YouVersion लोगो
खोज आइकन

लूका 11:1-13

लूका 11:1-13 NCV

एक दिन येशू कुनै ठाउँमा प्रार्थना गर्दैहुनुहुन्थ्यो। उहाँले प्रार्थना सिद्ध्याउनुभएपछि उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “प्रभु, यूहन्‍नाले आफ्ना चेलाहरूलाई सिकाएझैं हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले प्रार्थना गर्दा यसो भन: “ ‘हे पिता, तपाईंको नाउँ पवित्र गरियोस्, तपाईंको राज्य आओस्। प्रत्येक दिन हामीलाई हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रा पापहरू क्षमा गरिदिनुहोस्, किनकि हामीले पनि हाम्रो विरुद्धमा पाप गर्ने हरेकलाई क्षमा गर्दछौं। अनि हामीलाई परीक्षामा नल्याउनुहोस्।’ ” त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानौं तिमीहरूमध्ये कसैको एकजना मित्र छन्, र उनी मध्यरातमा तिनीकहाँ गएर भन्छन्, ‘मित्र, मलाई तीनओटा रोटी पैँचो दिनुहोस्, किनकि मेरा एकजना मित्र यात्राबाट मकहाँ आएका छन्, तर तिनलाई टक्र्याउन मसँग केही पनि छैन।’ तब भित्रबाट तिनले जवाफ दिन्छन्, ‘मलाई दुःख नदिनुहोस्। ढोका बन्द भइसकेको छ, र मेरा केटाकेटीहरू मसँगै ओछ्यानमा छन्। म उठेर तपाईंलाई केही दिन सक्दिनँ।’ म तिमीहरूलाई भन्दछु: यद्यपि उनी एक मित्र भएको कारणले तिनले उठेर उनलाई रोटी नदेला, तापनि उनले खुरन्धार मागिरहेका कारणले गर्दा तिनी उठेर उनलाई खाँचोपरे जति दिनेछन्। “त्यसकारण म तिमीहरूलाई भन्दछु: माग अनि तिमीहरूलाई त्यो दिइनेछ; खोज, अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याओ, अनि तिमीहरूको निम्ति ढोका उघारिनेछ। किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ, जसले खोज्छ, त्यसले भेट्टाउँछ, अनि जसले घचघच्याउँछ, त्यसका निम्ति ढोका उघारिनेछ। “तिमीहरूमध्ये कुनचाहिँ त्यस्तो बुबा होला, जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला, अथवा माछा माग्दा त्यसलाई माछाको सट्टा सर्प देला? अथवा अण्डा माग्दा त्यसलाई बिच्छी देला? यदि तिमीहरू जो दुष्‍ट भइकन पनि आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने झन् उहाँसँग माग्नेहरूलाई तिमीहरूका स्वर्गीय पिताले कति प्रशस्त गरी पवित्र आत्मा दिनुहुनेछ!”

लूका 11 पढ्नुहोस्

लूका 11:1-13 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति