इयोब 3
3
इयोबको संवाद
1त्यसपछि इयोबले आफ्नो मुख खोले, र आफू जन्मेको दिनलाई धिक्कार्न थाले। 2तिनले भने:
3“म जन्मेको त्यस दिनलाई धिक्कार होस्!
र ‘एउटा छोराको गर्भधारण भयो’ भनेर भनिएको त्यस रात पनि मेटिओस्!
4त्यो दिन—अन्धकारमा परिणत होस्;
उच्चमा हुनुहुने परमेश्वरले त्यस दिनको वास्तै नगरून्;
न त त्यस दिनमाथि कुनै ज्योति चम्कियोस्।
5त्यस दिनलाई अँध्यारो र निस्पट्ट अन्धकारले एक पटक फेरि कब्जा गरोस्;
त्यस दिनमाथि बादल छाओस्;
र घोर अन्धकारले भयभीत पारोस्।
6त्यो रात—निस्पट्ट अँध्यारोले त्यसलाई छोपोस्;
त्यो दिन, त्यस वर्षका दिनहरूका गन्तीमा नआओस्;
न त त्यो दिन कुनै महिनामा आओस्।
7त्यो रात बाँझो होस्;
त्यस रातमा कुनै आनन्दको सोर नसुनियोस्।
8दिनलाई सराप्नेहरूले, लिव्यातनलाई#3:8 यो कस्तो प्रकारको प्राणी हो भन्ने विषयमा विवाद छ। यो एक जलचर प्राणी हो भनी मानिन्छ, र प्राचीन साहित्यमा एक काल्पनिक सामुन्द्रिक अजिङ्गर हो। उठाउनेहरूले समेत
त्यस दिनलाई धिक्कारून्।
9त्यसका बिहानीका ताराहरू अँध्यारो होऊन्;
त्यसको ज्योति देख्ने पर्खाइ व्यर्थ होस्।
र मिरमिरेको पहिलो किरण देख्न नपाओस्;
10किनभने त्यस रातले मेरी आमाको गर्भका ढोकाहरू मेरा निम्ति बन्द गरेन,
न त त्यसले मेरा आँखाहरूबाट दुःख नै लुकायो।
11“किन म जन्मँदै मरिनँ,
अनि किन म गर्भदेखि निस्कँदा-किस्किँदै मरिनँ?
12किन म जन्मँदा मलाई स्वागत गर्ने घुँडाहरू,
र मलाई दूधपान गराउने स्तनहरू थिए?
13नत्रता म अहिले शान्तिमा ढल्किरहेको हुनेथिएँ;
म सुतेको अवस्थामा विश्राम पाउँथेँ।
14पृथ्वीका राजाहरू र राजाका सल्लाहकारहरूसँग,
जसले आफ्ना निम्ति महान् भवनहरू निर्माण गरे, जो अहिले भत्किएका अवस्थामा छन्;
15सुन भएका भारदारहरूसँग,
जसले आफ्ना घरहरू चाँदीले भरेका छन्।
16अर्थात् नजन्मँदै मरेको बालकजस्तै म किन गाडिनँ,
अथवा ज्योति देख्न नपाउँदै तुहिएका ती शिशुहरूजस्तै किन भइनँ?
17दुष्ट मानिसहरू पनि चिहानमा दुष्ट्याइँ गर्न छोड्छन्;
र त्यहाँ थकितहरूले विश्राम पाउँछन्।
18त्यहाँ कैदीहरू पनि तिनीहरूको सुखमा रमाउँछन्;
न त दासहरूले फेरि हाकिमहरूका सोर सुन्छन्।
19साना र ठूला मानिसहरू त्यहाँ हुन्छन्;
अनि दासहरू पनि आफ्ना मालिकहरूबाट त्यहाँ मुक्त हुन्छन्।
20“किन कष्टमा भएकाहरूलाई ज्योति,
र हृदयमा विरक्त भएकाहरूलाई जीवन दिइन्छ?
21जसले मृत्यु चाहन्छन्, तिनीहरूले पाउँदैनन्;
अनि जसले मृत्युलाई गाडधनभन्दा बढी खोजी गर्छन्,
22जो आनन्दले भरिएका छन्;
अनि तिनीहरू चिहानमा पुग्दा खूबै रमाउँछन्।
23मानिसलाई जीवन किन दिइन्छ?
जसको मार्ग लुकिएको छ,
जसलाई परमेश्वरले दुःखको घेरा भित्र राख्नुभएको छ।
24किनकि मेरा निम्ति प्रत्येक दिनको भोजन सुस्केरा भएको छ;
मेरा चीत्कारहरू पानीजस्तै बग्दछन्।
25म जेसँग डराउँथे, त्यही कुरा ममाथि आइपरेको छ;
अनि जुन कुरादेखि म भयभीत हुन्थेँ, त्यही नै भएको छ।
26न मलाई शान्ति छ, न त सुख नै छ;
मेरा निम्ति आराम छैन, तर दुःख-कष्ट मात्र छ।”
अहिले सेलेक्ट गरिएको:
इयोब 3: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.