YouVersion लोगो
खोज आइकन

यहोशू 17

17
1त्यसपछि योसेफको पहिलो सन्तान मनश्शेको कुललाई छुट्ट्याइएको भाग यही थियो। माकीरचाहिँ गिलादीहरूका पुर्खा थिए; जसले गिलाद र बाशान पाएका थिए। किनकि माकीरहरू महान् योद्धाहरू थिए। 2यसकारण यो भागचाहिँ मनश्शेका बाँकी रहेका मानिसहरू—अबीएजेर, हेलेक, अस्रीएल, शेकेम, हेपेर र शमीदाका वंशहरूका लागि थियो। तिनीहरू आफ्ना वंशअनुसार योसेफका छोरा मनश्शेका कुलका मुखियाहरू हुन्।
3मनश्शेका छोरा माकीर, तिनका छोरा गिलाद, तिनका छोरा हेपेर, तिनका छोरा सलोफादका कुनै छोराहरू थिएनन्; तर छोरीहरू मात्र थिए। तिनीहरू महला, नोआ, होग्ला, मिल्का र तिर्सा नाम भएका थिए। 4तिनीहरू पुजारी एलाजार, नूनका छोरा यहोशू र अगुवाहरूकहाँ गएर भने, “हामीलाई हाम्रा दाजुभाइहरूसँग नै अधिकार दिनू भनेर याहवेहले मोशालाई आज्ञा दिनुभएको थियो।” यसकारण यहोशूले तिनीहरूलाई याहवेहको आज्ञाअनुसार तिनीहरूका बुबाका दाजुभाइहरूसँग उत्तराधिकारको भाग दिए। 5मनश्शेको भागमा यर्दनको पूर्वपट्टिको गिलाद र बाशानको छेउमा भएका ठाउँका दश वटा भागहरू पर्‍यो। 6किनकि मनश्शेको कुलका छोरीहरूले छोराहरूसँगै उत्तराधिकार पाएका थिए। गिलादचाहिँ मनश्शेका बाँकी रहेका सन्तानहरूका निम्ति दिइयो।
7मनश्शेको प्रान्त आशेरदेखि शेकेमको पूर्वपट्टि मिक्मतातसम्म फैलिएको थियो। त्यहाँदेखि सिमाना दक्षिणतिर बढेर एन-तप्पूहमा बस्‍ने बासिन्दाहरूसम्म पुगेको थियो। 8(मनश्शेसँग तप्पूहको जमिन थियो। तर मनश्शेको सिमानामा भएको तप्पूहचाहिँ एफ्राएमीहरूको थियो।) 9त्यसपछि त्यो सिमाना दक्षिणतिर अगि बढेर कनाको खोल्सासम्म पुगेको थियो। त्यहाँ मनश्शेका सहरहरूमा बस्‍ने एफ्राएमीहरूका सहरहरू थिए। तर मनश्शेको सिमाना खोल्साको उत्तरपट्टि थियो, र महासागरमा टुङ्गिएको थियो। 10दक्षिणपट्टिको भाग एफ्राइमको थियो र उत्तरमा मनश्शेको थियो। मनश्शेको प्रान्त महासागरमा पुगेको थियो। अनि उत्तरतिर आशेरको र पूर्वपट्टि इस्साखारको सिमाना थियो। 11इस्साखार र आशेरभित्र बेथ-शान, यिबलाम र डोर, एन्दोर, तानाक र मगिद्दोका मानिसहरू साथै चारैतिरका बस्तीहरू पनि मनश्शेका थिए (त्यस सूचीमा तेस्रोचाहिँ नापोत हो)।
12तैपनि मनश्शेका सन्तानहरूले यी सहरहरू अधिकार गर्न सकेनन्; किनकि कनानीहरूले त्यस इलाकामा बस्‍ने निश्‍चय गरेका थिए। 13तर पनि जब इस्राएलीहरू बलिया भए, तब तिनीहरूले कनानीहरूलाई जबरजस्ती मजदुरीमा खटाए। तर तिनीहरूलाई पूर्ण रूपले धपाएनन्।
14योसेफका मानिसहरूले यहोशूलाई भने, “किन तपाईंले हामीलाई उत्तराधिकारको एउटै बाँडफाँडमा एक भाग मात्र दिनुभयो? जबकि हामी संख्यामा धेरै छौँ। अनि याहवेहले हामीलाई प्रशस्त मात्रामा आशिष् दिनुभएको छ।”
15यहोशूले जवाफ दिए, “यदि तिमीहरू संख्यामा धेरै छौ, र एफ्राइमको पहाडी मुलुक तिमीहरूका लागि अति सानो भएको छ भने परिज्जी र रपाईहरूको देशमा गएर आफ्ना लागि जङ्गल फँडानी गर।”
16योसेफका मानिसहरूले जवाफ दिए, “त्यो पहाडी मुलुक हाम्रा निम्ति पर्याप्‍त छैन। अनि मैदानमा बस्‍ने कनानीहरूसँग, बेथ-शान र त्यसमा बस्‍नेहरू अनि यिजरेलको बेँसीमा बस्‍ने सबैसँग फलामका रथहरू छन्।”
17तर यहोशूले योसेफको कुल—एफ्राइम र मनश्शेलाई भने, “तिमीहरू संख्यामा धेरै छौ; र अति शक्तिशाली पनि छौ। त्यसैले तिमीहरूको एउटा मात्र भाग हुनेछैन। 18यहाँ जङ्गल भएको पहाडी मुलुक पनि छ। त्यसलाई फँडानी गर। अनि त्यसको पल्‍लो छेउसम्म नै त्यो तिमीहरूको हुनेछ। कनानीहरूसँग फलामका रथहरू भए तापनि र तिनीहरू बलिया भए तापनि तिमीहरूले तिनीहरूलाई धपाउन सक्नेछौ।”

अहिले सेलेक्ट गरिएको:

यहोशू 17: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्