर तिम्रो आफ्नै आँखामा भएको मुढाका विषयमा भने विचार नै गर्दैनौ? तिमीले आफ्नो भाइलाई कसरी ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्को म निकालिदिन्छु’ भन्न सक्छौ, जब तिम्रो आफ्नै आँखामा भएको मुढाचाहिँ देख्दैनौ? ए कपटी, पहिले आफ्नै आँखाबाट मुढा निकाल, अनि पो आफ्नो भाइको आँखाबाट छेस्को निकाल्नलाई तिमीले छर्लङ्ग देख्न सक्नेछौ।
“कुनै असल रूखले खराब फल फलाउँदैन, न ता खराब रूखले असल फल फलाउँछ। हरेक त्यसको आफ्नो फलबाटै रूख चिनिन्छ। मानिसहरूले काँडाका झाँगबाट अञ्जीर टिप्दैनन्, न ता ऐँसेलुको झाँगबाट अङ्गुर बटुल्छन्। असल मानिसले आफ्नो हृदयमा थुपारेको असल भण्डारबाट असल कुराहरू बाहिर निकाल्छ र दुष्ट मानिसले आफ्नो हृदयमा थुपारेको दुष्ट भण्डारबाट दुष्ट कुराहरू नै निकाल्दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्छ, आफ्नो मुखबाट त्यही नै बोल्दछ।
“मैले भनेका कुरा गर्दैनौ भने मलाई किन ‘प्रभु, प्रभु’ भन्दछौ? जो मकहाँ आउँछ, मेरा वचन सुन्छ र तीअनुसार गर्छ, त्यो कस्तो मानिस हो, म तिमीहरूलाई भन्छु। त्यो एउटा घर बनाउने मानिसजस्तै हो, जसले गहिरो खनेर चट्टानमाथि जग बसाल्यो। जब बाढी आयो, र पानीको भल त्यस घरमा ठोक्कियो, त्यसले त्यो घरलाई हल्लाउन सकेन; किनकि त्यो राम्रोसँग बनाइएको थियो। तर मेरो वचन सुन्ने, र तीअनुसार काम नगर्नेचाहिँ जग नै नहालिकन जमिनमाथि मात्र घर बनाउने मानिसजस्तै हो। त्यस घरमा भल ठोक्किने बित्तिकै, त्यो भत्क्यो र पूर्ण रूपले नाश भयो।”