YouVersion लोगो
खोज आइकन

लूका 1:39-55

लूका 1:39-55 NCV

त्यस समयमा मरियम तयार भइन् र हतार-हतार यहूदिया प्रदेशको पहाडतर्फको एउटा गाउँमा गइन्; जहाँ एलीशिबा र जकरिया बस्दथे र त्यहाँ जकरियाको घरभित्र पसेर एलीशिबालाई अभिवादन गरिन्। एलीशिबाले मरियमको अभिवादन सुन्‍ने बित्तिकै तिनको गर्भमा रहेको बालक उफ्रियो; र एलीशिबा पवित्र आत्माले भरिइन्। तिनले चर्को सोरमा भनिन्: “स्त्रीहरूमा तिमी धन्य हौ, र तिमीले जन्माउने बालक पनि धन्यका हुन् तर मेरा प्रभुकी आमा मकहाँ आउनुजस्तो कृपा मलाई किन भयो? तिम्रो अभिवादनको स्वर मेरो कानमा पर्ने बित्तिकै मेरो गर्भको बालक आनन्दले उफ्रियो। जसले तिनलाई प्रभुले भन्‍नुभएका कुरा पूरा हुनेछन् भनी विश्‍वास गरिन्, तिनी धन्यकी हुन्।” अनि मरियमले भनिन्: “मेरो प्राणले प्रभुको प्रशंसा गर्दछ, र मेरो आत्मा मेरा मुक्‍तिदाता परमेश्‍वरमा रमाहट गर्दछ। किनकि उहाँले आफ्नो सेविकाको दीन अवस्थाको विचार गर्नुभएको छ; अबदेखि सबै पुस्ताले मलाई धन्यकी भन्‍नेछन्, किनकि सर्वशक्‍तिमानले मेरो निम्ति महान् काम गर्नुभएको छ: उहाँको नाउँ पवित्र होस्। उहाँको करुणा उहाँको भय मान्‍नेहरूको निम्ति पुस्तादेखि पुस्तासम्म रहिरहन्छ। उहाँले आफ्ना बाहुलीद्वारा शक्‍तिशाली कामहरू गर्नुभएको छ। आफ्नो मनको विचारमा घमण्ड गर्नेहरूलाई उहाँले तितरबितर पारिदिनुभएको छ। उहाँले शासकहरूलाई तिनीहरूका सिंहासनदेखि खसालिदिनुभएको छ, तर नम्रहरूलाई उच्‍च पार्नुभएको छ। उहाँले भोकाहरूलाई असल कुराले तृप्‍त पार्नुभएको छ, तर धनीहरूलाई रित्तै हात पठाइदिनुभएको छ। उहाँले कृपालु बन्‍न स्मरण गर्दै, आफ्नो सेवक इस्राएललाई सहायता गर्नुभएको छ; जसरी उहाँले हाम्रा पुर्खाहरूलाई बताउनुभएको थियो, जुन कृपा उहाँले अब्राहाम र उनका सन्तानलाई सदाका लागि देखाउँछु भन्‍नुभएको थियो।”

लूका 1 पढ्नुहोस्

लूका 1:39-55 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति