YouVersion लोगो
खोज आइकन

लूका 1:18-25

लूका 1:18-25 NCV

जकरियाले स्वर्गदूतलाई सोधे, “मैले यो पक्‍का हुन्छ भनेर कसरी जानूँ? म बुढो मानिस हुँ, र मेरी पत्नीको उमेर पनि ढल्किसकेको छ।” स्वर्गदूतले जवाफ दिए, “म गब्रिएल हुँ। म परमेश्‍वरको सामु उभिन्छु, र म तिमीसँग बोल्न र यो सुसमाचार तिमीलाई सुनाउन पठाइएको हुँ। अब यो घटना पूरा नभएसम्म तिमी बोलीविहीन हुनेछौ, र बोल्न सक्नेछैनौ; किनकि आफ्नो ठिक समयमा पूरा हुन आउने मेरा वचनमा तिमीले विश्‍वास गरेनौ।” यसै बीचमा मानिसहरू जकरियाको प्रतीक्षामा थिए, र तिनी मन्दिरमा किन अबेरसम्म बसे भनी छक्‍क पर्दैथिए। जब तिनी बाहिर आए, तब तिनी उनीहरूसँग बोल्न सकेनन्। तिनले मन्दिरमा दर्शन पाएछन् भनी मानिसहरूले महसुस गरे; किनकि तिनले उनीहरूलाई इशारा गरिरहे, तर बोल्न सकेनन्। अनि सेवा गर्ने आफ्नो समय पूरा भएपछि तिनी घर फर्के। यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्म गुप्‍तमा बसिन्। तिनले भनिन्, “प्रभुले मेरा निम्ति यो काम गर्नुभएको छ। यी दिनहरूमा उहाँले मलाई कृपा देखाउनुभएको छ। मानिसहरूका बीचमा मेरो कलङ्क हटाइदिनुभएको छ।”

लूका 1 पढ्नुहोस्