यरूशलेम जाने आफ्नो यात्राको क्रममा येशू सामरिया र गालील प्रदेशबीचको सिमाना भएर जाँदैहुनुहुन्थ्यो। उहाँ कुनै गाउँमा पस्न लाग्नुहुँदा कुष्ठरोग लागेका दश जनाले उहाँलाई भेटे। तिनीहरू केही टाढै उभिए; अनि चर्को सोरमा उहाँलाई बिन्ती गरे, “हे येशू, गुरुज्यू, हामीमाथि कृपा गर्नुहोस्!”
तिनीहरूलाई देखेर उहाँले भन्नुभयो, “जाओ, र आफैँलाई पुजारीकहाँ देखाओ।” अनि तिनीहरू जाँदा-जाँदै निको भए।
तिनीहरूमध्ये एक जनाले आफू निको भएको देखेपछि चर्को सोरमा परमेश्वरको प्रशंसा गर्दै फर्केर आयो। येशूको पाउमा घोप्टो परेर उहाँलाई धन्यवाद दियो; त्योचाहिँ एक सामरी थियो।
येशूले सोध्नुभयो, “के दशै जना नै निको भएका होइनन् र? अरू नौ जना कहाँ छन्? के फर्किआएर परमेश्वरलाई प्रशंसा दिन यो परदेशीबाहेक अरू कोही भएनन्?” त्यसपछि उहाँले त्यसलाई भन्नुभयो, “उठ, र आफ्नो बाटो लाग; तिम्रो विश्वासले नै तिमीलाई निको पारेको हो।”
फरिसीहरूद्वारा परमेश्वरको राज्य कहिले आउँछ भनी सोधिएपछि येशूले जवाफ दिनुभयो, “परमेश्वरको राज्य तिमीहरूले देखिने गरी आउँदैन, न त मानिसहरूले ‘यो यहाँ छ,’ अथवा ‘त्यहाँ छ,’ भनी भन्नेछन्। किनकि परमेश्वरको राज्य त तिमीहरूभित्र नै छ।”
त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “त्यो समय आउँदैछ, जब तिमीहरूले मानिसको पुत्रलाई कुनै एक दिन हेर्ने इच्छा गर्नेछौ, तर तिमीहरूले देख्नेछैनौ। मानिसहरूले तिमीहरूलाई, ‘ऊ त्यहाँ छ!’ अथवा ‘हेर, ऊ यहाँ छ!’ भन्नेछन्, तर तिनीहरूका पछि दगुर्दै नजाओ। किनकि जसरी बिजुली चम्कँदा आकाशको एक छेउदेखि अर्को छेउसम्म उज्यालो हुन्छ, मानिसको पुत्र पनि आफ्नो दिनमा त्यस्तै हुनेछ। तर पहिले उसले धेरै कष्टहरू भोग्नुपर्छ, र यस पुस्ताबाट तिरस्कृत हुनुपर्छ।
“नोआका दिनहरूमा जस्तो भएको थियो, मानिसको पुत्रको दिनहरूमा पनि त्यस्तै हुनेछ। नोआ जहाजभित्र पसेको दिनसम्म नै मानिसहरू खाँदैथिए, पिउँदैथिए, र विवाह गरिरहेका थिए र गराइँदैथियो। त्यसै समयमा जलप्रलय आयो र तिनीहरू सबैलाई नष्ट पार्यो।
“लोतका दिनमा पनि त्यस्तै भएको थियो। मानिसहरू खाइरहेका, पिइरहेका, किनबेच गरिरहेका, रोपिरहेका र बनाइरहेका थिए। तर लोतले सदोम छोडेकै दिनमा आकाशबाट आगो र गन्धक बर्स्यो, र तिनीहरू सबैलाई नष्ट पार्यो।
“मानिसको पुत्र प्रकट हुने दिनमा ठिक यस्तै हुनेछ। त्यस दिन कोही घरको छानामाथि हुनेछ, र त्यसका मालसामान घरभित्र छन् भने ती थोकहरू लैजानलाई त्यो तल नओर्लोस्। त्यसै गरी खेतमा हुने कोही पनि केही लिन फर्केर नजाओस्। लोतकी पत्नीलाई सम्झ! जसले आफ्नो जीवन बचाउन खोज्छ, त्यसले त्यो गुमाउनेछ; र जसले आफ्नो जीवन गुमाउँदछ, त्यसले त्यो बचाउनेछ। म तिमीहरूलाई भन्दछु, त्यस रात दुई जना मानिस एउटै ओछ्यानमा हुनेछन्; एक जना लगिनेछ र अर्को छोडिनेछ। दुई स्त्रीहरू सँगसँगै अन्न पिँधिरहेका हुनेछन्। एउटी लगिनेछ र अर्की छोडिनेछ। दुई जना मानिसहरू खेतमा हुनेछन्, एउटा लगिनेछ र अर्को छोडिनेछ।”
तिनीहरूले सोधे, “कहाँ, प्रभु?”
उहाँले जवाफ दिनुभयो, “जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू थुप्रिनेछन्।”