YouVersion लोगो
खोज आइकन

लूका 1:39-55

लूका 1:39-55 सरल नेपाली

केही दिनपछि मरियम हतार गरेर यहूदिया क्षेत्रमा पर्ने एउटा पहाडी गाउँमा गइन्। त्‍यहाँ तिनले जकरियाको घरमा गएर एलीशिबालाई अभिवादन गरिन्। मरियमले अभिवादन भनेको सुन्‍नेबित्तिकै एलीशिबाको कोखमा भएको बालक चल्मलायो। त्‍यसै बेला एलीशिबा पवित्र आत्‍माले भरिइन्। अनि तिनले सोर उचालेर भनिन्, “स्‍त्रीजातिमा तिमी कति धन्‍य रहिछौ। धन्‍य हुन्, तिमीबाट जन्‍मिनुहुने बालक! म को हुँ र तिमी मेरा प्रभुकी आमा भएर पनि मकहाँ आयौ? तिमीले अभिवादन भनेको सुन्‍दा मेरो कोखमा भएको बालक खुसीले चल्मलायो। प्रभु परमेश्‍वरले तिमीलाई भन्‍नुभएको कुरा पूरा हुन्‍छ भनेर विश्‍वास गर्ने तिमी कति धन्यकी हौ!” अनि मरियमले भनिन्, “म मेरो हृदयदेखि नै प्रभु परमेश्‍वरको प्रशंसा गर्छु र मेरो आत्‍मा मलाई मुक्ति दिनुहुने परमेश्‍वरसँग रमाउँछ किनभने उहाँले मजस्‍तो तुच्‍छ दासीलाई पनि दया गर्नुभयो। अबदेखि उसो मानिसहरूले मलाई धन्‍य भन्‍नेछन्। शक्तिशाली परमेश्‍वरले मेरो लागि एउटा ठूलो काम गरिदिनुभएको छ। परमेश्‍वरको नाउँ पवित्र छ र उहाँको डर राख्‍नेहरूमाथि उहाँले पुस्‍तौं-पुस्‍तासम्‍म दया गर्नुहुन्‍छ। उहाँले आफ्‍नो शक्तिशाली हातले घमण्‍डीहरूका विचारलाई चकनाचुर पारिदिनुभएको छ। उहाँले घमण्‍डी राजाहरूलाई सिंहासनबाट झार्नुभएको छ, तर नम्रहरूलाई उहाँले उच्‍च पार्नुभएको छ। उहाँले भोकाएकाहरूलाई असल कुरा दिनुभएको छ, तर धनीहरूलाई चाहिँ रित्तै हात फर्काइदिनुभएको छ। परमेश्‍वरले हाम्रा पिता-पुर्खासँग गर्नुभएको प्रतिज्ञा पूरा गरेर आफ्‍ना दास इस्राएललाई सहायता गर्नुभएको छ, उहाँले अब्राहाम र उनका सन्‍तानहरूलाई दया गर्न कहिले पनि बिर्सनुभएन।”

लूका 1 पढ्नुहोस्

लूका 1:39-55 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति