YouVersion लोगो
खोज आइकन

लूका 12:35-48

लूका 12:35-48 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“तिमीहरूका आफ्‍ना कम्‍मर कस र तिमीहरूका बत्ती बालिराख। तिमीहरू ती मानिसहरू जस्‍ता होओ, जसले आफ्‍ना मालिक विवाहको भोजबाट फर्किआएर ढकढक्‍याउँदा तिनको निम्‍ति झट्टै ढोका खोलिदिन्‍छन्‌। ती नोकरहरू धन्‍यका हुन्, जसका मालिक घर आउँदा तिनीहरूलाई जागिरहेका भेट्टाउनेछन्‌। साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिनले आफ्‍नो पटुका कसेर तिनीहरूलाई खान बसाउनेछन्, र आएर तिनीहरूको सेवा गर्नेछन्‌। यदि तिनी मध्‍यरात वा त्‍यसभन्‍दा अझ ढिलो आउँदा पनि नोकरहरूलाई जागै भेट्टाए भने, तिनीहरू धन्‍यका हुन्‌। तर यो जान, कि चोर कुन बेला आउँछ भनेर घरका मालिकले जानेका भए तिनी जागा बस्‍नेथिए, र चोरलाई घर फोरेर पस्‍न दिनेथिएनन्‌। तिमीहरू पनि तयार रहो, किनकि तिमीहरूले नचिताएको बेलामा मानिसको पुत्र आउनेछ।” तब पत्रुसले भने, “हे प्रभु, के यो दृष्‍टान्‍त हाम्रै निम्‍ति मात्र बताउनुभएको हो, कि अरू सबैका निम्‍ति?” प्रभुले भन्‍नुभयो, “त्‍यो विश्‍वासी र बुद्धिमानी भण्‍डारे को हो, जसलाई त्‍यसका मालिकले आफ्‍ना परिवारलाई निश्‍चित समयमा तिनीहरूका भागमा पर्ने भोजन दिनलाई खटाउनेछन्‌? त्‍यो दास धन्‍यको हो, जसलाई त्‍यसका मालिक आउँदा त्‍यसै गरिरहेको भेट्टाउनेछन्‌। साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिनले त्‍यसलाई आफ्‍ना सारा सम्‍पत्तिमाथि अधिकार दिनेछन्‌। तर त्‍यस दासले आफ्‍नो मनमा “मेरा मालिक आउन ढिलाउनुहुनेछ” भनेर कमारा र कमारीहरूलाई पिट्‌न लाग्‍यो, र त्‍यो खान, पिउन र मात्‍न लाग्‍यो भने, त्‍यसले आशा नगरेको दिन र नचिताएको घड़ीमा त्‍यसका मालिक आउनेछन्, र त्‍यसलाई दण्‍ड दिनेछन्, र त्‍यसको दशा अविश्‍वासीहरूको जस्‍तो हुनेछ। “आफ्‍नो मालिकको इच्‍छा जानेर तयार नरहने र तिनको इच्‍छाबमोजिम नगर्ने दासले चाहिँ ज्‍यादै पिटाइ खानेछ। तर मालिकको इच्‍छा नजानेर पिटाइ खाने योग्‍यको काम गर्नेले थोरै पिटाइ खानेछ। प्रत्‍येक जसलाई धेरै दिइएको छ, त्‍यसबाट धेरै मागिनेछ, र हरेक जसलाई धेरै सुम्‍पिएको छ, त्‍यसबाट अझ बढ़ी लिइनेछ।

शेयर गर्नुहोस्
लूका 12 पढ्नुहोस्

लूका 12:35-48 नेपाली समकालीन संस्करण (NCV)

“सेवाको निम्ति सुसज्जित भई तयार बस र तिमीहरूका बत्ती बालिराख, अनि ती मानिसहरूजस्ता होओ, जसले तिनीहरूका मालिक विवाह भोजबाट फर्कि आएर ढक्ढक्याउँदा तिनका निम्ति तुरुन्तै ढोका खोलिदिन सकियोस् भनेर आफ्ना मालिकलाई पर्खेर बस्छन्। यदि मालिक आउँदा तिनले ती सेवकहरूलाई जागा रहेका भेट्टाए भने तिनीहरूका निम्ति असल हुनेछ। म तिमीहरूलाई साँचो भन्दछु, तिनले सेवा गर्नलाई कम्मर कस्‍नेछन्, तिनीहरूलाई खानको निम्ति टेबुलमा ढल्कन लगाउनेछन्, र आएर तिनीहरूका सेवा गर्नेछन्। यदि मालिक मध्यरात अथवा बिहानै आउँदा जसलाई जागा रहेका भेट्टाउँछन्, ती सेवकहरूका निम्ति असल हुनेछ। तर यो बुझिराख: घरका मालिकलाई चोर कति बेला आउँछ भन्‍ने थाहा भएको भए तिनले आफ्नो घर फोरिन दिने थिएनन्। तिमीहरू पनि तयार बस, किनकि मानिसका पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछन्।” अनि पत्रुसले सोधे, “प्रभु, तपाईंले यो दृष्‍टान्त हाम्रा लागि भन्‍नुभएको हो कि सबैका निम्ति?” तब प्रभुले जवाफ दिनुभयो, “त्यो विश्‍वासयोग्य र बुद्धिमान् प्रबन्धक को हो, जसलाई त्यसका मालिकले तिनका सेवकहरूलाई ठीक समयमा तिनीहरूले पाउनुपर्ने खानेकुरा दिने कामको जिम्मा दिनेछन्? उसका मालिक फर्केर आउँदा उसले त्यसै गरिरहेको भेट्टाए भने त्यस सेवकको लागि असल हुनेछ। म तिमीहरूलाई साँचो भन्दछु, तिनले त्यसलाई आफ्ना सारा सम्पत्तिमाथि अधिकार दिनेछन्। तर मानौं, त्यस सेवकले आफ्नो मनमा ‘मेरो मालिक आउन ढिलो गर्नेछन्,’ भन्यो र त्यसले सेवक सेविकाहरूलाई पिट्न लाग्यो र खाएर, पिएर मात्न लाग्यो भने, त्यस सेवकका मालिक त्यसले नचिताएको दिनमा र त्यसलाई थाहै नभएको समयमा आइपुग्नेछन्। तब तिनले त्यसलाई टुक्रा-टुक्रा पारेर काट्नेछन् र त्यसलाई अविश्‍वासीहरूको स्थान दिनेछन्। “त्यो सेवक जसले आफ्ना मालिकको इच्छा जान्दछ, र पनि तयार रहँदैन अथवा त्यसका मालिकको इच्छाअनुसार गर्दैन भने त्यसले धेरै पिटाइ खानेछ। तर जसले मालिकको इच्छा नजानेर नै दण्डनीय काम गर्छ, त्यसले थोरै पिटाइ खानेछ। हरेक जसलाई धेरै दिइएको छ, त्यसबाट धेरै नै मागिनेछ; अनि जसलाई धेरै कुराहरू सुम्पिएका छन्, त्यसबाट अझ बढी लिइनेछ।

शेयर गर्नुहोस्
लूका 12 पढ्नुहोस्

लूका 12:35-48 पवित्र बाइबल (NERV)

“तयारी बस! वस्त्र लगाऊ अनि तिम्रो बत्ती उज्यालो होस्। त्यो नोकरहरूले झैं व्यवहार गर जो विवाह भोजबाट फर्की आउने आफ्नो मालिकको लागि पर्खी रहेको हुन्छ। मालिक आउँछ अनि ढोका ढक्ढकाउँछ। नोकरले मालिकको निम्ति ढोका खोलिदिन्छ। धन्य हुन् ती नोकरहरू जो मालिक घर फर्कादाँ घरमा सर्तकता साथ बसेका हुन्छन्। म तिमीहरूलाई साँच्चो भन्छु, मालिक आफैं आफ्नो काम गर्दा लाउने लुगा लगाउँछ अनि उसको नोकरहरूलाई कुर्सीमा बस्न लाउँछ। त्यसपछि मालिक स्वयंले तिनीहरूलाई खाना बाँडिदिन्छ। तर नोकरहरूले, सायद आफ्ना मालिकलाई मध्य-रात सम्म अथवा त्यसपछि पनि पर्खनु पर्ला। तर तिनीहरू खुशी हुन्छन् कारण तिनीहरूका मालिक आउँदा तिनलाई पर्खिरहेका पाउनेछन्। “यो कुरा सम्झी राखः घरका मालिकले कति बेला चोर आउँछ भन्ने कुरा चाल पायो भने उसले चोरलाई घर फोर्नु दिएको हुँदैन। यसर्थ, तिमीहरू पनि सर्तक हौ! मानिसका पुत्र अचानक आउनु हुनेछ जब कि उहाँ आउने तिमीहरूले आशा नै गरेका हुँदैनौ।” पत्रुसले भने, “हे प्रभु! तपाईंले हामीलाई मात्र अथवा प्रत्येकलाई यो कथा भन्नु हुन्छ?” प्रभुले भन्नुभयो, “को चाँहि ज्ञानी र विश्वासी नोकर होला? विश्वासी नोकर त्यही हो जसमाथि अन्य नोकरहरूलाई ठीक समयमा तिनीहरूको भाग खाना दिन्छ भनी विश्वास गर्छ। मालिक आँउदा आफूले अह्राएको अनुसार नोकर काममा व्यस्त रहेको पायो भने त्यो मालिक अति खुशी हुनेछ। म तिमीहरूलाई साँच्चो भन्छु, मालिकले त्यस नोकरलाई आफ्नो जे जति छ त्यसको रक्षक नियुक्ति गर्छ। “तर यदि नोकर दुष्ट प्रवृत्तिको छ र आफ्नो मालिक झट्टै फर्कंदैन भन्ने सोच्छ भने त्यसको प्रतिफल के होला? त्यो नोकरले अरू नोकर पुरुष, स्त्रीहरूलाई कुट-पीट गर्ला अनि खाई पिई मातेर मस्त बस्ला। जब मालिक आँउछ उसलाई तत्पर रहेको पाउँदैन। यस्तो त्यस दिन आउनेछ, त्यो नोकरले मालिक आँउछ भन्ने सोचेकै हुँदैन, मालिक आउँदैछ भन्ने पत्तो हुँदैन। मालिकले त्यस नोकरलाई सजाय दिनेछ अनि त्यसलाई अन्य अविश्वासीसँग पठाइदिनेछ। “त्यो नोकरले जान्दथ्यो, उसको मालिकले के चाहान्थ्यो तर उ काम गर्न तत्पर रहँदैन अथवा मालिकले अह्राएको काम गर्न चेष्ट गरेन, यसर्थ त्यस नोकरले अधिक सजाय पाँउछ। उसको मालिकले जे चाहान्छ यदि त्यो नोकरले जान्दैन तर जे गर्छ सजाय योग्यको काम गर्छ, उसको के गति होला? त्यस नोकरले सजाय त पाँउछ नै, तर उसले भन्दा कम्ती सजाय पाउँछ जुन नोकरले मालिकले के चाहान्छ जान्दछ तर गर्दैन। जुन मानिसलाई बेसी दिइएको छ, उसको जिम्मेवारी पनि बेसी हुन्छ। अझ जसमाथि बेसी विश्वास गरिको छ ऊबाट बेसी नै आशा पनि राखिएको हुन्छ।”

शेयर गर्नुहोस्
लूका 12 पढ्नुहोस्

लूका 12:35-48 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसपछि येशूले भन्‍नुभयो, “आफ्‍नो कम्‍मर कसेर तयार भई बस र बत्तीहरू बालिराख। तिमीहरू विवाहको भोजबाट फर्कने मालिकको बाटो हेरिरहने नोकरहरूजस्‍ता होओ। मालिक आएर ढोका ढकढक्‍याउँने बित्तिकै उनीहरूले ढोका खोलिदिन्‍छन्। मालिक आउँदा जागै बसिरहेका ती नोकरहरूले स्‍याबासी पाउनेछन् र तिनीहरू खुसी हुनेछन्। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, त्‍यस मालिकले पाहुनालाई जस्‍तै मेजमान गर्न तयार हुनेछन् र ती नोकरहरूलाई आरामसँग बसाएर खुवाउनेछन्। तर यदि मालिक ढीलो गरेर आधारातमा या बिहानतिर आउँदा पनि आफ्‍ना नोकरहरूलाई जागै बसिरहेका देखे भने तिनले झन् धेरै स्‍याबासी दिनेछन् र तिनीहरू झन् खुसी हुनेछन्। “तर यो सम्‍झिराख, यदि चोर आउने समय थाहा पाएको भए त घर धनीले चोरलाई घरमा पस्‍नै दिने थिएनन्। त्‍यस्‍तै तिमीहरू पनि चनाखो भएर बस। म मानव पुत्र तिमीहरूले नचिताएको बेलामा नै आउनेछु।” अनि पत्रुसले येशूलाई सोधे, “प्रभु, तपाईंले यो कुरा हामीलाई मात्र भन्‍नुभएको हो कि अरूलाई पनि हो?” प्रभुले भन्‍नुभयो, “बुद्धिमान् र भरपर्दो भण्‍डारेचाहिँ कस्‍तो मानिस होला त? मालिकले आफ्‍नो घरको सबै कामकाजको जिम्‍मा दिएपछि बुद्धिमान् र भरपर्दो भण्‍डारेले चाहिँ अरू नोकरहरूलाई ठीक-ठीक समयमा खानाको व्‍यवस्‍था गरिदिन्‍छ। मालिक फर्केर आउँदा त्‍यो भण्‍डारेलाई त्‍यस्‍तै काम गरिरहेको भेट्टाउँदा ऊ कति धन्‍य हुनेछ। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, मालिकले त्‍यस भण्‍डारेलाई आफ्‍नो सबै धन-सम्‍पत्तिको जिम्‍मा लगाउँनेछन्। तर यदि भण्‍डारेले ‘मेरो मालिक ढीलो गरी फर्कनेछन्’ भन्‍ने ठानेर जथाभाबी खाएर माती अरू नोकर चाकरलाई पिट्‍न थाल्‍यो भने त्‍यसको मालिकचाहिँ त्‍यसले नचिताएको दिन र घडीमा आइपुग्‍नेछन् अनि त्‍यसलाई ठूलो दण्‍ड दिनेछन् र त्‍यसको गति परमेश्‍वरलाई नमान्‍नेहरूको जस्‍तै हुनेछ। “मालिकको इच्‍छा जानेर पनि गर्नुपर्ने काम नगर्ने नोकरलाई चाहिँ मालिकले ठूलो सजायँ दिनेछन्। तर मालिकको इच्‍छा थाहा नभई सजाय पाउनुपर्ने काम गर्ने नोकरलाई चाहिँ उनले कम सजाय दिनेछन्। जसलाई धेरै दिइएको छ, त्‍यसले धेरै दिनुपर्छ। त्‍यसै गरी जसलाई धेरै सुम्‍पिएको छ, उसले त्‍यति नै धेरै बुझाउनुपर्छ।”

शेयर गर्नुहोस्
लूका 12 पढ्नुहोस्