YouVersion लोगो
खोज आइकन

लूका 4:14-30

लूका 4:14-30 NCV

येशू पवित्र आत्माको शक्तिमा गालील प्रदेशमा फर्कनुभयो र उहाँको बारेमा सारा मुलुकभरि खबर फैलियो। उहाँले तिनीहरूका सभाघरहरूमा गएर शिक्षा दिनुभयो र सबैले उहाँको प्रशंसा गरे। उहाँ नासरतमा जानुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो। अनि शब्बाथमा उहाँ आफ्नो रीतिअनुसार सभाघरमा जानुभयो, र पढ्नलाई उभिनुभयो। यशैया अगमवक्ताको पुस्तक उहाँलाई पढ्न दिइयो। त्यो पुस्तक खोलेर उहाँले यसो लेखिएको खण्ड निकाल्नुभयो: “प्रभुको आत्मा ममाथि छ, किनकि गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ। उहाँले मलाई कैदीहरूलाई छुटकाराको घोषणा गर्न, र दृष्‍टिविहीनहरूलाई दृष्‍टि दिलाउन, उत्पीडनमा परेकाहरूलाई स्वतन्त्र गराउन, र प्रभुको निगाहको वर्ष घोषणा गर्न पठाउनुभएको छ।” त्यसपछि त्यो पुस्तक बन्द गरेर उहाँले सेवकलाई दिनुभयो र बस्‍नुभयो। सभाघरमा भएका हरेकले उहाँलाई एक टक हेरिरहेका थिए। अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आज तिमीहरूको सुनाइमा यो धर्मशास्त्र पूरा भएको छ।” सबैले उहाँको प्रशंसा गरे, र उहाँको मुखबाट आएका अनुग्रहपूर्ण वचनमा छक्‍क परे; अनि तिनीहरूले सोधे, “के यिनी योसेफका छोरा होइनन् र?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “पक्‍कै तिमीहरूले मलाई यो दृष्‍टान्त भन्‍नेछौ: ‘ए वैद्य, आफैँलाई निको पार! कफर्नहुममा तिमीले जे जति गर्‍यौ भनी हामीले सुनेका थियौँ, ती सबै यहाँ आफ्नै सहरमा पनि गर।’ ” उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, कुनै पनि अगमवक्तालाई उसको आफ्नै सहरमा स्वीकार गरिँदैन। म तिमीहरूलाई साँचो भन्दछु, एलियाको समयमा जब आकाश साँढे तीन वर्षसम्म थुनियो र सारा देशभरि भयङ्ककर अनिकाल पर्‍यो, त्यस बेला इस्राएलमा धेरै विधवाहरू थिए। तापनि एलिया अरू कसैकहाँ होइन, तर सीदोनको क्षेत्रमा पर्ने सारपतकी एउटी विधवाकहाँ मात्र पठाइए। अनि एलीशा अगमवक्ताका समयमा पनि इस्राएलमा धेरै कुष्‍ठरोगीहरू थिए, तर तिनीहरू कोही पनि निको पारिएनन्, केवल सिरियाली नामान मात्र निको पारिए।” यो सुनेपछि सभाघरमा भएका सबै मानिसहरू रिसले चुर भए। तिनीहरू खडा भए, र उहाँलाई सहरदेखि बाहिर, जुन पहाडमा तिनीहरूका सहर बनाइएको थियो, त्यसैको भिरबाट खसालिदिन टाकुरामा लगे। तर उहाँ भीडबाट नै छिरेर आफ्नै बाटो जानुभयो।

लूका 4 पढ्नुहोस्