तिनीहरूले यसैको बारेमा कुरा गर्दागर्दै येशू स्वयम् तिनीहरूका बीचमा उभिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्!” तिनीहरूले एउटा भूत देखेको झैँ भनी ठानेर तिनीहरू विचलित भए, र डराए। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन विचलित हुन्छौ? तिमीहरूका मनमा किन शङ्का उब्जन्छ? मेरा हातहरू र खुट्टाहरू हेर; म नै हुँ! मलाई छोएर हेर, तिमीहरूले अहिले ममा देखेजस्तै मासु र हाड त कुनै भूतको हुँदैन।” यसरी भनिसकेपछि उहाँले तिनीहरूलाई आफ्ना हात र खुट्टाहरू देखाउनुभयो। अनि जब आनन्द र आश्चर्यले गर्दा तिनीहरूले उहाँको कुरा अझै पनि विश्वास गरेनन्, तब उहाँले तिनीहरूलाई सोध्नुभयो, “के तिमीहरूसँग यहाँ केही खानेकुरा छ?” तिनीहरूले उहाँलाई पकाएको माछाको एक टुक्रा दिए। अनि उहाँले त्यो लिनुभयो र तिनीहरूकै सामु खानुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूसँगै हुँदा मैले तिमीहरूलाई भनेको कुरा यही हो: मोशाको व्यवस्था, अगमवक्ताहरू र भजनहरूका पुस्तकमा मेरा विषयमा लेखिएका हरेक कुरा पूरा हुनैपर्छ।” त्यसपछि तिनीहरूले धर्मशास्त्रका कुराहरू बुझ्न सकून् भनेर उहाँले तिनीहरूका समझ खोलिदिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “यसो लेखिएको छ: ख्रीष्टले दुःख भोग्नेछ र तेस्रो दिनमा मरेकाहरूबाट जीवित भई उठ्नेछ। अनि यरूशलेमदेखि सुरु गरेर सबै राष्ट्रहरूमा उहाँको नाममा पाप क्षमाको पश्चात्तापको प्रचार हुनेछ। तिमीहरू यिनै कुराहरूका साक्षी छौ। मेरा पिताले प्रतिज्ञा गर्नुभएको कुरा म तिमीहरूकहाँ पठाउनेछु, तर माथिबाट आउने शक्तिले सुसज्जित नभएसम्म यही सहरमा बसिरहो।” येशूले तिनीहरूलाई यरूशलेमको बाहिर बेथानीको नजिकै लानुभयो। अनि उहाँले आफ्नो हात उचाल्नुभयो र तिनीहरूलाई आशीर्वाद दिनुभयो। तिनीहरूलाई आशीर्वाद दिइरहनुहुँदा उहाँ तिनीहरूबाट अलग हुनुभयो र माथि स्वर्गमा उठाइलगिनुभयो। अनि तिनीहरूले उहाँलाई दण्डवत् गरे, र बडो आनन्दसाथ यरूशलेम फर्के। अनि परमेश्वरको प्रशंसा गर्दै निरन्तर मन्दिरमा रहन लागे।
लूका 24 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 24:36-53
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू