पवित्र आत्माको शक्ति पाएर येशू गालीलमा फर्कनुभयो। उहाँको बारेमा चारैतिर चर्चा हुन लाग्यो। उहाँले सभाघरहरूमा सिकाउनुभयो र सबैले उहाँको प्रशंसा गरे। येशू आफू हुर्केको सहर नासरतमा आइपुग्नुभयो। सधैँजस्तै उहाँ विश्रामको दिन सभाघरमा जानुभयो अनि धर्मशास्त्र पढ्न उभिनुभयो। उहाँलाई यशैयाले लेखेको पुस्तक पढ्न दिइयो र पुस्तक खोलेर उहाँले यस्तो लेखिएको ठाउँ निकालेर पढ्नुभयो– प्रभु परमेश्वरले आफ्ना आत्मा ममाथि खन्याउनुभएको छ, गरीबहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गरेर पठाउनुभएको छ। कैदीहरूलाई छुट्कारा दिन, अन्धाहरूलाई देख्ने बनाउन, अत्याचारमा परेकाहरूलाई उठाउन र आफ्ना जनहरूलाई मुक्ति दिने समय आएको छ भनी प्रचार गर्न प्रभु परमेश्वरले मलाई नै छान्नुभएको छ। त्यसपछि येशूले पुस्तक बन्द गरी फिर्ता दिएर बस्नुभयो। त्यहाँ भएका सबैले मक्ख परेर उहाँलाई हेरिरहेका थिए अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “धर्मशास्त्रको यो कुरा आज तिमीहरूले सुन्दासुन्दै पूरा भएको छ।” सबै मानिसहरूले उहाँको प्रशंसा गरे। अनुग्रहले भरिएको उहाँको कुरा सुनेर तिनीहरू छक्कै परे। “के यिनी योसेफकै छोरा होइनन् र?” तिनीहरूले भने। तब येशूले भन्नुभयो, “अब पक्का पनि तिमीहरूले मलाई यो उखान भन्नेछौ, ‘ए वैद्य! तिमी आफैंलाई निको पार।’ तिमीहरूले मलाई ‘कफर्नहुममा गरेजस्तै आफ्नै गाउँमा पनि अचम्मको काम गर’ भन्नेछौ।” कुरा टुङ्ग्याउँदै उहाँले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, कुनै अगमवक्तालाई पनि आफ्ना गाउँ-सहरका मानिसहरूले ग्रहण गर्दैनन्। अर्को एउटा कुरा पनि म तिमीहरूलाई भन्छु, एलियाको पालामा साढे तीन वर्षसम्म पानी नपरेर ठूलो अनिकाल परेको थियो। त्यस बेला इस्राएलमा धेरै विधवाहरू थिए। तर सीदोन क्षेत्रमा पर्ने सारपत गाउँकी विधवाकहाँ मात्र परमेश्वरले एलियालाई पठाउनुभयो। त्यस्तै एलीशा अगमवक्ता हुँदा इस्राएलमा धेरै कुष्ठरोगीहरू थिए। तर तिनीहरूमध्ये सिरिया देशको नामान भन्ने मानिसबाहेक अरू कोही पनि निको भएनन्।” यो कुरा सुनेर सभाघरका सबै मानिसहरू रिसले चुर भए। जर्याक-जुरुक उठेर तिनीहरूले येशूलाई घिस्स्याउँदै सहरदेखि बाहिर निकाले। तिनीहरूको यो सहर डाँडामा पर्दथ्यो र तिनीहरूले उहाँलाई भीरको टुप्पाबाट फाल्न खोजे। तर उहाँ मानिसको घुइँचोबाट छिरेर आफ्नो बाटो लाग्नुभयो।
लूका 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 4:14-30
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू