लूका 1:18-25
लूका 1:18-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब जकरियाले दूतलाई भने, “यो मैले कसरी जान्ने? म बूढ़ो भएँ र मेरी पत्नीको उमेर पनि ढल्किसकेको छ।” स्वर्गदूतले तिनलाई भने, “म गब्रिएल हुँ, म परमेश्वरको सामुन्ने उभिरहन्छु। तिमीसँग कुरा गर्न र यो खुसीको समाचार सुनाउन म पठाइएको हुँ। जुन दिनसम्म यी कुरा पूरा हुँदैनन्, तबसम्म तिमी गूँगो हुनेछौ र बोल्न सक्नेछैनौ, किनभने तिमीले मेरा वचनमाथि विश्वास गरेनौ, जुन वचन आफ्नो समयमा पूरा हुनेछन्।” मानिसहरू जकरियालाई पर्खिरहेका थिए र मन्दिरमा ढिलो गर्दा चकित भए। तिनी बाहिर निस्केर आउँदा उनीहरूसँग बोल्नै सकेनन् र तिनले मन्दिरमा दर्शन देखेछन् भन्ने उनीहरूले बुझे। तिनले उनीहरूलाई इशारा गर्न लागे, अनि तिनी गूँगो भइरहे। तिनको सेवाका दिन समाप्त भएपछि तिनी आफ्नो घर गए। यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्म लुकेर बसिन् र यसो भनिन्, “मानिसहरूका बीचमा मेरो कलङ्क हटाउनलाई अब परमप्रभुले ममाथि यसरी कृपा गर्नुभएको हो।”
लूका 1:18-25 नेपाली समकालीन संस्करण (NCV)
जकरियाले स्वर्गदूतलाई सोधे, “मैले यो निश्चय कसरी जानूँ? म बुढो मानिस हुँ, अनि मेरी पत्नीको पनि उमेर ढल्किसकेको छ।” स्वर्गदूतले जवाफ दिए, “म गब्रिएल हुँ। म परमेश्वरको सामु उभिन्छु, र म तिमीसँग बोल्न र यो सुसमाचार तिमीलाई सुनाउन पठाइएको हुँ। अब यो घटना पूरा नभएसम्म तिमी बोलीविहीन हुनेछौ, र बोल्न सक्नेछैनौ; किनकि आफ्नो ठीक समयमा पूरा हुन आउने मेरा वचनमा तिमीले विश्वास गरेनौ।” यसै बीचमा मानिसहरू जकरियाको प्रतीक्षामा थिए, र तिनी मन्दिरमा किन अबेरसम्म बसे भनी छक्क पर्दैथिए। जब तिनी बाहिर आए, तब तिनी तिनीहरूसँग बोल्न सकेनन्। तिनले मन्दिरमा दर्शन पाएछन् भनी मानिसहरूले महसुस गरे, किनकि तिनले तिनीहरूलाई इशारा गरिरहे, तर बोल्न सकेनन्। अनि सेवा गर्ने आफ्नो समय पूरा भएपछि तिनी घर फर्के। यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्म गुप्तमा बसिन्। तिनले भनिन्, “प्रभुले मेरो निम्ति यो गर्नुभएको छ। यी दिनहरूमा उहाँले मलाई कृपा देखाउनुभएको छ, र मानिसहरूका बीचमा मेरो कलङ्क हटाइदिनुभएको छ।”
लूका 1:18-25 पवित्र बाइबल (NERV)
जकरियाले स्वर्गदूतलाई भने, “यो कुरा साँच्चो हो भनेर म कसरी निश्चित हुनु? म एउटा बूढो मानिस हुँ, अनि मेरी पत्नी पनि बुढी नै छिन्?” ती स्वर्गदूतले जवाफ दिए, “म गाब्रिएल हुँ। म परमेश्वरको अघि खड़ा रहन्छु। परमेश्वरले नै मलाई तिमीसित कुरागर्न र यिनै खुशीको सुसमाचार दिन पठाउनु भएको हो। अब सुन। यी कुराहरू पूरा नहुन्जेल सम्म तिमी लाटो हुनेछौ र बोल्न सक्नेछैनौ। किनभने मैले भनेको कुराहरू जो आफ्नो समयमा सत्य हुनेछ तिमीले विश्वास गरेका छैनौ।” बाहिरपट्टि, मानिसहरूले जकरियालाई पर्खिरहेका थिए। मन्दिरमा यति लामो समय सम्म बसेको देखेर तिनीहरू छक्क परिरहेका थिए। त्यसपछि जकरिया बाहिर आए, तर उनी बोल्न नसक्ने भएका थिए। उनी ती मानिसहरूका अघि देखा मात्र पर्न सक्थे। तब तिनीहरूले उनले मन्दिरभित्र केही दर्शन पाएको चाल पाए। उनले तिनीहरूसित इशारा मात्र गरिरहे अनि लाटा झैं बसिरहे। जब जकरियाको सेवाको दिन पूरा भयो, तिनी आफ्नो घरतिर लागे। केही समय पछि जकरियाको पत्नी इलीशिबा गर्भवती भइन्। अनि पाँच महीनासम्म उनी घरदेखि बाहिर निस्किनन्। इलीशिबाले भनिन्, “हेर, मलाई परमप्रभुले के गर्नुभएको छ। उहाँले मेरो एउटा नानी जन्मियोस् भनी निर्णय लिनु भयो। परमप्रभुले ममाथि यति कृपा गर्नु भयो कि अब उसो मानिसहरूको सामुन्नेबाट मलाई लाज मुक्त पार्नु भयो।”
लूका 1:18-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जकरियाले स्वर्गदूतलाई भने, “यो कुरा पक्का हुन्छ भनेर मैले कसरी पत्याउने? म त बुढो भइसकेको छु र मेरी जहान पनि बुढी भइसकेकी छिन्।” स्वर्गदूतले जवाफ दिए, “म परमेश्वरसँग रहने गब्रिएल हुँ। उहाँले नै मलाई तिमीसँग कुरा गर्न र यो सुसमाचार सुनाउन पठाउनुभएको हो। मैले भनेको कुरा ठीक समयमा पूरा हुनेछ। तर हेर, तिमीले मैले भनेको कुरालाई विश्वास नगरेकोले यो कुरा पूरा नहुञ्जेल तिमी बोल्न सक्नेछैनौ।” बाहिर मानिसहरू पर्खिरहेका थिए र जकरियाले ढीलो गरेकोमा अचम्म मानिरहेका थिए। जकरिया बाहिर आउँदा त उनी मानिसहरूसँग बोल्नै सकेनन्। त्यसो हुँदा तिनीहरूले मन्दिरभित्र उनले दर्शन पाए भन्ने कुरा थाहा पाए। उनले बोल्नै नसकेर बाहिर पर्खेर बसेका मानिसहरूलाई हातले इशारा गरे। जकरियाको पूजा गर्ने पालो सकिएपछि उनी घर गए। केही दिनपछि नै उनकी जहानको कोखमा गर्भ रह्यो। त्यसपछि उनकी जहान पाँच महिनासम्म कतै निस्किनन्। तिनले भनिन्, “यो काम प्रभु परमेश्वरले नै मेरो लागि गर्नुभएको हो। उहाँले ममाथि दया गरेर मलाई मानिसको निन्दाबाट जोगाउनुभयो!”