YouVersion लोगो
खोज आइकन

लूका 12:35-48

लूका 12:35-48 NNRV

“तिमीहरूका आफ्‍ना कम्‍मर कस र तिमीहरूका बत्ती बालिराख। तिमीहरू ती मानिसहरू जस्‍ता होओ, जसले आफ्‍ना मालिक विवाहको भोजबाट फर्किआएर ढकढक्‍याउँदा तिनको निम्‍ति झट्टै ढोका खोलिदिन्‍छन्‌। ती नोकरहरू धन्‍यका हुन्, जसका मालिक घर आउँदा तिनीहरूलाई जागिरहेका भेट्टाउनेछन्‌। साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिनले आफ्‍नो पटुका कसेर तिनीहरूलाई खान बसाउनेछन्, र आएर तिनीहरूको सेवा गर्नेछन्‌। यदि तिनी मध्‍यरात वा त्‍यसभन्‍दा अझ ढिलो आउँदा पनि नोकरहरूलाई जागै भेट्टाए भने, तिनीहरू धन्‍यका हुन्‌। तर यो जान, कि चोर कुन बेला आउँछ भनेर घरका मालिकले जानेका भए तिनी जागा बस्‍नेथिए, र चोरलाई घर फोरेर पस्‍न दिनेथिएनन्‌। तिमीहरू पनि तयार रहो, किनकि तिमीहरूले नचिताएको बेलामा मानिसको पुत्र आउनेछ।” तब पत्रुसले भने, “हे प्रभु, के यो दृष्‍टान्‍त हाम्रै निम्‍ति मात्र बताउनुभएको हो, कि अरू सबैका निम्‍ति?” प्रभुले भन्‍नुभयो, “त्‍यो विश्‍वासी र बुद्धिमानी भण्‍डारे को हो, जसलाई त्‍यसका मालिकले आफ्‍ना परिवारलाई निश्‍चित समयमा तिनीहरूका भागमा पर्ने भोजन दिनलाई खटाउनेछन्‌? त्‍यो दास धन्‍यको हो, जसलाई त्‍यसका मालिक आउँदा त्‍यसै गरिरहेको भेट्टाउनेछन्‌। साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिनले त्‍यसलाई आफ्‍ना सारा सम्‍पत्तिमाथि अधिकार दिनेछन्‌। तर त्‍यस दासले आफ्‍नो मनमा “मेरा मालिक आउन ढिलाउनुहुनेछ” भनेर कमारा र कमारीहरूलाई पिट्‌न लाग्‍यो, र त्‍यो खान, पिउन र मात्‍न लाग्‍यो भने, त्‍यसले आशा नगरेको दिन र नचिताएको घड़ीमा त्‍यसका मालिक आउनेछन्, र त्‍यसलाई दण्‍ड दिनेछन्, र त्‍यसको दशा अविश्‍वासीहरूको जस्‍तो हुनेछ। “आफ्‍नो मालिकको इच्‍छा जानेर तयार नरहने र तिनको इच्‍छाबमोजिम नगर्ने दासले चाहिँ ज्‍यादै पिटाइ खानेछ। तर मालिकको इच्‍छा नजानेर पिटाइ खाने योग्‍यको काम गर्नेले थोरै पिटाइ खानेछ। प्रत्‍येक जसलाई धेरै दिइएको छ, त्‍यसबाट धेरै मागिनेछ, र हरेक जसलाई धेरै सुम्‍पिएको छ, त्‍यसबाट अझ बढ़ी लिइनेछ।