“सेवाको निम्ति सुसज्जित भई तयार बस र तिमीहरूका बत्ती बालिराख, अनि ती मानिसहरूजस्ता होओ, जसले तिनीहरूका मालिक विवाह भोजबाट फर्कि आएर ढक्ढक्याउँदा तिनका निम्ति तुरुन्तै ढोका खोलिदिन सकियोस् भनेर आफ्ना मालिकलाई पर्खेर बस्छन्। यदि मालिक आउँदा तिनले ती सेवकहरूलाई जागा रहेका भेट्टाए भने तिनीहरूका निम्ति असल हुनेछ। म तिमीहरूलाई साँचो भन्दछु, तिनले सेवा गर्नलाई कम्मर कस्नेछन्, तिनीहरूलाई खानको निम्ति टेबुलमा ढल्कन लगाउनेछन्, र आएर तिनीहरूका सेवा गर्नेछन्। यदि मालिक मध्यरात अथवा बिहानै आउँदा जसलाई जागा रहेका भेट्टाउँछन्, ती सेवकहरूका निम्ति असल हुनेछ। तर यो बुझिराख: घरका मालिकलाई चोर कति बेला आउँछ भन्ने थाहा भएको भए तिनले आफ्नो घर फोरिन दिने थिएनन्। तिमीहरू पनि तयार बस, किनकि मानिसका पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछन्।” अनि पत्रुसले सोधे, “प्रभु, तपाईंले यो दृष्टान्त हाम्रा लागि भन्नुभएको हो कि सबैका निम्ति?” तब प्रभुले जवाफ दिनुभयो, “त्यो विश्वासयोग्य र बुद्धिमान् प्रबन्धक को हो, जसलाई त्यसका मालिकले तिनका सेवकहरूलाई ठीक समयमा तिनीहरूले पाउनुपर्ने खानेकुरा दिने कामको जिम्मा दिनेछन्? उसका मालिक फर्केर आउँदा उसले त्यसै गरिरहेको भेट्टाए भने त्यस सेवकको लागि असल हुनेछ। म तिमीहरूलाई साँचो भन्दछु, तिनले त्यसलाई आफ्ना सारा सम्पत्तिमाथि अधिकार दिनेछन्। तर मानौं, त्यस सेवकले आफ्नो मनमा ‘मेरो मालिक आउन ढिलो गर्नेछन्,’ भन्यो र त्यसले सेवक सेविकाहरूलाई पिट्न लाग्यो र खाएर, पिएर मात्न लाग्यो भने, त्यस सेवकका मालिक त्यसले नचिताएको दिनमा र त्यसलाई थाहै नभएको समयमा आइपुग्नेछन्। तब तिनले त्यसलाई टुक्रा-टुक्रा पारेर काट्नेछन् र त्यसलाई अविश्वासीहरूको स्थान दिनेछन्। “त्यो सेवक जसले आफ्ना मालिकको इच्छा जान्दछ, र पनि तयार रहँदैन अथवा त्यसका मालिकको इच्छाअनुसार गर्दैन भने त्यसले धेरै पिटाइ खानेछ। तर जसले मालिकको इच्छा नजानेर नै दण्डनीय काम गर्छ, त्यसले थोरै पिटाइ खानेछ। हरेक जसलाई धेरै दिइएको छ, त्यसबाट धेरै नै मागिनेछ; अनि जसलाई धेरै कुराहरू सुम्पिएका छन्, त्यसबाट अझ बढी लिइनेछ।
लूका 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 12:35-48
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू