यहूदिया प्रदेशका राजा हेरोदको पालामा अबियाका पूजाहारी समूहका जकरिया नाउँ भएका एकजना पूजाहारी थिए। उनकी पत्नी एलीशिबा पनि हारून वंशकी थिइन्। तिनीहरू दुवैजना परमेश्वरको दृष्टिमा धर्मी थिए, र प्रभुका आज्ञा र व्यवस्था निर्दोषसाथ पालन गर्थे। तर तिनीहरूका कोही सन्तान थिएनन्; किनकि एलीशिबा बाँझी थिइन्, अनि ती दुवै उमेर ढल्किसकेका थिए। एकपल्ट जब जकरिया परमेश्वरको सामु आफ्नो दलको पालोमा पूजाहारीको काम गरिरहेका थिए, तब पूजाहारीको सेवाको चलनअनुसार चिट्ठा हाल्दा, प्रभुको मन्दिरमा धूप बाल्ने जिम्मा जकरियालाई पर्यो। अनि सुगन्धित धूप बाल्ने बेलामा, भेला भएका सबै उपासकहरूले बाहिर प्रार्थना गरिरहेका थिए। त्यस बेला प्रभुका एउटा दूत तिनीकहाँ धूप वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे। अनि दूतलाई देखेर जकरिया आत्तिए, र भयभीत भए। तर स्वर्गदूतले तिनलाई भने, “नडराऊ, जकरिया तिम्रो प्रार्थनाको सुनुवाइ भएको छ। तिम्री पत्नी एलीशिबाले तिम्रो निम्ति एउटा पुत्र जन्माउनेछिन्, र तिमीले तिनको नाउँ यूहन्ना राख्नू। तिनी तिम्रो निम्ति आनन्द र रमाहट हुनेछन्, र तिनको जन्मको कारण धेरैजना रमाउनेछन् किनकि प्रभुको अघि तिनी महान् हुनेछन्। तिनले कुनै पनि मद्य कहिल्यै पिउने छैनन्, र तिनी आमाको गर्भदेखि नै पवित्र आत्माले भरपूर हुनेछन्। अनि तिनले इस्राएलका धेरैलाई प्रभु तिनीहरूका परमेश्वरतर्फ फर्काउनेछन्। बुबाहरूका मन तिनीहरूका छोराछोरीतर्फ र अनाज्ञाकारीहरूलाई धर्मीहरूका बुद्धितर्फ फर्काउन, र प्रभुको निम्ति योग्य भएको एउटा निज जाति तयार पार्न, एलियाको आत्मा र शक्तिमा तिनी प्रभुको अघि-अघि जानेछन्।” जकरियाले स्वर्गदूतलाई सोधे, “मैले यो निश्चय कसरी जानूँ? म बुढो मानिस हुँ, अनि मेरी पत्नीको पनि उमेर ढल्किसकेको छ।” स्वर्गदूतले जवाफ दिए, “म गब्रिएल हुँ। म परमेश्वरको सामु उभिन्छु, र म तिमीसँग बोल्न र यो सुसमाचार तिमीलाई सुनाउन पठाइएको हुँ। अब यो घटना पूरा नभएसम्म तिमी बोलीविहीन हुनेछौ, र बोल्न सक्नेछैनौ; किनकि आफ्नो ठीक समयमा पूरा हुन आउने मेरा वचनमा तिमीले विश्वास गरेनौ।” यसै बीचमा मानिसहरू जकरियाको प्रतीक्षामा थिए, र तिनी मन्दिरमा किन अबेरसम्म बसे भनी छक्क पर्दैथिए। जब तिनी बाहिर आए, तब तिनी तिनीहरूसँग बोल्न सकेनन्। तिनले मन्दिरमा दर्शन पाएछन् भनी मानिसहरूले महसुस गरे, किनकि तिनले तिनीहरूलाई इशारा गरिरहे, तर बोल्न सकेनन्। अनि सेवा गर्ने आफ्नो समय पूरा भएपछि तिनी घर फर्के। यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्म गुप्तमा बसिन्। तिनले भनिन्, “प्रभुले मेरो निम्ति यो गर्नुभएको छ। यी दिनहरूमा उहाँले मलाई कृपा देखाउनुभएको छ, र मानिसहरूका बीचमा मेरो कलङ्क हटाइदिनुभएको छ।”
लूका 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 1:5-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू