YouVersion लोगो
खोज आइकन

लूका 18:35-43

लूका 18:35-43 NCV

येशू यरीहो नजिकै पुग्नुहुँदा, एउटा दृष्‍टिविहीन मानिस बाटोको छेउमा बसेर मागिरहेको थियो। नजिकैबाट भीड गइरहेको आवाज सुनेर त्यसले त्यहाँ के हुँदैछ भनी सोधपुछ गर्‍यो। तिनीहरूले त्यसलाई भने, “नासरतका येशू जाँदैहुनुहुन्छ।” त्यसले उच्‍च सोरमा भन्यो, “हे येशू, दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!” बाटो देखाउँदै अगि-अगि हिँड्नेहरूले त्यसलाई हप्काएर चुप लाग् भने। तर त्यो झन् चर्को सोरमा करायो, “हे दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!” येशू टक्‍क अडिनुभयो, र त्यस मानिसलाई आफूकहाँ ल्याउन आज्ञा दिनुभयो। त्यो नजिक आएपछि येशूले त्यसलाई सोध्नुभयो, “म तिम्रो निम्ति के गरिदिऊँ भन्‍ने तिमी चाहन्छौ?” त्यसले भन्यो, “हे प्रभु, म देख्न चाहन्छु।” येशूले त्यसलाई भन्‍नुभयो, “तिमी देख्ने भइजाऊ, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।” तुरुन्तै त्यसले आफ्नो दृष्‍टि पायो, र परमेश्‍वरको प्रशंसा गर्दै येशूको पछि लाग्यो। जब सबै मानिसहरूले यो देखे, तब तिनीहरूले पनि परमेश्‍वरको प्रशंसा गरे।

लूका 18 पढ्नुहोस्