येशू यरूशलेमतिर जाँदैहुनुहुन्थ्यो। यस यात्रामा उहाँ सामरिया र गालीलको सिमाना भएर जानुभयो। उहाँ एउटा गाउँमा पस्नुहुँदा दश जना कुष्ठरोगीसँग उहाँको भेट भयो। टाढ़ै उभिएर तिनीहरूले चर्को सोरले भने, “हे येशू गुरुज्यू, हामीमाथि कृपा गर्नुहोस्।”
उहाँले तिनीहरूलाई देखेर भन्नुभयो, “जाओ, गएर पूजाहारीकहाँ आफैलाई देखाओ।” तिनीहरू जाँदाजाँदै निको भइहाले।
तिनीहरूमध्ये एक जनाले आफू निको भएको देख्यो, र उच्च सोरले परमेश्वरको महिमा गर्दै त्यो फर्क्यो, र येशूलाई धन्यवाद दिएर त्यो येशूका पाउमा घोप्टो पर्यो। त्यो एक सामरी थियो।
येशूले भन्नुभयो, “के निको भएका दश जना होइनन् र? अरू नौ जना कहाँ छन्? के यो विदेशीबाहेक फर्किआएर परमेश्वरको प्रशंसा गर्ने अरू कोही भएन?” अनि उहाँले त्यसलाई भन्नुभयो, “उठ, र आफ्नो बाटो लाग। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”
परमेश्वरको राज्य कहिले आउँछ भन्ने फरिसीहरूको प्रश्नको जवाफमा उहाँले तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको राज्य देखिने गरी आउँदैन, न त मानिसहरूले भन्नेछन्, ‘हेर, यहाँ छ!’ अथवा ‘त्यहाँ छ!’ किनभने हेर, परमेश्वरको राज्य तिमीहरूकै बीचमा छ।”
उहाँले चेलाहरूलाई भन्नुभयो, “ती दिन आउनेछन्, जब तिमीहरू मानिसको पुत्रको कुनै एक दिन हेर्ने इच्छा गर्नेछौ, तर तिमीहरूले देख्नेछैनौ। मानिसहरूले तिमीहरूलाई भन्नेछन्, ‘हेर, ऊ त्यहाँ छ!’ अथवा ‘हेर, ऊ यहाँ छ।’ तर नजाओ, र तिनीहरूका पछि नलाग। किनकि जसरी बिजुली चम्कँदा आकाशको एक छेउदेखि अर्को छेउसम्म उज्यालो पार्छ, मानिसको पुत्र पनि आफ्नो दिनमा त्यस्तै हुनेछ। तर पहिले उसले धेरै कष्ट सहनुपर्छ र यस पुस्ताबाट बहिष्कृत हुनुपर्छ।
“नोआको दिनमा जस्तो भएको थियो, मानिसको पुत्रको दिनमा पनि त्यस्तै हुनेछ। नोआ जहाजभित्र प्रवेश नहोउञ्जेल मानिसहरू खाँदैथिए, पिउँदैथिए, विवाहबारी गर्दैथिए। र जलप्रलय आयो, र सबैलाई नष्ट पार्यो।
“लोतका दिनमा पनि त्यस्तै भएको थियो, मानिसहरू खाँदैथिए, पिउँदैथिए, किनबेच गर्दैथिए, रोप्दैथिए, बनाउँदैथिए, तर जुन दिन लोत सदोमबाट निस्के, आकाशबाट आगो र गन्धक बर्सेर तिनीहरू सबैलाई नष्ट पार्यो।
“मानिसको पुत्र प्रकट हुने दिनमा यस्तै हुनेछ। त्यस दिन जो घरको कौसीमाथि छ, त्यसको मालसामान घरभित्र छ भने ती लिनलाई त्यो तल नझरोस्। त्यसरी नै खेतमा हुने पनि फर्केर नआओस्। लोतकी पत्नीलाई याद गर! जसले आफ्नो प्राण बचाउन खोज्दछ, त्यसले सो गुमाउनेछ, र जसले आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो सुरक्षित राख्नेछ। म तिमीहरूलाई भन्दछु, त्यस रात दुई जना एउटै ओछ्यानमा हुनेछन्। एक जना लगिनेछ र अर्को छोडिनेछ। दुई जना स्त्री एकैसाथ जाँतो पिँधिरहेका हुनेछन्। एउटी लगिनेछे, अर्की छोडिनेछे। [दुई जना मानिस खेतमा हुनेछन्, एक जना लगिनेछ, अर्कोचाहिँ छोडिनेछ।”]
अनि तिनीहरूले उहाँलाई सोधे, “कहाँ प्रभु?”
उहाँले तिनीहरूलाई भन्नुभयो, “जहाँ सिनु छ, गिद्धहरू त्यहाँ भेला हुन्छन्।”