YouVersion लोगो
खोज आइकन

लूका 24:36-53

लूका 24:36-53 NNRV

तिनीहरूले यी कुरा गर्दागर्दै येशू तिनीहरूका बीचमा खड़ा हुनुभयो, र भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति होस्‌।” तिनीहरू तर्से, र डरले आत्तिए, र “हामीले त प्रेत देखिरहेछौं” भन्‍ने सम्‍झे। तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन विचलित हुन्‍छौ, र तिमीहरूका हृदयमा किन शङ्का उत्‍पन्‍न हुन्‍छ? मेरा हात र मेरा पाउ हेर, म नै हुँ, मलाई छोएर हेर। किनकि प्रेतको मासु र हाड हुँदैन, तर तिमीहरू देख्‍छौ, मेरा त छन्‌।” यसो भन्‍नुभएपछि उहाँले तिनीहरूलाई आफ्‍ना हात र पाउ देखाउनुभयो। तर खुसीले पत्‍यार गर्न नसकी तिनीहरू छक्‍क पर्दा उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूसित यहाँ केही खानेकुरो छ?” तिनीहरूले पकाएको माछाको एक टुक्रा उहाँलाई दिए। अनि उहाँले त्‍यो लिएर तिनीहरूकै सामुन्‍ने खानुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसँग हुँदा मैले बोलेका वचनहरू यी नै हुन्, अर्थात्‌ मोशाको व्‍यवस्‍था, अगमवक्ता र भजनका पुस्‍तकमा मेरो विषयमा लेखिएका सबै कुरा पूरा हुनैपर्छ।” तब धर्मशास्‍त्र बुझ्‍नलाई उहाँले तिनीहरूको समझ खोलिदिनुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसो लेखिएको छ, कि ख्रीष्‍टले दुःख भोग्‍नु र तेस्रो दिनमा मृतकबाट जीवित हुनुपर्छ, अनि यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पश्‍चात्ताप र पाप-क्षमाको प्रचार हुनुपर्छ। तिमीहरू यी नै कुराका साक्षी हौ। हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूकहाँ पठाउँछु, तर माथिबाट शक्ति प्राप्‍त नगरुञ्‍जेल तिमीहरू यही सहरमा बसिरहो।” त्‍यसपछि उहाँले तिनीहरूलाई बेथानियासम्‍म लैजानुभयो, र आफ्‍नो हात उचालेर तिनीहरूलाई आशीर्वाद दिनुभयो। उहाँले तिनीहरूलाई आशीर्वाद दिनुहुँदैगर्दा, उहाँ तिनीहरूबाट छुट्टिनुभयो र स्‍वर्गमा लगिनुभयो। तिनीहरूले उहाँको उपासना गरे, र बड़ो आनन्‍दसाथ यरूशलेम फर्के। अनि तिनीहरू परमेश्‍वरको प्रशंसा गर्दै मन्‍दिरमा निरन्‍तर रहन लागे।